काठमाडौं — फिल्म निर्माता तथा सिनेमा चेनका सञ्चालक नकिम उद्दिनलाई उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

काठमाण्डौ क्षेत्र नं. ५ का अभियान प्रमुख बिकाश गुरुङका अनुसार सृजनशील उद्योग, निजी क्षेत्र र सिनेमा प्रदर्शनी क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उद्दिनको अनुभवलाई राष्ट्रिय नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उनको नाम सिफारिस गरिएको हो।
“फिल्म तथा सृजनशील उद्योग केवल मनोरञ्जनको क्षेत्र होइन, यो रोजगारी, पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो,” गुरुङले भने, “नकिम उद्दिनजस्ता अनुभवी व्यवसायिक व्यक्तित्वको सहभागिताले नीतिगत सुधार र परिणाममुखी राजनीतिमा सहयोग पुग्ने विश्वास पार्टीले लिएको छ।”
फिल्म निर्माण र सिनेमा प्रदर्शनी क्षेत्रमा उल्लेखनीय योगदान दिएका उद्दिन पछिल्लो समय सामाजिक, आर्थिक तथा नीतिगत विषयमा पनि सक्रिय रहँदै आएका छन्। उज्यालो नेपाल पार्टीले समानुपातिक सूचीमार्फत विभिन्न पेशागत क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने रणनीति अनुरूप उनको नाम अघि सारेको जनाएको छ।


