९ मंसिर २०८१, आइतबार 1732486580
Banner

स्थानीय तहमा उमेदवार भएको व्यक्ति समानुपातिकमा उठ्न नपाउने काँग्रेसको निर्णय

काठमाडौँ– नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । 

गठबन्धनमा सिट बाँडफाँडको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए ।

प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएरसमेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको हो ।

कांग्रेसले स्थानीय तहबाट सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई विशेष ध्यान दिएर उम्मेदवारी टुंगो लगाउने भएको छ ।

के छन् अन्य मापदण्ड

१. हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने । 

२. २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उमेदवार हुन पाउने छैन । नेपाली कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य पदमा पार्टीको तर्फबाट उमेदवार हुन नपाउने व्यवस्था छ । अतः यस अघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उमेदवार हुन पाउने छैन । तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ उमेदवार हुन सक्नेछन् । 

३. उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उमेदवारको लागि भएको सिफारिश, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइनेछ । 

४. नेपाली कांग्रेसको विधानको धारा ३३ (३) मा उल्लेखित आधारलाई ध्यान दिंदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उमेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उमेदवार दिने । उमेदवार छनौट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा संघीय कानूनले निर्दिष्ट गरेको जातीय, लैगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिनेछ ।