यहाँ प्रकृतिले मानिसलाई जित्न खोजेको छैन, न मानिसले प्रकृतिलाई जितेको छ। दुवैबीच निरन्तर संघर्ष र सहअस्तित्व चलिरहेको छ। यही कारण कर्णाली रहस्यमय लाग्छ। डर लाग्दो पनि, आकर्षक पनि। यही रहस्य, यही जोखिम र यही रोमाञ्चले कर्णालीतिरको यात्रा साधारण भ्रमणभन्दा धेरै माथि प्रतीत हुन्छ। रारा पुग्नुभन्दा पहिल्यै, कर्णालीले यात्रुलाई आफूसँग बाँधिसकेको हुन्छ।
सिंजाको सन्तुलन
जुम्ला प्रवेश गर्दा सिंजा उपत्यकाले यात्रुलाई एकाएक फरक संसारमा पुर्याइदिन्छ। कर्णालीको कठोर पहाडी बाटोपछि यहाँको भूगोल खुला, मिलेको र शान्त देखिन्छ। टाढासम्म फैलिएको उपत्यका, हरिया खेतका गराहरू र बीच–बीचमा टल्किने साना खोल्साहरूले सिंजालाई सौम्य बनाएका छन्। आकाश फराकिलो छ।
सिंजा केवल सुन्दर उपत्यका होइन, नेपाली खस भाषा र सभ्यताको जन्मथलो पनि हो। इतिहासका पुस्तकमा पढेको ठाउँ आँखाअगाडि देखिँदा यात्रुमा अनौठो सम्मान जाग्छ। यही माटोबाट भाषा पलायो। यही भूगोलमा संस्कार गढिए। यहाँ उभिँदा लाग्छ– सभ्यता कुनै राजधानीमा होइन, यस्तै शान्त भूभागमा विस्तारै विकसित भएको रहेछ। सिंजाले त्यो इतिहास नारा लगाएर होइन, मौनतामा बोकेर राखेको छ।
यहाँको मानव बस्ती र प्रकृतिबीचको सम्बन्ध निकै सन्तुलित छ। मानिसले पहाड काटेर अट्टालिका बनाएको छैन। खेतका गराहरू प्रकृतिको ढल्काइसँगै मिलाएर बनाइएका छन्। ढुंगा र माटाका घरहरू पहाडकै रङसँग घुलमिल भएका छन्। यस्तो लाग्छ– सिंजामा मानिस प्रकृतिको पाहुना होइन, अंग हो। यही कारण यहाँको दृश्य बनावटी होइन, स्वाभाविक लाग्छ।
सिंजाको सुन्दरता चर्को छैन। यहाँ पर्यटक तान्ने चिल्ला संरचना छैनन्। तर दृश्यहरूमा एक किसिमको शालीनता छ। बिहान घाम लाग्दा खेतका गराहरू सुनौला देखिन्छन्। साँझतिर पहाडको छाया उपत्यकामा विस्तारै झर्छ। त्यो परिवर्तन हेर्दा समय कति शान्तसँग बगिरहेको छ भन्ने आभास हुन्छ। सहरमा हराएको धैर्य यहाँ फेरि भेटिन्छ।
सिंजा पार गर्दा लाग्छ– विकासको मापन केवल सडक र भवनले हुँदैन। भाषा, इतिहास र मानिसको जीवनशैली जोगिनु पनि विकासकै अंग हो। सिंजाले यही पाठ बिनाआवाज सिकाउँछ। रारातिरको यात्रामा सिंजा एउटा विश्राम विन्दुमात्रै होइन, बौद्धिक र सांस्कृतिक थलो पनि हो। यहाँ नथामिएर अगाडि बढ्दा यात्रा अधुरो लाग्न सक्छ।
रारामुनि चम्किएका तारा
