२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 7:44 am
Banner

दिदीबहिनी नहुने दाजुभाईले बालगोपालेश्वरमा टीका लगाउँदै

सूचना प्रेस २०८३ कार्तिक २५ बुधबार ००:००, ०७:१५ बजे १ मिनेट पढाइ

काठमाडौं । भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला हुनेछ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले बालगोपालेश्वरमा पूजा, दर्शन गरेर टीका लगाउने परम्परा छ । मन्दिर भाइटीकाको दिन भक्तजन आएसम्म खुला गर्ने गरिएको छ ।

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । उनका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि शोकमा परेकी रानीलाई सान्त्वना दिने उद्देश्यले पोखरी निर्माण गरिएको जनविश्वास छ।

जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेवमा मन्दिरमा पनि टीका लगाइने
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ।