काठमाडौँ । आज चैत्र शुक्ल अष्टमी अर्थात चैते दसैँ । यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ ।

विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, र गुह्येश्वरी मन्दिरहरूमा पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको छ ।
चैते दशैँका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, वागलुङ कालिका र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि दर्शनार्थीको विशेष उपस्थिति रहेको छ ।
वर्षमा दुई पटक मनाइने दशैँमध्ये चैत्रमा मनाइने यो दशैँलाई ‘सानो दशैँ’ का रूपमा पनि लिइन्छ । असोजको बडादशैँ जस्तै यस दिन पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गरिन्छ । चैते दशैँको भोलिपल्ट अर्थात चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा भोलि राम मन्दिरहरूमा विशेष उत्सव हुने गर्दछ ।


