३ मंसिर २०८१, सोमबार 1731947260
Banner

नेपालका कम्युनिष्ट : मिल्दा चमत्कार, फुट्दा हाहाकार

नेपालको संसदीय इतिहासमै भयानक प्रतिस्पर्धा देखिएको ०७९ मंसिरको आम निर्वाचनको अन्तिम परिणामले एकाएक नेपालका वाम शक्तिलाई एक ठाउँमा ल्याइदिएको छ । इगो, कुण्ठा र व्यक्तिगत मान अपमानका कारण नेपालका वाम शक्ति फुटेको मौका छोपी कम्युनिष्टहरूको प्रमुख प्रतिद्वन्दी नेपाली कांग्रेस संसदमा सबभन्दा ठूलो दलको रूपमा फेरि उदाएको र अघिल्लो संसदमा झण्डै दुइ तिहाइको सङ्ख्यामा विजय प्राप्त गरेका कम्युनिष्ट शक्ति प्रतिरक्षात्मक अवस्थामा पुगेको अवस्थाले उनीहरूलाई सहकार्य गर्न वाध्य बनाएको छ । कथित वाम–लोकतान्त्रिक गठबन्धन र एमालेको बीचमा भएको यो निर्वाचनमा १ सय ६५ सीटमै झिनो मतान्तरले हार जीत भयो । एमाले र गठबन्धन दुवैले सोचेको परिणाम हात लगाउन सकेनन् । यतिमात्र होइन,विगतका आफ्ना गढबाटै कतिपय शीर्ष नेताहरू समेत पराजित हुन पुगे ।

समानुपातिक मत अर्थात् लोकप्रिय मतमा प्रथम भए पनि सकेसम्म बहुमत नभए पनि सबभन्दा ठूलो पार्टी बन्ने योजनामा रहेको देशको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले) लाई जनताले दोस्रो दलको भूमिका दिए । दोस्रो दलमा उक्लने र प्रधानमन्त्री आफू बन्ने लक्षका साथ चुनावमा होमिएको माओवादी केन्द्र कमजोर तेस्रो हैसियतमा सीमित बन्यो । एमालेलाई धुलो चटाउने योजनाको साथ चुनावमा गएको माधव समूहले नेपाली कांग्रेसको भोटले दस सीट जिते पनि समानुपातिक मतको कारण राष्ट्रिय पार्टी बन्न सकेन । नेमकिपा र राष्ट्रिय जनमोर्चाले आफ्नो एक सीटे विरासत कायमै राखे।

एकीकृत भइसकेको नेपालको कम्युनिष्ट आन्दोलन पुनस् विभाजन हुँदा समाजवादप्रेमी, आर्थिक समृध्दि चाहने र राष्ट्रवादी नेपाली मतदाताको मन नराम्ररी भाँचिएको रहेछ भन्ने यो निर्वाचनले प्रष्ट गरेको छ । अप्रत्यासित रूपमा मतदाताले नयाँ पार्टीहरूलाई दिएको मतले यो कुराको पुष्टि गरेको छ । देश र जनताको लागि कम र आफू र आफ्नो परिवारको बारेमा बढी चिन्तित नेताहरूबाट वाक्क भएर जनताले फरक ढङ्गले मतदान गरेर विद्रोहको विगुल फुकेको प्रष्ट हुन्छ ।

एकीकृत भइसकेको नेपालको कम्युनिष्ट आन्दोलन पुनस् विभाजन हुँदा समाजवादप्रेमी, आर्थिक समृध्दि चाहने र राष्ट्रवादी नेपाली मतदाताको मन नराम्ररी भाँचिएको रहेछ भन्ने यो निर्वाचनले प्रष्ट गरेको छ । अप्रत्यासित रूपमा मतदाताले नयाँ पार्टीहरूलाई दिएको मतले यो कुराको पुष्टि गरेको छ । देश र जनताको लागि कम र आफू र आफ्नो परिवारको बारेमा बढी चिन्तित नेताहरूबाट वाक्क भएर जनताले फरक ढङ्गले मतदान गरेर विद्रोहको विगुल फुकेको प्रष्ट हुन्छ ।

