विराटनगर । यतिबेला सुन्तलाको सिजन सुरु भएसँगै विराटनगरका बजार क्षेत्रहरूमा मौसमी फलफूलको किनबेच बढेको छ । सडकछेउ, चोक तथा बजार क्षेत्रहरूमा व्यवसायी र सर्वसाधारणहरू सुन्तला किन्ने–बेच्ने चटारोमा व्यस्त देखिन्छन् ।
टोकरी, डालो, साइकल तथा क्यारेटमा राखिएका सुन्तलाले बजारलाई रौनक दिएको छ । चिसो मौसमसँगै स्वास्थ्यका लागि लाभदायी मानिने सुन्तलाको माग बढेपछि यसको व्यापारसमेत फस्टाएको व्यवसायीहरू बताउँछन् ।व्यवसायीका अनुसार विराटनगरमा बिक्री हुने अधिकांश सुन्तला पहाडी जिल्ला तेह्रथुम, भोजपुर, धनकुटा, ओखलढुंगा, संखुवासभा लगायतका क्षेत्रबाट ल्याइने गरिएको छ । स्थानीय बजारमा मौसमी फलफूलको उपलब्धता बढ्दा उपभोक्ताहरूलाई ताजा फलफूल सहज रूपमा पाउन थालेका छन् ।
सुन्तलाको व्यापारले यस सिजनमा व्यवसायीहरूलाई आम्दानीको राम्रो अवसरसमेत प्रदान गरेको छ ।


