काठमाडौँ । सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध चयन भएको छ। संस्थाका सम्पूर्ण पदमा निर्धारित संख्यामा मात्र उम्मेदवार दर्ता भएकाले प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेले पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरू निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा किशोर तिवारी निर्विरोध चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा मेघराज शाही र रमेश पाठक चयन हुनुभएको छ भने महासचिवमा दामोदर फुयाल निर्वाचित हुनुभएको छ। सचिव पदमा मनिष कुमार बर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा र सह–कोषाध्यक्षमा हिरानाथ महर्जन चयन भएका छन्।
केन्द्रीय समितिका सदस्यहरूमा सुजन लामिछाने, प्रमिला पुरी भारती, सुमन थापा, कृष्णहरि सापकोटा, प्रेमप्रसाद शर्मा पौडेल, राधिका शाही, गंगाराम बस्नेत, सुवास थापा, विष्णु अधिकारी र राजकुमार महर्जन निर्विरोध निर्वाचित भएका छन्। नयाँ समितिले संस्थाको संगठनात्मक मजबुतीमा जोड दिने अपेक्षा गरिएको छ।
साधारण सभामा शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन एक्यानले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।
नवनिर्वाचित नेतृत्वले शैक्षिक परामर्श व्यवसायलाई व्यावसायिक मापदण्डअनुसार अघि बढाउँदै सदस्यहरूको हकहित संरक्षण, नीतिगत सुधार र संस्थागत विकासमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको छ। आगामी कार्यकालमा एक्यानले शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।


