२० कार्तिक २०८१, मंगलबार 1730823386
Banner

माधव नेपाल : गन्तव्य माओवादी, नेता–कार्यकर्ताको बर्बादी


एमालेबाट बिभिन्न समयमा उछिट्‍टिएर वा बाँउटिएर बाहिर गएका नेता र समूहलाई बटुलेर माओवादी केन्द्र आगामी निर्वाचनमा होमिने तयारी गर्दैछ। नेकपा कालमा ठूल्ठूला विवाद, असमझदारी र शत्रुवत् आरोप–प्रत्यारोपबाट गुज्रेका ती नेताहरू मिल्ने आधार त तत्काल प्रष्ट दृष्टिगोचर हुँदैन तर टालाटुली बटुलेर भए पनि आफ्नो डुब्न लागेको अस्तित्व बचाउने प्रयास गरिरहेका छन् ।

एमालेबाहेक नेपालका वामपन्थी शक्तिहरू आगामी दिनमा अँगाल्नु पर्ने नीतिमा कुइरोको कागझैं रणभुल्लमा छन् । अरूभन्दा आफूलाई फरक देखाउन, अरूभन्दा आफूलाई क्रान्तिकारी देखाउन उनीहरूले बिभिन्न समयमा बिभिन्न स्टन्टबाजी गर्दै आए पनि उनीहरू लगभग विचार शून्य अवस्थामा छन् । कहिले कोही निख्खर जबजवादी हुन्छन् त कहिले उनीहरू जबजको कट्टर विरोधी बन्छन् । कहिले ओलीसंग गला जोड्न आइपुग्छन् त कहिले ओलीलाई प्रमुख दुश्मन ठान्छन् । कहिले उनीहरू माओवाद त्यागेको घोषणा गर्छन् त कहिले त्यसैमा शरण लिन पुग्छन् । कोही आफ्नो पार्टी अफिसमा त पुष्पलाल, मनमोहन र मदन भण्डारीको फोटो राख्छन् तर विहानदेखि बेलुकासम्म देउवा र प्रचण्डको चाकडी गर्छन् । नेकपा (एमाले)ले मात्र देशको धरातलीय यथार्थलाई आत्मसात गरी,विभिन्न अन्तर्राष्ट्रिय अनुभवको विश्लेषण गरी नेपालको लागि उपयुक्त विचार जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको छ । यदि राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक परिवर्तन सम्भव हुँदासम्म शान्तिपूर्ण जनपरिचालनमार्फत् अघि बढ्ने र प्रतिक्रियावादी शक्तिले ह्रिंसक रूपमा जनताको परिवर्तनको आन्दोलन दवाउन आएमा त्यसको प्रतिरोध सशस्त्र समेत हुनसक्ने जनताको बहुदलीय जनवादको आधारभूत कार्यनीति हो ।

००७ सालको परिवर्तन, ०४६ सालको परिवर्तन र २४० वर्ष शासनमा रहेको शाही राजतन्त्रको अन्त्य गर्ने ०६२/ ६३ सालको परिवर्तनमा शान्तिपूर्ण आन्दोलनको सबभन्दा महत्वपूर्ण भूमिका रहेबाट जननेता मदन भण्डारीको उल्लिखित विश्लेषण नेपालको धरातलीय यथार्थमा आ धारित थियो र एकदम सही थियो भन्ने निष्कर्ष निस्किन्छ । नेकपाका संस्थापक कमरेड पुष्पलालले अघि सार्नुभएको शान्तिपूर्ण जनपरिचालनको मोटो अवधारणालाई जननेता मदन भण्डारीले सिद्धान्तको रूपमा विकास गर्नुभएको हो । जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीले भन्नुभएझैं मुक्तिका लागि नेपाली जनताले गरेको लामो र कष्टसाध्य सङ्घर्षको परिणाम हो ।

