८ मंसिर २०८१, शनिबार 1732371653
Banner

बालेनको एक वर्ष : आफ्नो योजनामा असफल, शाक्यको योजनामा स्टन्ट

काठमाडौं । गत जेठ १६ गते काठमाडौं महानगरपालिका मेयरको शपथ लिएका बालेन्द्र शाह ‘बालेन’ले शपथ लिएसँगै काठमाडौंलाई विश्वकै उष्कृष्ट शहर बनाउने प्रतिबद्धता गरे । शपथ लिदैँ जनताले आफूलाई जिताएको भन्दा पनि ५ वर्षका लागि जिम्मेवारी दिएको उनले बताए ।

काठमाडौं महानगरको मुख्य समस्या पुराना पार्टी र ती पार्टीका नेताहरू भएको नारा दिँदै गत स्थानीय चुनावमा एकाएक स्वतन्त्र भन्दै उदाएका शाहलाई काठमाडौं बासीले आँखा चिम्लिएर विश्वास गरे । लामो समयदेखि राजनीतिक दलहरूले गरेका गतिविधिसँग दिक्क मानेका जनताले स्वतन्त्र र नयाँको परिभाषामा उनलाई पहिलो पटकमै काठमाडौं महानगरको नेतृत्व गर्न अनुमोदन गरे । अर्थात् बालेन काठमाडौं महानगरपालिका मेयर बने ।

काठमाडौंको जनताले उनलाई पहिलो पटकमै विश्वास गर्नुका कारण उनले उठाएको चुनावी एजेण्डा काठमाडौंको फोहोर वैज्ञानिक र दीगो व्यवस्थान मुख्य हो । नियमित फोहोर नउठेर दिक्क भएका जनताले उनको भौतिक पूर्वाधार निर्माणको एजेण्डामा समेत विश्वास गरे । किनभने चुनावी प्रचारमा उनले आफूलाई इन्जिनियरको परिचय दिएका थिए ।

चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका उनको व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने, सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य सेवासमेत होम डेलिभरी गर्ने शाहको घोषणाले जनतामा विश्वास जागेको थियो ।

पहिलो प्रयासमै असफल

मेयर शाहले महानगरको नेतृत्व सम्हालेको एक वर्ष भएको छ । ५ वर्षको यो अविधिलाई हेर्दा यो समय छोटो हो । सुरुवाती मात्र हो । यो छोटो अवधिमा नै मेयर शाहको विरुद्धमा आन्दोलन र आलोचना सुरु भएको छ । मेयर बालेनप्रतिको आलोचना र विरोध बढ्दै गएपछि महानगरका पूर्वमेयर विद्या शुन्दर शाक्य भने उनीमाथि समीक्षा वा आलोचना गर्ने समय अहिले नभएको बताउँछन् । उनले बाहिर बसेर बोल्नु र भित्र काम गर्नु फरक हुने भन्दै बालेनलाई छोटो अवधिमा नै आलोचना गर्न नहुने बताउँदै आएका छन् ।

यो एक वर्ष बालेनले मुख्यतया यी काम गर्ने प्रयास गरे । टुकुचा उत्खनन्, फोहोर वर्गिकरण (कुहिने र नकुहिने), थापाथलीको सुकुम्बासी बस्ति हटाउने प्रयास, खुल्ला मञ्चमा अन्डर ग्राउण्ड प्रार्किङ निर्माणको प्रयास, खुल्ला स्थानमा धुम्रपान निषेध, कार्यपालिका बैठक लाइभ, इन्द्रजात्रा अन्तर्राष्ट्रियकरण गर्ने, होटल रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोग खुला गर्ने, मापदण्ड विपरितको भौतिक संरचना हटाउन डोजर प्रयोग, फुटपाथ व्यवस्थापनलगायत काम गर्ने प्रयास गरे ।

यी प्रयासहरूमध्ये बालेन फुटपाथ व्यवस्थापनमा आशिंक सफल भए । नयाँ बानेश्वरलगायत केही क्षेत्रमा बालेनले व्यापारिलाई व्यवस्थापन गरे । तर, त्यसपछि भने सडक व्यापार गरेर जीवन निर्वाह गरिरहेका धेरै मानिस विस्थापित भएका छन् ।

