३ मंसिर २०८१, सोमबार 1731922071
पर्यटन

पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना–उपराष्ट्रपति पुन

पराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना रहेको बताउनुभएको छ । विश्वपर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजित साताँै पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पर्वतीय पर्यटनका धेरै सम्भावनालाई अझै पनि अपेक्षित उपयोग गर्न नसकिएको बताउनुभयो । नेपाल प्राकृतिकरुपमा सम्पन्न भएको बताउँदै उहाँले यस्ता सम्पन्नतालाई पर्यटकीयरुपमा उपयोग गर्दै समृद्धि हासिल गर्न सकिनेमा जोड दिनुभयो ।

प्रकृति र संस्कृतिसँगै विभिन्न जातजाति भाषाभाषीका विविधता हाम्रो सम्पत्ति भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले तिनको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । विश्वका आठ हजारभन्दा बढी उचाइका १४ वटा हिमचुचुरामध्ये सगरमाथासहित आठ वटा नेपालमै पर्छन । उहाँले पर्वतीय पर्यटनका माध्यमबाट यहाँको पर्यटनमा विशिष्ट योगदान हुनसक्ने धारणा राख्नुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रकृति र संस्कृतिका विविधता रहेको नेपाल हिमाल पहाड र तराई गरी भौगोलिक संरचनामा विभक्त भएको बताउनुभयो । जैविक विविधता पनि यहाँको अर्को महत्वपूर्ण पक्ष भएको बताउँदै उहाँले यसको संरक्षण र उपयोगमा जोड दिनुभयो । पदयात्रासँगै साहसिक पर्यटकका विभिन्न गतिविधिका माध्यमबाट पर्यटकीय विकास सम्भव भएको बताउँदै मन्त्री श्रेष्ठले साधनस्रोतलाई उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेलले पछिल्ला समयमा जलवायु परिवर्तनको असर हिमाली एवं पर्वतीय क्षेत्रमा पर्न थालेको बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निवानार्बु शेर्पाले पर्वतीय पर्यटनको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । कार्यक्रममा पर्वतारोहणका क्षेत्रमा विशिष्ठ योगदान गर्ने विभिन्न व्यक्तित्वलाई उपराष्ट्रपति पुनले कदरपत्र, मेडल र दोसल्लासहित सम्मान गर्नुभएको थियो । उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालयले पर्यटनको दिगो विकासका लागि ७३ बुँदे कार्ययोजना अघि सारेको जानकारी दिनुभयो ।