राराको वास्तविक उपस्थितिको अनुभूति ताल देख्नुभन्दा अगाडि नै सुरु हुन्छ। साँझ पर्न लाग्दा सल्लेरी पुगिन्छ, छायाँनाथ नगरपालिका– ८। ताल आँखाले देखिँदैन, तर हावामा उसको संकेत फैलिएको हुन्छ। चिसोपन अलि बढी महसुस हुन्छ। आकाश असाध्यै नजिक देखिन्छ। तारा क्रमैसँग बल्न थाल्छन्। त्यो राराको काखमा बिताउने पहिलो रात हो भन्ने अनुभूतिले निद्रा पनि हलुका बनाइदिन्छ।
रातको सल्लेरी असाध्यै शान्त छ। सहरमा सुन्ने खालको कुनै आवाज छैन। मोटर गुड्ने घाइँघुइँ छैन। मानिसको चहलपहल छैन। सुनिने भनेको कहिलेकाहीँ हावाले सल्लाका पात चलाउँदा आउने सुस्केरामात्रै न हो। यस्तो मौनतामा बसेर आकाश हेर्दा तारा गन्न सकिन्छ भन्ने भ्रम हुन्छ। रारा नदेखिए पनि, उसको उपस्थिति चारैतिर फैलिएको अनुभूति हुन्छ। मानौं, तालले सास फेरेको आवाजसम्म सुनिन लागेको हो।
बिहान सबेरै उठ्दा चिसोले शरीर झस्किन्छ। भुइँमा तुसारो जमेको छ। पाइला चाल्दा खुट्टामुनि कुरकुर आवाज आउँछ। आज रारासँग प्रत्यक्ष भेट हुने दिन हो भन्ने उत्सुकता मनभरि छ। गाडी यहाँभन्दा अगाडि जान पाउँदैन। बाँकी बाटो पैदल। हामी बिस्तारै हिँड्न थाल्छौं। हरेक पाइला रारातिर नजिकिँदै गएको अनुभूति दिलाउँछ।
पैदल यात्राको बीचमा कुहिरो बाक्लो छ। वरिपरि रूखहरू धमिला देखिन्छन्। ताल अझै लुकेको छ। तर बीच–बीचमा चिसो हावाले पानीको गन्ध बोकेर ल्याउँछ। त्यो गन्धले नै रारा नजिक भएको संकेत दिन्छ। एकछिनपछि अचानक दृश्य खुल्छ। कुहिरोको चादरभित्र नीलो आभास देखिन्छ। त्यो क्षण शब्द आफैं थामिन्छन्। रारा पहिलोपटक आँखामा पर्दा, अपेक्षाभन्दा धेरै गहिरो अनुभूति दिन्छ।
राराको किनारमा उभिँदा बुझिन्छ– किन यो ताललाई हेरेर मानिसहरू मौन हुन्छन्। कुहिरोले छोपिएको ताल, पानीमाथि उठिरहेको बाफ र वरिपरि उभिएको वन– सबै मिलेर एउटा अलौकिक सौन्दर्य बनाइदिन्छन्। यहाँ त चुपचाप उभिएर ताल हेर्न मन लाग्छ। यही मौनताबाट रारासँगको पहिलो साक्षात्कार सुरु हुन्छ।
नीलो यात्रा
राराको किनारमा पुगेपछि तालसँगको सम्बन्ध अझै गहिरो हुन्छ। किनारमै थुप्रिएका डुंगाहरू देखिन्छन्– केही इन्जिनले चल्ने, केही मान्छेको हातले खियाइने। एउटाले गति दिन्छ, अर्काले धैर्य सिकाउँछ। हामी सैनिकको इन्जिनवाला डुंगामा चढ्यौं। इन्जिन विस्तारै चल्यो। पानी चिरिँदै डुंगा अघि बढ्दा तालको नीलोपन अझै फराकिलो भएर खुल्न थाल्यो।
डुंगा तालको बीचतिर पुग्दै जाँदा किनार क्रमैसँग टाढिँदै जान्छ। वरिपरि आवाज हराउँछ। इन्जिनको कराई पनि एकछिनपछि पृष्ठभूमिमा हराएजस्तो लाग्छ। देखिने भनेको नीलो पानी, माथि खुला आकाश र टाढा उभिएका डाँडामात्रै। तालको सतह ऐनाजस्तै चिल्लो छ। छालहरू साना छन्, तर लयबद्ध। पानीले डुंगालाई थामेर अघि बढाइरहेको अनुभूति हुन्छ।