जसरी समाजका हरेक पक्ष निरन्तर परिवर्तनशील छ, त्यसरी नै कुनै सिद्धान्त, विचार, कार्यनीति वा रणनीति पनि परिवर्तनशील छन् । जनताको बहुदलीय जनवादको प्रादुर्भाव यही पृष्ठभूमिमा भएको हो । अल्वर्ट आइन्स्टाइन भन्दथे–परिवर्तन शब्दबाहेक अरू सबै चीज परिवर्तनशील छन् । मदन भण्डारीले भन्नु भएझैं मानिस सिद्धान्तलागि नभै सिद्धान्त मानिसको लागि भएकोले सिद्धान्तसमेत परिवर्तनशील छ र हुनुपर्छ । अर्कातिर निर्मल लामा र मोहनविक्रमको स्कुलिङ्बाट आएका नेपालका साना वामसमूह गतिशील समाजको यो पक्षलाई मान्न तयार छैनन् । १९औं शताब्दीको युरोपीय समाजको आधारमा मार्क्सले बोलेका विषय, आजभन्दा सय वर्ष पहिले रसियन समाजलाई आधार बनाएर लेनिनद्वारा अभिव्यक्त विचार र सात दशक अगाडिको चिनियाँ परिवेशलाई आधार बनाएर माओले सूत्रीकरण गरेको सिद्धान्तलाई हलचल गर्न नसकिने गरी गाडिएको किलोजस्तो ठान्ने प्रवृत्ति ती वाम समूहमा देखिन्छ । मूलतस् उनीहरू उग्र वाम भड्कावमा रहने र उग्र वामपन्थको दाम्लो चुँडाएर दक्षिणपन्थी किलोमा पटक–पटक पुग्ने गरेका छन् । अहिले शेरबहादुर देउबाको दक्षिणपन्थी क्याम्पमा प्रचण्ड, माधव र मोहनविक्रम पुग्ने विषयले यसको पुष्टि गरेको छ । कहिले सशस्त्र विद्रोहबाहेक केही नदेख्ने कहिले दक्षिणपन्थी प्रतिक्रियावादीसंग मिलेर एमालेजस्तो क्रान्तिकारी पार्टीसंग पौठेजोरी खेल्ने उत्ताउलो चरित्र देखाउँदै छन् । नेपाली काङ्ग्रेसको मतको वैशाकीमा केही सीट जितेर आफ्नो राजनीतिको रोटी सेक्ने निरर्थक प्रयास गरिरहेका छन् ।

देशको सामाजिक–आर्थिक रुपान्तरण भाँडमा जावोस् प्रचण्डलाई प्रधानमन्त्री पद चाहिएको छ । माधव नेपाललाई जसरी हुन्छ एमाले तास्न पाए पुग्छ । वामदेव गौतमलाई आफू र आफ्नी पत्नीको पद सुरक्षित गर्नु परेको छ । आगामी निर्वाचनमा माओवादीलगायतका साना वाम दलको मत कुम्ल्याएर बहुमत ल्याउने र निर्वाचनपछि काङ्ग्रेसले एक्लै सत्ता चलाउने पक्का भए पनि उनीहरू कांग्रेससंगै दौराको फेर थापेर केही सिटको भिक्षा माग्दैछन् । विगतमा एमाले अध्यक्ष तथा लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओलीसंग अकारण दुश्मनी गरेर नेकपाबाट अलग्गिएका प्रचण्ड र माधवलाई अहिले ओलीसंग कुरा गर्ने आँट जोहो भएको अवस्था छैन । कम्युनिष्ट आन्दोलन विभाजन गरेर दक्षिणपन्थी शक्तिको सेवा गरेको महान भूलको क्षमा याचना गर्न सक्ने तागत उनीहरूमा छैन ।

माओ भन्दथे–खुट्टाको आधारमा जुत्ता काट्ने हो, जुत्ताको आधारमा खुट्टा काट्ने होइन । विडम्वना, नेपालका केही वामपन्थीहरू जुत्ताको आधारमा खुट्टा काटिरहेछन् । देश र जनताको निम्ति विचार, सिद्धान्त र पार्टी वा गठबन्धन बन्नु पर्नेमा आफू, आफ्नो पद, आफ्नो परिवारको खातिर यसो भइरहेको छ ।

एमालेबाट बाहिरिएका माधव नेपालहरूलाई आफ्नो शक्ति बचाउन आजकल धौधौ परेको छ । पार्टी बनाउन तम्सेका माधव नेपाल आजकल लखतरान भएर आफ्नो ‘पार्टी’लाई प्रचण्डको पोल्टामा सुम्पिने तरखर गर्दैछन् । उनका कार्यकर्ताले एमाले र राजनेता ओलीलाई सकारात्मक नजरले हेरेकोमा आक्रोश व्यक्त गरिरहेछन् । नेता कार्यकर्ताले आफूले मेहनत गरेर बनाएको घर त्यस घरको मूलीलाई फर्केर मायाको नजरले हेरेकोमा उनमा क्षोभ उत्पन्न भएको छ । माधवले माओवादीसंग एकता गर्ने तरखर गरिरहँदा आफ्ना सबै कार्यकर्ता पुरानै गौरबशाली घर फर्कन सक्ने चिन्ताले उनी ग्रस्त छन् । आफ्ना बचेखुचेका नेता कार्यकर्तालाई भ्रम छर्ने र धम्की दिन व्यस्त छन् । तर सत्य त यो हो–यिनीहरूले जस्तै नौटङ्‍की गरून्, एमालेको विजयको यात्रा रोकिदैन र सच्चा वाम कार्यकर्ताको उनीहरूको जसरी मति विग्रँदैन ।