काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई शपथ गराएका हुन् ।
यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने र तनहुँ–१ बाट निर्वाचित रास्वपाकै डा. वाग्ले निर्वाचित भएका थिए । सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् ।
बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने आज शपथ नलिएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले यादव काठमाडौंबाहिर रहेको जानकारी दिए ।