पारि उत्रिएपछि छायानाथ मन्दिरतिर लागिन्छ। सानो मन्दिर, तर गहिरो आस्था बोकेको। यहाँबाट रारालाई फर्केर हेर्दा तालको वास्तविक भव्यता खुल्छ। वरिपरि घना जंगल, माथि हिमालको घेरो र बीचमा फैलिएको अथाह पानी। रारा कुनै पोखरीजस्तो होइन, सागरको अनुभूति दिन्छ।
छायाँनाथ वरिपरि उभिँदा वातावरण फेरि मौन बन्छ। यहाँ हतार गर्ने कोही आउने सुस्केरा मात्र सुनिन्छ। यस्तो लाग्छ, रारा आफैंले आफ्नो सौन्दर्य जोगाउन मौनतालाई पहरा दिएको छ। यो मौनता भंग गर्न मन लाग्दैन।
दिउँसोतिर घाम लागेपछि राराको रङ फेरिन्छ। बिहानको कुहिरो हटेपछि पानी झन् नीलो देखिन्छ। कहिले हरियो मिसिएको नीलो, कहिले गाढा निलो। बादल आएपछि फेरि अर्कै छायाँ। ताल स्थिर छ, तर रङ परिवर्तनशील। यही परिवर्तनशील नीलोपनले रारालाई जीवित बनाइदिन्छ। रारा हेर्दा लाग्छ– यो पानीमात्रै होइन, समय बगिरहेको हो।
हृदयको रारा
रारा केवल सुन्दरता होइन, सम्भावनाको ढोका पनि हो। यहाँ पर्यटनले देशको आम्दानी बढाउन सक्छ। स्थानीय समुदायको जीवनस्तर उकास्न सक्छ। र राष्ट्रिय पहिचानलाई बलियो बनाउन सक्छ। तर सम्भावना देख्दा उत्साहित भएर हतार गर्नु हुँदैन। राराको संवेदनशीलता, यसको पारिस्थितिकी र स्थानीय जीवनशैलीको संरक्षणसँग जोडिएको छ। यही सन्तुलन बिग्रियो भने रारा केवल एक तालमात्रै हुने थियो, अमूल्य धरोहरको रूपमा होइन।
राराको संरक्षण त्यति सजिलो छैन। यहाँ पर्यटक भर्ना भए, सडक विस्तार भयो भने जंगल, वन्यजन्तु र पानीको शुद्धता सबै प्रभावित हुन्छ। तालको जलस्तर र वरिपरिको जैविक विविधता सन्तुलित रहनुपर्छ। यही कारण पर्यटन र विकासबीच विवेकपूर्ण योजना आवश्यक छ। रारा हेर्न जाने प्रत्येक कदम, प्रत्येक गतिविधि सोच–विचारसहित हुनु आवश्यक देख्यौं हामीले।
- रारा पुगेपछि पो थाहा भयो– केही ठाउँ वर्णन गर्न लेख्नु पर्दैन। त्यहाँ उभिनु मात्र पर्छ। आँखाले देखेको मनले धान्न सक्दैन। मनले महसुस गरेको भाषाले समेट्दैन। शब्दहरू त्यहाँ पुगेर विस्तारै कमजोर बन्छन्। सायद यही कारणले होला– रारा सधैं कथामा होइन, मौनतामा बाँचेको छ।
- राराको किनारमा पुगेपछि तालसँगको सम्बन्ध अझै गहिरो हुन्छ। किनारमै थुप्रिएका डुंगाहरू देखिन्छन्– केही इन्जिनले चल्ने, केही मान्छेको हातले खियाइने। एउटाले गति दिन्छ, अर्काले धैर्य सिकाउँछ।
