२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 7:45 am
Banner

ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

सूचना प्रेस २०८३ कार्तिक २५ बुधबार ००:००, ०७:३२ बजे २ मिनेट पढाइ

अमेरिका । अमेरिकाको भर्जिनियामा नेपाली मूलका नरेश भट्ट आफ्नै पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा दोषी ठहर भएका छन्। लामो समयदेखि चर्चामा रहेको ममता बेपत्ता प्रकरणले दुई वर्षपछि अदालतको फैसलासँगै महत्वपूर्ण निर्णय लिएको छ।

मंगलबार भएको सुनुवाइमा जुरीले नरेशलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो। उनले पत्नीको हत्या नगरेको र ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए। तर अदालतमा प्रस्तुत प्रमाण र बयानका आधारमा जुरीले उनको दाबी अस्वीकार गरेको छ।

अदालतमा गत साता बयान दिने क्रममा नरेशले ममतालाई अचेत अवस्थामा फेला पारेको बताएका थिए। उनलाई बचाउने प्रयास सफल नभएपछि आफू आत्तिएको र शव टुक्राटुक्रा पारेर विभिन्न स्थानमा फालेको उनले स्वीकार गरेका थिए। तर ममताको मृत्युमा आफ्नो संलग्नता नरहेको दाबी भने उनले छाडेका थिएनन्। नरेशले शव व्यवस्थापन गरेको स्वीकार गरे पनि ममताको शव अहिलेसम्म फेला परेको छैन। यही घटनासँग सम्बन्धित शव लुकाएको र शवको अवहेलना गरेको थप दुई अभियोगमा समेत जुरीले उनलाई दोषी ठहर गरेको छ।

प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएपछि नरेशलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। शवसँग सम्बन्धित दुवै अभियोगमा छुट्टाछुट्टै पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ। फैसला सुनाइँदा नरेश अदालतमा भावशून्य देखिएका थिए। उनले केही समय आफ्ना कानुन व्यवसायीसँग कुराकानी गरेका थिए। अर्कोतर्फ, फैसला सार्वजनिक भएपछि ममताका परिवारका सदस्यहरू भावुक बनेका थिए। उनीहरूले एकअर्कालाई अँगालो हाल्दै सरकारी वकिलप्रति आभार व्यक्त गरेका थिए।