काठमाडौं । नेकपा एमालेका सांसद् तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखवर रहेको बताउनुभएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामाथि छलफलमा पूर्वअर्थमन्त्री पौडेलले देश मन्दीमा गइरहेको बेला सरकारले देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई स्वीकार नगरेको बताउनुभयो ।
पौडेलले भन्नुभयो, ‘सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखबर भएको मलाई महशुस भयो । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्याकंमा नेपालको अर्थतन्त्रको अवस्था मन्दीको छ भनेर औंल्याएको छ । देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई स्वीकार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ ।’
नेपाली अर्थतन्त्र मन्दीमा भएको तथ्यलाई स्वीकार गर्दै बजेट प्रस्तुत हुनुपर्ने उहाँको जोड थियो । पौडेलले भन्नुभयो,‘सत्यलाई जस्ताको त्यसतै प्रस्तुत गर्नुपर्छ । प्रस्तुत सिद्धान्त र प्राथमिकता चुकेको छ । अर्थतन्त्रका परिसूचकहरु एकदमै कमजोर छन् । यसअघिको बजेटमा आर्थिक वृद्धिदर ८ प्रतिशत भनिएको थियो । तर, राष्ट्रिय तथ्याकं कार्यालयका अनुसार अहिले नेपालको आर्थिक वृद्धिदर २।१६ मा खुम्चिने प्रक्षेपण गरेको छ । ’
चालु आर्थिक वर्षको राजस्व परिचालन एकदमै कमजोर रहेको उहाँको भनाइ छ ।