- प्रकृतिले मानिसलाई जित्न खोजेको छैन, न मानिसले प्रकृतिलाई जितेको छ। दुवैबीच निरन्तर संघर्ष र सहअस्तित्व चलिरहेको छ। यही कारण कर्णाली रहस्यमय लाग्छ।
- रारा हेर्नुमात्र होइन, महसुस गर्नु हो। यसको पानीमा आफैं प्रतिविम्बित हुने अनुभव, वरिपरिको जंगल र डाँडाको मौन संवाद र स्थानीय जीवनशैलीसँगको साक्षात्कार– यी सबैले बुझाउँछन् कि रारा केवल प्राकृतिक सौन्दर्य होइन, राष्ट्रिय सम्पत्ति हो, संरक्षण र विवेकसहितको आदर्शस्थल हो।
स्थानीय समुदायसँगको सहकार्य आवश्यक छ। उनीहरूले रारा र कर्णालीसँग प्रत्यक्ष सम्बन्ध राख्छन्, उनको अनुभव, परम्परा र ज्ञान संरक्षणमा अत्यन्त उपयोगी हुन्छ। स्थानीय संसाधनको सही उपयोग, कृषि र पर्यटनलाई मिलाएर व्यवस्थापन गर्दा राराको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान दुवै बचाउन सकिन्छ। यही सततता र विवेक नै राराको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्छ।
रारा र कर्णाली केवल पर्यटनको आकर्षण होइनन्, शिक्षा र अनुसन्धानका लागि पनि अमूल्य स्रोत हुन्। पानीको स्तर, जलवायुको परिवर्तन, जैविक विविधता, वातावरणीय अध्ययन– यी सबै यहाँ प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। भविष्यका योजनाहरूले यी पक्षलाई ध्यानमा राख्नुपर्छ, न कि केवल फाइदा कमाउने दृष्टिकोणमा सीमित रहनुपर्छ। यही गम्भीरता र विवेकले रारालाई नै दीर्घकालीन बनाउँछ।
अन्तत : , रारा हेर्नुमात्र होइन, महसुस गर्नु हो। यसको पानीमा आफैं प्रतिविम्बित हुने अनुभव, वरिपरिको जंगल र डाँडाको मौन संवाद र स्थानीय जीवनशैलीसँगको साक्षात्कार– यी सबैले बुझाउँछन् कि रारा केवल प्राकृतिक सौन्दर्य होइन, राष्ट्रिय सम्पत्ति हो, संरक्षण र विवेकसहितको आदर्शस्थल हो। यही अनुभूति लिएर फर्कंदा मानिसको मन र भावना दुवै भरिन्छन्, रारामात्र होइन, उसले भेटेको संसार पनि धनी हुन्छ।
मनको थलो
रारा केवल हेरेर रमाउने स्थल होइन, अनुभव गरेर मनमा बोकेर जाने ठाउँ हो। यहाँको नीलो पानी, वरिपरिका वन र हिमालको घेरो, कुहिरो र बाफले बनाएको सौन्दर्य, सबै आँखाभित्र सीमित रहँदैनन्। ती दृश्य, ती अनुभूति, ती मौनता यात्रुको मनमा बस्छन्। हृदयमा अंकित हुन्छन्। फर्किंदा मात्र बुझिन्छ– रारा देख्नुभन्दा बढी, महसुस गर्नुपर्छ।
