काठमाडौँ, चैत १७ गते । नेपालमा पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको बाथरोग नियन्त्रणले प्राथमिकता पाउन सकेको छैन । बाथरोगको पहिचान तथा उपचारमा प्राथमिकता दिन नसक्दा बिरामीहरू उपचारको पहुँचबाहिर रहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर कुल जनसङ्ख्याको करिब ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथरोग देखिन्छ । नेपालमा पनि बाथरोगको अवस्था जटिल बन्दै गएको छ । बाथरोग हाडजोर्नी तथा मांसपेशीसम्बन्धी रोग हो । नेपालमा गरिएका विभिन्न स्वास्थ्य सर्वेक्षण तथा अनुसन्धानका अनुसार करिब १० प्रतिशत जनसङ्ख्यामा बाथरोग रहेको अनुमान गरिएको छ । नेपालमा झन्डै ३० लाख मानिस कुनै न कुनै प्रकारको बाथरोगबाट प्रभावित रहेका छन् । तीमध्ये १५ देखि २० प्रतिशत बिरामीमा कम्मर, ढाड दुख्ने तथा घुँडाको समस्या देखिने गरेको छ । ग्रामीण क्षेत्रमा शारीरिक श्रम बढी गर्ने जनसङ्ख्यामा बाथरोगको समस्या झनै बढी छ ।
वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले नेपालमा बाथरोगको सही पहिचान अझै चुनौतीपूर्ण रहेको जानकारी दिँदै अधिकांश बिरामीले सुरुवाती लक्षणलाई सामान्य दुखाइ सम्झेर बेवास्ता गर्ने गरेको बताउनुभयो । बिरामीहरू स्वास्थ्य संस्थासम्म ढिलो पुग्ने कारण बाथरोग जटिल बन्दै गएको उहाँको भनाइ छ । डा. वैद्यले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदा बिरामीले समयमै उपचार पाउन नसक्ने बताउनुभयो । नेपालका सरकारी अस्पतालमा बाथरोगसम्बन्धी छुट्टै विशेषज्ञ पदको दरबन्दी नहुनु अर्को ठुलो समस्या हो । हाल अधिकांश सरकारी अस्पतालमा जनरल फिजिसियनकै भरमा बाथरोगको उपचार भइरहेको छ । डा. वैद्यले बाथरोग एक वा दुई प्रकारको मात्र नभई १०० भन्दा बढी प्रकारका हुने भन्दै नेपालमा विशेषज्ञ चिकित्सकको अभाव रहेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाथरोगका लागि छुट्टै एकाइ स्थापना गर्ने विषयमा पर्याप्त पहल हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य क्षेत्र ३४ वर्षअघिकै दरबन्दी अनुसार चलिरहेकाले बाथरोगसम्बन्धी छुट्टै दरबन्दी छुट्याउन नसकिएको बताउनुभयो । “जनसङ्ख्या बढ्यो, रोग बढे तर दरबन्दी पुरानै छ,” डा. बुढाथोकीले भन्नुभयो, “सरकारले दरबन्दीलाई पुनर्संरचना गरी हरेक रोगको विशेषज्ञ चिकित्सकको दरबन्दी थप गर्नु पर्छ ।”
बाथरोग विशेषज्ञ डा. सुधीर कर्माचार्यले आर्थिक रूपमा कमजोर बिरामीका लागि बाथरोगको उपचार झनै कठिन भएको बताउनुभयो । उहाँले बाथरोग दीर्घकालीन रोग भएकाले यसको उपचार लामो समयसम्म गर्नुपर्ने उल्लेख गर्दै नियमित औषधी, परीक्षण र चिकित्सकीय निगरानी आवश्यक पर्ने बताउनुभयो । दीर्घकालीन उपचारले गर्दा गरिब तथा विपन्न वर्गका बिरामीहरू उपचारबाट वञ्चित हुने अवस्था देखिएको बताउनुभयो ।
उहाँका अनुसार बाथरोगका प्रमुख लक्षणमा औँला दुख्ने र सुन्निने, बिहान उठ्दा हातखुट्टा कक्रक्क पर्ने, जोर्नी दुख्ने, खुट्टाका बुढी औँलामा रातोपन र दुखाइ देखिने, शरीरका विभिन्न भागमा सुन्निने जस्ता समस्या देखिन्छन् । कतिपय अवस्थामा बाथरोगले शरीरका अन्य अङ्ग जस्तै मुटु, फोक्सो र मिर्गौलामा समेत असर गर्न सक्छ । यसले बाथरोगलाई अझ गम्भीर बनाउँछ ।
नेपालमा बाथरोगसम्बन्धी अध्ययन तथा अनुसन्धानको अवस्था पनि सन्तोषजनक छैन । सीमित स्वास्थ्य संस्थाहरूले अनुसन्धान गरे पनि राष्ट्रियस्तरमा व्यापक तथ्याङ्क सङ्कलन र दीर्घकालीन अध्ययनको अभाव रहेको छ । यसले गर्दा नीति निर्माण र कार्यक्रम सञ्चालन तथ्यमा आधारित निर्णय लिन कठिन भएको छ ।
सरकारीस्तरमा बाथरोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्पष्ट नीति तथा कार्यक्रम अभाव देखिएको छ । सरकारले नसर्ने रोग नियन्त्रण कार्यक्रम अन्तर्गत केही प्रयास भए पनि बाथरोगलाई प्राथमिकता दिन सकेको छैन । प्रत्येक प्रदेश अस्पतालमा बाथरोग विशेषज्ञको व्यवस्था गर्ने तथा आवश्यक औषधीको उपलब्धता तथा जनचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
नेपालमा बाथरोग विशेषज्ञ चिकित्सकको सङ्ख्या अत्यन्तै न्यून छ । उपलब्ध तथ्याङ्क अनुसार देशभर जम्मा १५ जना बाथरोग विशेषज्ञ चिकित्सक छन् । जसले ठुलो जनसङ्ख्यालाई सेवा दिनुपर्ने अवस्था छ । यसले गर्दा बिरामीले लामो समय कुर्नुपर्ने, निजी अस्पतालतर्फ धाउनुपर्ने वा उपचार नै नपाउने अवस्था सिर्जना भएको छ । साभार गोप


