३० कार्तिक २०८१, शुक्रबार 1731713408
Banner

गठबन्धनलाई अध्यक्ष ओलीको प्रश्न: चुनावपछिको प्रधानमन्त्री नेपालमै छन् कि विदेशतिर ?

कैलाली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछिको प्रधानमन्त्री नेपालमै छन कि विदेशतिर भन्दै गठबन्धनलाई कडा प्रश्न सोध्नुभएको छ ।

कैलालीको लम्की चुहामा आज आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो प्रश्न गर्नुभएको हो ।

‘एमालेले चुनावपछिको प्रधानमन्त्री तोकिसकेको छ, स्पष्ट घोषणापत्र ल्याइसकेको छ, आफ्नै नीति र कार्यक्रम राखेको छ, तर गठबन्धन एउटा प्रधानमन्त्रीको उम्मेदवार पनि दिन सकेको छैन,’ ओलीले भन्नुभयो, ‘को हो गठबन्धनको प्रधानमन्त्री ? को हो मुख्य नेता ? नेपालमै छन कि बिदेशतिरका हुन ? उस्ले जे जे भन्यो त्यही त्यही गर्ने मात्रै हो ? अब जनतालाई बताउनु पर्छ ।’

अध्यक्ष ओलीले गठबन्धन जनता र देशमारा ठगबन्धन भएको भन्दै त्यहाँ प्रधानमन्त्री भन्न योग्य मान्छे नै कोही नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धनसँग प्रधानमन्त्री बनाउछु भनेर देखाउन लायक कोही मान्छे नै छैन, त्यसैले भन्न सकेनन ।
चुनावपछि कस्को नीति लागू गर्ने भन्ने पनि गठबन्धनलाई थाह छैन । देश र जनतामारा ठगबन्धन नै हो सत्ता गठबन्धन । चुनावपछि सरकार बनाउँदा कस्को घोषणापत्र लागू हुन्छ ? कस्को न कस्को ?’

गठबन्धनलाई चुनावपछि सरकार बनाउने बिश्वास नै नभएको पनि उहाँले बताउनुभयो । ‘सरकार बनाउँछु भन्ने उहाँहरुलाई किन्चित बिश्वास छैन । एमाले अगाडि देखेपछि उहाँहरुको होस हवास उडछ, सरकार बनाउने कुरा त परै जावस,’ ओलीको भनाई थियो, ‘तरवार बेचुवा र घिउ बेचुवाहरु हुन गठबन्धनका दलहरु । एकले अर्कालाई झुक्याउने, समग्रमा जनतालाई झुक्याउने नै हो ।’

अध्यक्ष ओलीले कांग्रेसमा नेताका श्रीमती मात्रै पदमा पुग्न योग्य रहेको भन्दै सवै महिला नेतृहरुलाई एमालेमा आउने आग्रह गर्नुभयो ।