८ मंसिर २०८१, शनिबार 1732384770
विश्व

युक्रेनमाथि रुसको फस्फोरस बम आक्रमण

काठमाडौं। रुसले फस्फोरस बमले आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ । युक्रेनको सेनाले एक भिडियो फुटेज सार्वजनिक गर्दै आक्रमणमा फस्फोरस बम प्रयोग भएको आरोप लगाएको हो।

भिडियोमा आगो भयंकर ठूलो लागेको र फस्फोरस जस्तै देखिने सेतो रंगको पाउडर खसेको देखिन्छ।

सेतो फस्फोरसमा प्रतिबन्ध छैन तर आम जनतामा यसको प्रयोग गर्नु युद्ध अपराध मानिन्छ। यसमा तीव्र रुपमा आगो फैलिने भएकाले निभाउन गाह्रो हुन्छ। रुसमाथि यसअघि पनि फस्फोरस बम प्रयोग गरेको आरोप लागेको थियो।

रुसले केही महिनायता बखमुतमा कब्जा गर्ने कोसिस गर्दै आएको छ। यो कोसिसमा हजारौं रुसी सैनिक मारिएको अनुमान पश्चिमी देशले गरेका छन्। युक्रेनको रक्षा मन्त्रालयले रुसले कब्जा गर्न नसकेका बखमुतका क्षेत्रमा आगो लगाउने हतियारको प्रयोग गरेको जनाएको छ।

युक्रेनले सार्वजनिक गरेको भिडियो फुटेज जाँच गरेको र यो फुटेज बखमुतको केन्द्रदेखि पश्चिम तर्फ बालबालिकाको अस्पताल रहेको क्षेत्रको रहेको पत्ता लागेको बीबीसीले जनाएको छ।

आगो लगाउने हतियारको प्रयोग भएको तर त्यो फस्फोरस बम हो कि होइन भन्ने पुष्टि भने नभएको बीबीसीले जनाएको छ।