यहाँको पानी नीलोमात्र होइन, समयको तरंग बोकेको छ। छायाँनाथको मन्दिर, वरिपरि उभिएका देवदार र सल्लाका जंगल, तालको सतहमा झल्झली प्रतिविम्ब– यी सबै मिलेर एउटा जीवन्त अनुभूति दिन्छन्। रारा हेर्दा लाग्छ, यो केवल ताल होइन, प्रकृतिले बनाएको अनुभूति– थाल हो।
स्थानीय जनजीवन, परम्परा र संस्कृति पनि रारासँग जोडिएको छ। रारा र स्थानीय जीवनको यो समन्वयले यात्रुलाई केवल दृश्य होइन, अनुभव, स्वाद र स्मृति दिन्छन्। यही कारण, राराबाट फर्कंदा सम्झनामात्र होइन, केही त बोकेरै जानु पर्छ।
रारा प्राकृतिक सौन्दर्य, सांस्कृतिक अनुभव र आत्मिक शान्तिको मिश्रण हो। यही बोकेको अनुभव जीवनभरि साथ रहन्छ, र यात्रा केवल गन्तव्यमा सीमित नहुने गरी, हृदयभित्र लामो यात्रा सुरु हुन्छ।
माटाको स्वाद
फर्कने क्रममा तेस्रो दिन जुम्लाको नर्कुटामा बास भयो। यहाँको लोकल खानेकुरा, मार्सी चामल, सिमी, दाँते ओखर, सिलाजित–सिर्जनामात्र होइन, कर्णालीको माटो र इतिहास बोकेको अनुभव हुन्। स्वादले मात्र होइन, ती परिकारमा यहाँको जीवनशैली, मेहनत र सीमित स्रोतको सम्मान छ। खाना खाँदा लाग्छ, कर्णालीको माटोसँगै रारा र कर्णालीको आत्मा पनि चाखिँदैछ।
नर्कुटा घुम्दा देखिने भू–दृश्यले पनि यात्रुको मन पखाल्छ। हरिया खेतका गह्राहरू, पहाडले घेरिएका खोल्साहरू, घना वन र टाढा उभिएका डाँडाका दृश्य– सबै कसैले नापेर राखेका जस्ता मिलेका। प्रकृति र मान्छेको सन्तुलन यति प्राकृतिक छ कि यहाँको समय विस्तारै बगिरहेको अनुभूति हुन्छ।
सांस्कृतिक अनुभव पनि यात्रामा मिसिन्छ। गाउँघरका मानिस, उनीहरूको भाषा, व्यवहार र स–साना दैनिक क्रियाकलापले यात्रुलाई सम्झाइदिन्छ– यहाँको जीवन सरल, तर अर्थपूर्ण छ। जुम्लाको यो सानो ठाउँले देखाउँछ कि प्राकृतिक सौन्दर्य र मानव संस्कृति सँगसँगै रहन सक्छन्।
कर्णाली फेद अर्थात् सुर्खेत झरेपछि पृथक् अनुभूति हुन्छ। बुलबुले ताल हेर्न पुग्दा त्यहाँबाट निस्किरहेको पानी दस धारामा निरन्तर बगिरहेको देखियो। त्यत्तिकै खेर गइरहेको पानी, तर यसको प्रयोग गरेर सिँचाइ र पिउन प्रयोग गर्ने हो भने ? लाग्यो– कर्णाली केवल मनोरम छैन, उपयोगी पनि छ। तर यसमा योजना र विवेक आवश्यक छ।
सडक र बाटो केवल यात्राको माध्यम होइन, चुनौती र रोमाञ्चको अनुभव पनि हो। घुम्ती–पिच्छे बाटो, साँघुरो उकालो र ओरालो, कतै खोंच र कतै खुला दृश्य–यी सबैले यात्रुलाई सतर्क राख्छन् र एकैसाथ रोमाञ्च दिन्छन्। बाटो हिँड्दा वा गाडी चलाउँदा कर्णालीले केवल दूरी पार गराएको होइन, अनुभव र धैर्य पनि सिकाएको हुन्छ। त्यो धैर्य मेरा लागि पाठ बनेको छ।


