काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको निम्तो अस्वीकार गरेका छन् । विशेष महाधिवेशनमा सहभागिताका लागि पत्र बोकेर पुगेका रामपल्टन साह र मोती भण्डारीलाई देउवाका स्वकीय सचिवले नै फर्काइदिएका छन् ।
पत्र पनि बुझ्न नमानेको साहले जानकारी दिए । भित्र बैठकमा रहेका देउवालाई भेट गरेर पत्र बुझाउने तयारी भए पनि आधा घण्टासम्म बस्दा पनि ननिस्किएपछि स्वकीय सचिव भानु देउवालाई दिएको पत्र फर्काइदिएको साहले बताए ।
“यस्तो पत्र बोकेर पार्टी सभापतिकहाँ आउन तपाईंलाई लाज लाग्दैन ?,” भानु देउवाको भनाइ उद्धृत गर्दै साहले भने । तर टोलीले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डाक्टर नारायण खड्का सहितलाई पत्र बुझाएको जानकारी दिएको छ ।


