आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाका सदस्यको निर्वाचन हुँदैछ । नेपालको वर्तमान संविधानको धारा, २४५ र २४६ मा निर्वाचन आयोगको गठन र काम कर्तव्यबारे उल्लेख छ । यो संवैधानिक आयोग हो । यो सरकार मातहतको निकाय नभएर अधिकार सम्पन्न स्वतन्त्र निकाय हो । यसले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्सनीय निर्वाचन गराउँछ ।

यसर्थ, १८ वर्ष उमेर पुगेका आम मतदाताले निर्वाचन आयोगले सम्पन्न गराउने निर्वाचनमा सहभागी भई नागरिकको कर्तव्यपालना गर्नुपर्छ । निर्वाचन आयोगको मुख्यालय काठमाडौँमा छ । सातै प्रदेश र ७७ वटै जिल्लामा यसका कार्यालयहरु छन् । यसर्थ, आफूलाई द्विविधा भएको विषयमा ती कार्यालयमा सम्पर्क राख्न सकिन्छ ।
आयोगले सञ्चालन गरेको ‘कल सेन्टर’ र आयोगको ‘वेबसाइट’बाट पनि भरपुर सूचना हासिल गर्न सकिन्छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाका २७५ जना सदस्य छनोटका लागि निर्वाचन हुँदैछ । यसमा ७७ जिल्लाबाट १६५ जना प्रत्यक्ष रुपमा निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक निर्वाचनबाट निर्वाचित हुने कानुनी व्यवस्था छ । यसरी हामी मतदाताले एकै पटक प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मतपत्रमा आप्mनो मत हाल्नुपर्छ ।
प्रत्यक्षतर्फको मतदानबाट सर्वाधिक मत ल्याउने उम्मेदवार विजयी हुन्छन् तर समानुपातिकतर्फ राजनैतिक दलको चुनाव चिह्नमा मत खसाएपछि सो को राष्ट्रियस्तरमा मतगणना भई मत सङ्ख्याका आधारमा समानुपातिक तर्फका उम्मेदवार निर्वाचित हुन्छन् । यसरी हामी मतदाताले एउटा मतपत्रमा प्रत्यक्षतर्फ मतदान गरी आफूले मतदान गरेको उम्मेदवार विजयी भए वा पराजित भए भनी मत गणनापछि जानकारी पाउछौँ ।
समानुपातिक तर्फको मतदानबाट कुन उम्मेदवार विजयी भए वा कुन उम्मेदवार पराजित भए भनी मतदातालाई प्रत्यक्ष जानकारी हुँदैन । तर, निर्वाचनपछि निर्वाचन आयोगले कुन दलबाट को–को समानुपातिक उम्मेदवार विजयी भए भनी जानकारी गराउँछ । यसरी प्रत्यक्ष निर्वाचनबाट हामी मतदाताले व्यक्तिको छनोट गर्दछौँ भने समानुपातिक मतदानबाट राजनैतिक दलको छनोट गर्दछौँ भनी हेक्का राख्नुपर्छ ।
नेपालको नागरिकताको प्रमाणपत्र भएको व्यक्ति १८ वर्ष पूरा भएपछि निर्वाचन आयोगको प्रक्रियाअनुसार मतदाता नामावलीमा सूचीकृत हुनुपर्छ । यसपछि आप्mनो फोटोसहितको मतदाता परिचयपत्र बन्छ । आगामी फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न जाँदा सोही परिचयपत्र लिएर जानुपर्छ । सामान्यतः मतदान गर्न जाँदा नागरिकताको प्रमाणपत्र, लालपुर्जा, सवारीचालक अनुमतिपत्र, आफू कार्यरत कार्यालयको परिचयपत्र वा राहदानी लिएर जानु पर्दैन ।
निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र समयमै खोजेर ठिक्क पार्नुपर्छ । तर मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कारणवश मतदाता परिचयपत्र फेला नपरेमा माथिका पाँचवटामध्ये कुनै एउटा कागजातको सक्कलै लिएर जाँदा मतदान गर्न पाइने व्यवस्था छ । यस्ता कुराको जानकारीका लागि निर्वाचन आयोगले मतदाता जागरण कार्यक्रम सञ्चालन गर्छ । यसमा सहभागी भई निर्वाचनसम्बन्धी अधिक कुरा जान्नुपर्छ । यस्तो कार्यक्रममा सहभागी हुन नसके निर्वाचन आयोगको वेबसाइटबाट पनि आवश्यक सूचनाहरु सङ्कलन गर्न सकिन्छ ।
निर्वाचनको दिन सवारीसाधन चलाउन पाइन्न । सो दिन सार्वजनिक यातायात सञ्चालन हुँदैन । यसर्थ, आप्mनो मतदान केन्द्र कहाँ परेको छ भनी मतदान हुनु पहिल्यै जानकारीमा राख्नुपर्छ । मतदान गर्ने समय बिहान ८ बजे आरम्भ भई बेलुकी ५ बजे समाप्त हुन्छ । यसर्थ, समयमै मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नुपर्छ । त्यहाँ सर्वप्रथम आप्mनो नाम भिडाउनुपर्छ । महिला र पुरुषको लाइन भिन्दाभिन्दै हुन्छ । मतदानस्थलमा प्रवेश गर्ने द्वार र बाहिरिने ढोका फरक हुन्छ ।
मतदान केन्द्रको वरिपरि होहल्ला गर्न निषेध हुन्छ । यसर्थ, मतदान गरिसकेपछि निवासमै फर्किनुपर्छ । मतदान गर्नुपूर्व औँलामा मसी लगाएर मतपत्र प्राप्त हुन्छ । सो मतपत्रमा निर्वाचन आयोगले दिएको स्वस्तिक छाप लगाई मसी लतपत नहुने गरी पट्याएर बाकसमा खसाल्नुपर्छ । आफूले मतदान गरेको कसैले पनि देख्दैनन् । त्यहाँ सिसी क्यामरा जडान भएको हँुदैन तर मतपत्र भने सबैले देख्ने गरी बाकसमा खसाल्नुपर्छ । यी सबै कार्यको फोटो खिच्न निषेध हुन्छ । यसर्थ, मतदानस्थलमा मतदाता परिचयपत्रको अलावा अन्य अनावश्यक सामग्री साथमा लिएर जानु हुँदैन । मतदानस्थलमा जाँदा आफूलाई मन परेको उम्मेदवार वा राजनैतिक दलको प्रचार हुने लुगा लगाउन वा कुनै प्रकारको सङ्केत गर्न पाइन्न । यसरी हरेक मतदाताले सभ्य नागरिकको परिचय दिन पछि पर्नु हुँदैन ।
मतदान केन्द्रमा पूर्णत सुरक्षा प्रदान गरिएको हुन्छ । त्यहाँ स्वयम्सेवक खटिएका हुन्छन् । साथै, उम्मेदवारका प्रतिनिधि पनि हुन्छन् । निर्वाचनमा खटिएका कर्मचारीसमेत हुने हुँदा आवश्यक सहयोग लिन सकिन्छ । निर्वाचनमा कुन उम्मेदवार र राजनैतिक दल छान्ने भन्ने आप्mनो नैसर्गिक अधिकार हो । यसमा विवेक पु¥याएर मतदान गर्नुपर्छ । मतपत्रमा स्वस्तिक चिह्न प्रयोग गर्दा आप्mनो मत बदर नहुने गरी ध्यान पु¥याएर छाप हान्नुपर्छ । गोप्य मतदान केन्द्रमा हडबड नगरी समय लिनुपर्छ । यसमा कुनै समयसीमा तोकिएको छैन । मतदान गरेपछि वा गर्नुअघि आफन्त वा चिनजानका व्यक्तिसँग मतदानका विषयमा छलफल गर्न सकिन्छ । तर, मेरो मत यस उम्मेदवारमा जान्छ वा यस उम्मेदवारलाई मतदान गरेँ भनी सार्वजनिक रुपमा प्रकट गर्नु पर्दैन । यो भने पनि पुष्टि गर्ने आधार कसैसँग पनि हुँदैन । कारण स्वस्तिक चिह्न प्रयोग गरेको मतपत्र सार्वजनिक गर्न पाइन्न । मतपत्रमा स्वस्तिक चिह्न हानेपछि सोको फोटो खिच्न पनि पाइन्न । यी सबै कुरा आचारसंहिताभित्र पर्दछन् ।
