काठमाडौँ । काठमाडौं-४ नेपाली राजनीतिक वृत्तमा पटक पटक चिनिएको क्षेत्र हो। देशको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाको निजी निवास मात्र होइन उपराष्ट्रपति नन्द किशोर पुन “पासाङ” को कार्यक्षेत्र समेत यही हो।
विगत ५ वर्षमा यस क्षेत्रको पहिचान बदलिएको छ। काठमाडौं-४ लाई स्थानीय मतदाताहरू अरबौँको बजेट पार्ने डा. राजन भट्टराई र भाषणबाज गगन थापाको क्षेत्रको रूपमा समेत चिन्न थालेका छन्। काठमाडौं-४ मै हुर्किएका डा. राजन लामो समय यो क्षेत्रबाट टाढा रहेँ। भूमिगत राजनीतिक जीवन, विदेशको अध्ययन र पार्टी प्रवासको कामले डा. भट्टराईले आफूले दिनुपर्ने जत्ति समय यो क्षेत्रमा दिन सकेनन्। तर संविधान सभा सदस्य हुँदादेखि यो क्षेत्रमा नजिकबाट जोडिएका भट्टराई केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वकालमा दुई पटक परराष्ट्र मामिला सल्लाहकार हुँदा गरेको कामले नै उनलाई विकासवादी नेताको परिचय बनाएको छ।
सामान्यता सांसदको काम नीति निर्माण गर्ने भए पनि नेपाल जस्ता विकासशील देशहरूमा उनीहरूले आफ्नो क्षेत्रको विकासमा भूमिका निर्वाह समेत गर्नुपर्छ।
स्थानीय सरकारको बजेट थोरै हुने र जनताको विकासको अपेक्षा धेरै हुनाले पनि सांसदहरूले आफ्नो क्षेत्र विकासको लागि प्रदेश र सङ्घीय सरकारमा पहल गर्नु कर्तव्य र दायित्व नै हुने गर्छ। अझ एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिको मूल मियोमा आएपछि आफ्ना अभिव्यक्तिमा समेटेको विकासको एजेन्डाले गर्दा अहिले सबैजसो राजनीतिक दलहरूको प्राथमिकतामा विकास परेको देखिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानमा सारथि बनेका डा. राजन भट्टराईले ओलीको ४१ महिने प्रधानमन्त्री कालमा आफ्नो ध्यान निर्वाचनताका गरेका प्रतिबद्धता पुरा गर्नमा केन्द्रित रह्यो। आफ्नो शक्ति र ज्ञानलाई काठमाडौं-४ को विकास निर्माणमा केन्द्रित गरेका भट्टराईको पहलमा नै यस क्षेत्रका सानादेखि ठुला विकास निर्माणका कामहरू सम्पन्न भएका छन् भने कतिपय योजनाहरू सम्पन्न हुने चरणमा पुगेका छन्।
जनताको मतले राज्यको माथिल्लो निकायमा नपुगेका डा. भट्टराई आफ्नो व्यक्तिगत क्षमताको कारण प्रधानमन्त्रीको सल्लाहकार बन्न पुगे। यही सम्पर्क र शक्तिको प्रयोग गरेर निकै छोटो समयमा डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा ८ अर्ब ३० करोड २३ लाखको बजेट पारे। सोही समयमा नेपालको एउटा निर्वाचित सांसदले पाउने आफ्नो विकास कोष वार्षिक रु. ५ करोडलाई हिसाब गर्दा डा. भट्टराईले पारेको बजेट रकम पार्न अर्को सामान्य सांसदलाई १६६ वर्ष लाग्ने थियो।