काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतामा जाँदा पार्टी सभापति र प्रधानमन्त्री मध्ये कुनै पनि पद नमागेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । रास्वपासँगको एकता प्रक्रिया भाँडिएपछि अध्यक्ष घिसिङले आफूहरूलाई १२ दिनसम्म अल्झाएर धोका भएको भन्दै पीडा व्यक्त गरेका छन् ।
उनले रास्वपाले आफ्ना कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको र अन्ततः एकता भंग गरेको बताए । त्यस्तै, बाहिर आफूले प्रधानमन्त्री र पार्टी सभापति मागियो भनेर आएको कुरामा सत्यता नभएको उनले बताए । उनले आफूले पार्टीका केही सदस्यहरूलाई सहभागी गराउन भनेको बताए ।
साथै, रास्वपामा आफूले पार्टीको साधारण सदस्य मात्रै बन्छु भनेर भनेको पनि उनले बताए । उनले आफूले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको र आजै बसेको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा चयन भएको बताए । आगामी दिनमा उज्यालो नेपाल पार्टीलाई देशव्यापी रुपमा प्रभावकारी रुपमा अगाडि बढाउने उनले बताए । साथै, उनले उनेपा–रास्वपासँग भएको सहमति भंग भएको घोषणा गर्दै अब पार्टी चिम चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने जानकारी गराए ।


