काठमाडौं । संघीय सरकार र प्रदेश सरकारबाट सञ्चालन हुने आयोजनाहरूमा स्थानीय तहसँग समन्वय नहुने काठमाडौं उपत्यकाका उपप्रमख–उपाध्यक्षहरूको गुनासो छ । काठमाडौं उपत्यकास्तरीय उपप्रमुख–उपाध्यक्षहरूको दोस्रो बैठकमा उपस्थित उपप्रमुख-उपाध्यक्षहरूले यस्तो गुनासो गरेका हुन् ।
स्थानीय तहमा हुने विकास निर्माणको अनुगमन समितिको नेतृत्व उपप्रमुख–उपाध्यक्षको हुन्छ । उनीहरू १२ वटाभन्दा बढी समितिको संयोजकसमेत हुन्छन् । तर, संघीय सरकार र प्रदेश सरकारले सञ्चालन गर्ने योजनाहरू स्थानीय तहसँग समन्वय नगर्दा अहिले समस्या भइरहेको उनीहरूको गुनासो छ ।
स्थानीय तहबाट सिफारिस भएका आयोजनाहरू सिधै स्थानीय तहमा आएपछि विभिन्न वा आयोजना मार्फत् हुने विकास निर्माणको काममा समन्वय नहुँदा जताले सास्थि व्यर्होनुपर्ने र स्थानीय तहका जनप्रतिनिधिहरूले गाली खाइरहनु पर्ने उनीहरूको गुनासो छ । यो समस्या विशेष गरी सहरी क्षेत्र हुने गर्दछ ।
काठमाडौं उपत्यकामा ३ तहको सरकारसहित विभिन्न आयोजनाहरूले समेत काम गर्ने भएका कारण कसले कतिबेला कहाँ काम गर्छन् भन्ने समेत थाहा नहुने बुढानिलकण्ड नगरपालिकाकी उपमेयर अनिता लामाले बताइन् । उनका अनुसार स्थानीय तहबाट केही दिन अघिमात्र सडक ढलान गर्ने र मेलम्ची, विद्युत् प्राधिकरण वा अन्य कुनै नाममा केही दिनपछि त्यही सडक भत्काउन सुरु गर्दा जनताले समस्या भोग्न परिरहेको छ ।
विकास निर्माणको सवालमा स्थानीय तहमै समेत विभिन्न अनावश्यक समस्याहरू झेल्नु पर्ने उपप्रमुखहरूको अनुभव छ । स्थानीय तहमा टुक्रे आयोजना धेरै हुने, आर्थिक वर्षको अन्तमा मात्र आयोजना सम्झौता गर्न आउने, उपभोक्ता समितिहरूले जिम्मेवारीको पालना नगर्ने, स्थानीय तहको गौरवको योजनाको खरिद प्रक्रिया लामो र झन्जटिलोलगाय समस्या रहेको उनीहरूको अनुभव छ ।
विकास निर्माणका कामहरू प्राविधि इस्टिमेटअनुसार नहुने, ठेकेदारहरू सम्बन्धितभन्दा तेस्रो पक्षले बढी अनुगमनमा दबाब दिने समस्याहरू झेल्न परेको उनीहरूको गुनासो छ । उपत्यकाको स्थानीय तहमा रहेका समस्याहरूको समाधानका लागि एकरुपता ल्याउन उनीहरूले प्रयास गरिरहेका छन् । त्यसका लागि सबै स्थानीय तहका प्रमुख–उपप्रमुखसहित विज्ञहरूलाई समेत बोलाएर छलफल छलफल चलाइएको लामा बताइन् ।
नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला भट्टराईले सबै स्थानीय तहका अनुगमन समितिलाई एकरुपता ल्याउन पर्नेमा जोड दिइन् । त्यसका लागि विज्ञहरुले भूमिका निर्वाह गरिदिनसमेत आग्रह गरिन् ।
काठमाडौं उपत्यको ३ जिल्लामा २१ वाटा स्थानीय तह छन् । जसमा ललितपुरमा ३ वटा गाउँपालिका छन् । काठमाडौं र भक्तपुरमा गाउँपालिका छैन । ललितपुर र काठमाडौं महानगरसमेत रहेको काठमाडौं उपत्यकास्तरीय उपप्रमुख–उपाध्यक्षहरूको पहिलो बैठकको अध्यक्षता काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन् ।
बैठक जुन स्थानीय तहमा हुन्छ, त्यहीको उपप्रमुखले गर्ने सहमति अनुसार दोस्रो बैठकको अध्यक्षता बुढानिलकण्ड नगरपालिकाकी उपप्रमुख अनिता लामाले गरिन् । अब तेस्रो बैठक भक्तपुरको सूर्यविनायक नगरपालिकामा गर्ने तय गरिएको छ । तेस्रो बैठकको अध्यक्षता सूर्यविनायक नगरपालिकाकी उपमेयर सरिता तिम्सिना भटटराईले गर्नेछिन ।