सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँदै गएका छन् ।
केही वर्ष अघिसम्म परम्परागत र ढड्डामा विवरण राखेर सेवा प्रदान गरिरहेका संस्था अहिले कम्प्युटराइज हुनुका साथै खानेपानीसँग सम्बन्धित विभिन्न सफ्टवेयर प्रयोग गरेर अत्याधुनिक बन्दै गएका छन् । हालसम्म देशभरका छ सयभन्दा बढी खानेपानी तथा उपभोक्ता समिति डिजिटलाइज भइसकेको सरकारी विवरण छ । हाल ६८ जिल्लाका ११ लाख घरधुरी र करिब ४६ लाख जनसङ्ख्यामा यस्तो डिजिटलाइज सेवा पुगिसकेको छ । ती समितिले दियालो टेक्नोलोजीले विकास गरेको वाटरमार्क नामक सफ्टवेयर प्रयोग गर्दै आएका छन् । नेपालको फिनटेक कम्पनी दियालोले खानेपानीको क्षेत्रमा आवश्यक पर्ने विभिन्न सफ्टवेयर तथा प्रविधिको विकास गर्दै आइरहेको छ । दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, जिन्सी व्यवस्थापन, लेखा प्रणाली, मानव संशाधन प्रणाली, पानी चुहावट विश्लेषण प्रणाली, प्रयोगशाला व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, भूमिगत तहको पानी विश्लेषण गर्ने प्रविधि, पानीको तह मापन गर्नेलगायतका प्रणाली तथा प्रविधिको विकास गरेको छ । यस्तै कतिपय प्रविधि निर्माणको अन्तिम चरणमा छन् । यी प्रविधि प्रयोग गरी खानेपानी संस्था डिजिटलाइज बन्नुका साथै अत्याधुनिक सेवा प्रदान गर्न सक्षम हुँदै गएका छन् । देशभित्रै सबैभन्दा ठूलो उपभोक्ता समितिमध्येको एक कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नवलपुरका व्यवस्थापक बाबुराम ज्ञवालीले प्रविधिको प्रयोगले आश्चर्यजनक परिवर्तन ल्याएको बताउनुभयो । मानिसले गर्नुपर्ने कतिपय काम सहजैरूपमा प्रविधिको प्रयोगबाट भएका छन् ।
पानी खोल्न वा बन्द गर्न प्रत्यक्षरूपमा जानु पर्दैन भने पानीको गुणस्तरसमेत पत्ता लगाउन सजिलो भएको छ । जमिनमुनिको पानीको सतहसमेत सेन्सरको सहयोगले पत्ता लगाउने गरिएको छ । कति समय पानी तानियोदेखि उपभोक्ताको घरमा के–कति पानी पठाइयो भन्ने विवरणसमेत मोबाइल एपको माध्यमबाटै हेर्न सकिने ज्ञवालीको भनाइ छ । उपभोक्ताले समेत पानीको बिल तिर्न खानेपानीको कार्यालय वा उपभोक्ता समितिको कार्यालय पुग्नु पर्दैन । मोबाइलमार्फत अनलाइन माध्यमबाटै बिल तिर्न सक्छन् । आगामी तीन महिनाभित्र कुनै पनि कामका लागि अब मानवीय उपस्थिति नै नभए पनि हुने गरी प्रबन्ध गर्ने गरी थप तयारी भइरहेको ज्ञवालीको कथन छ । प्रविधिको प्रयोगले खानेपानी संस्थाहरू परदर्शी र उपभोक्ताप्रति जवाफदेहीसमेत हँुदै गएको उपभोक्ताहरूको अनुभव छ । नेपालको वर्तमान नीतिअनुसार कुनै पनि खानेपानी योजना निर्माण गर्दा स्थानीय उपभोक्ता समितिको संलग्नता अनिवार्य रहेको छ । नेपालमा यस्ता उपभोक्ता संस्था ४२ हजार बराबर रहेका छन् । तीमध्ये करिब १६ हजार चार सय संस्था मात्र दर्ता छन् । दर्ता भएकामध्ये ११ हजार आठ सय २८ वटा संस्था सञ्चालनमा छन् । यीमध्ये पनि नियमित बैठक बस्ने, आवधिकरूपमा साधारणसभा गर्ने, संस्थाको हरहिसाब पारदर्शी राख्ने समिति त झन् निकै न्यून छन् । प्रविधिको प्रयोग नभएका समितिमा आवश्यक सही तथ्याङ्क निकाल्न समस्या हुने, निर्णय गर्न ढिला हुनेजस्ता समस्या देखिने गरेका छन् । परम्परागत ढङ्गले सञ्चालन हुँदा संस्थालाई चुस्तदुरुस्त राख्न नसक्ने, पारदर्शी नहुने, समितिमा विवाद हुनेजस्ता समस्या देखिँदै आएका थिए । त्यसलाई सही मार्गमा ल्याउन पनि प्रविधिको प्रयोग नै उत्तम विकल्प हुनसक्ने उपभोक्ता लक्ष्मण जोशीको भनाइ छ । प्रविधिको प्रयोग गर्दा ढड्डा, फाराम, रसिदजस्ता कगजी वस्तुको प्रयोग गर्दा जस्तो समस्या नआउने खानेपानी समितिका सञ्चालकको अनुभव छ ।
प्रविधिको प्रयोग भएका खानेपानी समितिले हाल चुस्तदुरुस्त सेवा मात्र दिएका छैनन् कि ती समितिमा पारदर्शिता कायम हुनुका साथै उपभोक्तामा जवाफदेही सेवासमेत भइरहेको छ । प्रविधिको प्रयोग गरेका खानेपानी समितिका उपभोक्तालाई समेत निकै सहजता भइरहेको छ । उपभोक्ताले आफ्नो खानेपानीको महसुलको बिल पनि आफ्नो मोबाइलबाटै जानकारी पाएका छन् । महसुल मोबाइलबाटै भुक्तानी गरिरहेका छन् । जसले गर्दा उनीहरूको समय र खर्च दुवै बचत भइरहेको छ । हाल मासिक तीन लाख ५० हजारभन्दा बढी घरधुरीले मोबाइलबाटै आफ्नो महसुल भुक्तानी गरिरहेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिकाका केही खानेपानी उपभोक्ता समितिले पनि यस्तै प्रविधिको प्रयोग गरेका छन् । चन्द्रागिरि नगर विकास समिति मातहतको खानेपानी, टोखा खानेपानी, महादेवस्थान र तीनथाना खानोपानीमा यस खालका प्रविधिको प्रयोग गरिएको छ । यसबाट आफूहरूलाई असाध्यै सहज भएको उपभोक्ता जोशीको अनुभव छ ।