यहाँनेर एउटा प्रश्न उठ्छ, मतदान किन गर्ने ? सबै मतदान गर्न जाँदैनन्, म पनि नगए के फरक पर्ला ? यो गम्भीर प्रश्न हो । आम मतदाताले संविधान र कानुन एवं असल नागरिकको कर्तव्य भुल्नु हुँदैन । वर्तमान नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता नेपाली जनताको काँधमा सुम्पिएको छ । यो भनेको आप्mनो शासन आफँैद्वारा आफैँलाई गर्ने हो । यस खातिर प्रतिनिधिसभालगायतको निर्वाचन हुन्छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाका सदस्यहरुको निर्वाचन हुँदैछ । सो प्रतिनिधि सभाबाट प्रधानमन्त्रीको नियुक्तिका लागि मतदान हुन्छ । यसरी मुलुकको शासन सञ्चालनको जिम्मेवारी लिने जनप्रतिनिधिको छनोटमा हामी सबै सहभागी हुनुपर्छ । यो हरेक बालिग नागरिकको कर्तव्य हो ।
निर्वाचनमा हुने फजुल खर्च हुने गरेको छ । यसमा सर्वसाधारण सजग हुनुपर्छ । राजनैतिक दल र उम्मेदवारको गतिविधिले घरभाडा वृद्धि हुन्छ । निर्वाचनको मुखमा अनावश्यक भ्रमण गर्दा यातायातको भाडा दर महङ्गो हुनसक्छ । यस बखत होटलका कोठा, रेष्टुरेन्ट र मोटर भाडा पनि महँगिन्छ । यसर्थ, आन्तरिक पर्यटनमा निस्किँदा यी कुराको पनि ख्याल गर्नुपर्छ । निर्वाचनको समयमा खाना, खाजा, माछा, मासु, खाद्य सामग्रीको खपत पनि बढ्छ । माग र आपूर्तिको सामञ्जस्यता नमिल्दा केही मूल्य वृद्धि हुन सक्छ । यसर्थ, यस्ता घरायसी खपतका सामानको पनि समयमै जोहो गर्नु बुद्धिमानी हुनेछ । यसबखत तुल, कपडा, ल्फ्रेक्स, पर्चा, पोष्टर, पम्प्लेट कागज, छपाइ, मुद्रण, विज्ञापन, होडिङबोर्डको खपत पनि बढी नै हुन्छ । यसर्थ, निर्वाचनकै मुखमा पर्ने गरी सङ्घसंस्थाले कार्यक्रम नगर्नु नै उचित हुन्छ । कैयौँ सरकारी कार्यक्रमहरु आचारसंहिताको कारण गर्न नपाइने पनि हुन्छ । विशेषगरी, निर्वाचनको समयमा मदिरा, चुरोट, स्थानीय रक्सी, जाँडलगायतका वस्तु पनि बढी नै खपत हुने गरेको छ । सामान्यतः यस्ता वस्तुको सेवन र उपयोग त्याग्नु नै उत्तम हुनेछ ।
अन्त्यमा, आगामी फागुन २१ गते प्रतिनिधिसभामा सदस्यहरुका लागि हुन गइरहेको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोग र सरकारले विशेष पहल गरिरहेको छ । यसमा सघाउनु आम नागरिकको कर्तव्य हो । यथार्थमा निर्वाचनको कार्य आयोग, उम्मेदवार र राजनैतिक दलको लागि मात्रै नभई आम मतदाताका लागि पनि हो । लोकतन्त्रको प्राण नै निर्वाचन हो । यसलाई संरक्षण गर्ने जिम्मेवारी आम मतदाताको भएकाले यस कार्यमा मन, वचन र कर्मले संलग्न रहन सार्वजनिक आह्वान गरिन्छ । (लेखक राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ)


