८ मंसिर २०८१, शनिबार 1732386567
Banner

टोप बहादुरलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण: अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताउनु भएको छ। आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताउनु भयो । उहाँले कुनैपनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। यो तानेको हो की तनाएको हो भन्ने अध्ययन हामी गर्दैछौँ। अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ। निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ। ४ वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेक जस्ता कुराहरु, एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।प्रहरीले भने रायमाझीलाई पक्राउ नगरेको बताएको छ।