रौतहट । बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ ।
घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतक रामेश्वरकी श्रीमती २५ वर्षीया मनिता देवी मण्डललाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएपछि मनितालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार आज बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिहरू घरभित्र प्रवेश गरी सुतिरहेको परिवारमाथि धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणमा आमा सुमित्रा र छोरा रामेश्वरको घटनास्थलमै मृत्यु भएको हो ।
आक्रमणमा ५२ वर्षीय जगरुप मण्डल (बुवा) र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् । घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हत्या कसले र के उद्देश्यले गरेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


