काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ‘अधिकारका लागि हस्तक्षेप गरौं’ नारासहित १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२३ भोलि सोमबार मनाउनेभएको छ । जिफन्टले आज यहाँ पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार श्रम शोषणको प्रकृति अहिले फरक भएकाले श्रम शोषण अन्त्य गर्ने र श्रमको उचित पारिश्रमिकका लागि संस्थाको तर्फबाट निरन्तर खवरदारी भइरहेको छ । नेपालको संविधान र श्रम ऐनले मुलुकबाट श्रम शोषणको अन्त्य गर्ने व्यवस्था गरे पनि व्यवहारिक कार्यान्वयन हुन नसकेको भन्दै उहाँले श्रम शोषणको रुप परिवर्तन भएको बताउनुभयो ।
‘पहिले भौतिक रुपमा श्रमिकको श्रम शोषण हुन्थ्यो अहिले बौद्धिक रुपमा श्रम शोषण हुनेगर्छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अहिले ५७.१८ प्रतिशत श्रमिक मात्र नियमित रोजगारीमा रहेका छन्, कुल श्रमिकमध्ये ६९.९३ प्रतिशत श्रमिकले मात्र रोजगारका लागि सम्झौता गरेका छन् ।”
नेपालमा करिब डेढ करोड श्रमिक रहे पनि अधिकांश श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि नपाएको अध्यक्ष श्रेष्ठको भनाइ छ । सरकारले श्रमिकका लागि न्युनतम पारिश्रमिक १५ हजार रुपियाँ तोके पनि ग्रामीण भेगका श्रमिकहरुले दुई छाकका लागि श्रम बेच्न बाध्य भइरहेको उहाँको भनाइ छ ।
विगतको तुलनामा न्युनतम पारिश्रमिक पाउने अवस्थामा सुधार भए पनि अझै १५.३० प्रतिशत श्रमिकहरुले न्यूनतम पारिश्रमक नपाएको तथ्याङ्क रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विदा पाउने विषयमा समेत श्रमिकहरु पीडित भइरहेको चर्चा गर्नुहुँदै अध्यक्ष श्रेष्ठले घर विदा, प्रसुति विदा, प्रसुती स्याहार विदामा समेत श्रमिकलाई शोषण गर्नेगरिएको उहाँको भनाइ छ ।
सो अवसरमा जिफन्टले पहिलो पटक सीमा पारका श्रमिकको विषयमा आवाज उठाएपछि कतार सरकारले जिफन्टलाई सम्मानित गरेको जानकारी दिइएको छ । कतारमा गत मंसिर ४ देखि भएको विश्व वल्र्ड कप (२० नोभेम्बर डिसेम्बर १८, २०२२) मा नेपाली श्रमिकहरुमाथि गरिएको श्रम शोषणका बारेमा जिफन्टले पैरबी गरेको थियो ।
जिफन्टले भोलि सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) देशव्यापी मनाउने भएको छ । अध्यक्ष श्रेष्ठका अनुसार काठमाडौंको भृकुटी मण्डपमा हुने राष्ट्रिय कार्यक्रमको उदघाटन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।