हिजो जे जसरी छुट्टिए पनि, जुन कित्तामा उभिएर चुनावमा सामेल भए पनि नेपालका कम्युनिष्टहरू आज विल्कुल नयाँ घुम्तीमा आइपुगेका छन् । समयले उनीहरूलाई विमतिहरू थाँती राख, मिलेर सरकार बनाऊ, निकास देऊ भनिरहेको थियो । समयको यो आवाजलाई सबभन्दा पहिले नेकपा (एमाले)का अध्यक्ष के पी शर्मा ओलीले सुन्नुभयो र नयाँ र प्रगतिशील गठबन्धनको जन्म भयो । नेपाली कांग्रेस अहिले कम्युनिष्टहरूको भोट चोरेर र कतिपय ठाउँमा बुथ कब्जा गरेर संसदमा ठूलो पार्टी बनेर आए पनि सो पार्टीले देशको समस्या समाधान गर्दैन । यो पटक–पटक प्रमाणित भएको तथ्य हो । अलिकति सफलता हात लागेपछि मनस्थिति ठीक ठाउँमा नहुने नेपाली कांग्रेसका नेताको चरित्र यो पटक जनताले देख्न पाए । कुरा गठबन्धनको गर्ने तर प्रमुख पद सबै आफैंलाई चाहिने उसको हठले उसको सर्वसत्तावादी चरित्र पुन : उजागर गरिदिएको छ ।

नेपालका वामपन्थी शक्तिलाई विभिन्न राजकीय पद आपसी तालमेलको आधारमा प्राप्त गर्ने प्रचुर संभावना भएको अवस्था हुँदाहुँदै तिनै पदको भीख नेपाली कांग्रेससँग माग्नु पर्ने थिएन । कम्युनिष्ट शक्तिको नेतृत्वविना समाजवादको यात्रा तय नहुने जान्दाजान्दै त्यसमा कांग्रेस मिसाउनु पर्ने थिएन । आफू–आफू लडेर दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिको शासन भोग्नु परिरहेको अवस्थाको राम्रो आंकलन के पी ओलीले गरेकै कारण प्रधानमन्त्री पदकै लागि नेकासँग हारगुहार गरिरहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयमा पुग्नुभयो । र, आज पुनस् एकपटक नेपालको राजनीतिमा कम्युनिष्टहरूको हात माथि परेको छ ।

कसैले पछारिसक्दा पनि मेरो हात त माथि नै छ नि भन्ने जस्ता तर्क गर्दै हिंड्ने, घमण्ड गर्नेहरूलाई जनताले ठेगान लाइदिन्छन्, चेत्ने र सच्चिनेलाई जनताले माया गर्छन् र सत्तामा पुर्याउँछन् भन्ने होस नेपाली वाम नेतामा ढिलो हुनु आगावै पैदा भएको छ । यो सबैले गर्व गर्ने विषय हो ।

राजनीति रिस, आवेग र कुण्ठाले चल्दैन । कम्युनिष्ट आन्दोलन त यसरी अगाडि बढ्नै सक्दैन । विगतमा घोक्रो सुक्ने गरी भनिएका र कान टट्याउने गरी सुनाइएका ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेर अगाडि बढ्ने, धरातलीय यथार्थमा टेकेर अगाडि बढ्ने र मार्क्सवादको मार्गनिर्देशनमा अघि बढ्ने हो भने नेपालका कम्युनिष्ट नेताहरूले पटक (पटक राम्ररी घोत्लनु पर्ने टड्कारो आवश्यकता छ ।

हाल संसारलाई नै चकित पार्ने गरी के पी र प्रचण्डले सहमतिको टेवलमा बसेर देशको अनिश्चित भविश्यको लेखाजोखा गरेर सही निकास दिने जुन आँट गरेका छन् यो स्वागत योग्य र प्रशंसनीय कदम हो । भर्खरै सम्पन्न निर्वाचनमा जनताले दिएको हैसियतअनुसार एमाले र माओवादी केन्द्र मिलेर राजकीय हिस्सा लिने र रास्वपा,राप्रपालगायतका साना दललाई समेट्ने ओली रणनीतिले परिवर्तित परिस्थितिमा देशले सही ट्र्याक समात्ने अपेक्षा गर्न सकिन्छ ।

ओलीको विराट हृदयको कारण भर्खरै सरकारको नेतृत्व गर्ने अवसर पाएका प्रचण्डले नेकपा (एमाले), जनताको बहुदलीय जनवादको फराकिलो नीतिभित्र एकाकार भएर सरकार सञ्चालन गरेको खण्डमा देशको विखण्डित कम्युनिष्ट आन्दोलन पुनः एकीकरणको दिशामा फर्कने र देशले काँचुली फेर्ने दुवै अवस्था पैदा हुन्छ । आर्थिक समृध्दि, समाजवादको आधार निर्माण र राष्ट्रियताको सम्बर्धनमा चमत्कार हुन्छ ।