उनले प्रयास गरेका काममध्ये केही कामहरू पूर्वमेयर विद्या सुन्दुर शाक्यले नै सुरु गरिसकेका थिए ।

असफलता र विरोध

बालेनले प्रयास गरेका यी सबै कामका सुरुवाती समयमा जनताले साथ दिए । ठुला–ठुला महल र सरकारी कार्यालयहरूको बेसमेन्टलाई व्यवसायिक प्रयोजनबाट पार्किङमा बदलेपछि व्यापक हाइहाइ पाएका उनले एकपछि अर्को गर्दै भौतिक संरचना भत्काउन लागे । डोजर चलाउने उनको नजर व्यक्तिको नीजि सम्पतिमाथि जान थालेपछि आलोचना सुरु भयो ।

आलोचनाको प्रवाह नगरी मनलाग्दी डोजर चलाउने कार्यले निरन्तरता पाएपछि विरोध प्रदर्शन भयो । उनी निजी सम्पतिमा माथि मात्र होइन, सूचनाकै आधारमा सार्वजनिक सम्पतिमाथि पनि डोजर चलाउन थाले । उनले अदालतको आदेशलाई समेत नटेरेर १४ असोजमा काठमाडौंको थायमदु (बांगेमुढा) स्थित ४५ वर्ष पुरानो सामुदायिक घर (त्वाः छें) भवनमा डोजर चलाए । उच्च अदालतले नभत्काउन अन्तरिम आदेश दिएकै अवस्थामा महानगरले बल प्रयोग गरेर ड्रिलर प्रयोग गरेर भत्काएको थियो ।

फोहोर व्यवस्थापनमा पनि उनलाई त्यस्तै सकस परेको छ । सुरुवाती समयमा स्थानीयसँग छलफल गरेर फोहोर उठाउन सुरु गरेपनि महानगरले गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै स्थानीयको विरोध हुँदा प्रहरीसमेत परिचालन गर्नुपर्ने अवस्था आयो । कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउने कुरा पनि पूर्ण रूपमा कार्यन्वयन भएन । केही निजी कम्पनीले वर्गिकरण गरेर केही समय फोहोर कलेक्सन गरेपनि अहिले गर्न छाडिसकेको छ । महानगरले त्यसको लागि आवश्यक पूर्वाधार बनाउन नसक्दा फोहोर वर्गिकरणले निरन्तरता पाउन सकेन ।

उनले आफू निर्वाचत भएलगतै कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरे । सुरुमा केही बैठकहरू निन्तर लाइभ भए । पछिल्लो समय भने बैठक लाइभ हुने विषय मेयर शाहको मूडमा भर पर्न थाले । यस विषयमा कार्यापालिका बैठकमा मेयर बालेनको विरोध भएको थियो । उनले आफूलाई मन परेको समयमा लाइभ गर्ने र मन नपरेको समयमा नगर्ने गरेको वडाध्यक्षहरू बताउँछन् । खास गरी बालेनले आफूविरुद्ध आलोचना सुरु भएपछि बैठक लाइभ अनियमित हुन थालेको वडाध्यक्षहरूको आरोप छ ।

महानगरले सार्वजनिक स्थानमा धुम्रपान गरेको पाइएमा जरिमाना गर्ने निर्णय पनि कार्यन्वयनमा आउन सकेको छैन । आफैले गरेको उक्त निर्णय कार्यन्वयन गर्न महानगरले कर्मचारीसमेत खटाउन सकेको छैन ।
पेशाले इन्जिनियर शाह काठमाडौंमा महानगरको डोजर चल्दा धेरै आनन्दित भएको देखिन्छन् । साउथ इन्डियन फिल्म शैलीमा उनी एकाएक मंसिर १२ गते डोजर लिएर सुकुम्बासी बस्ती पसे । डोजर लिएर बस्ती छिर्ने वितिकै महानगरको टोलीमाथि सुकुमबासी बस्तिका मानिस प्रतिकारमा उत्रिए । प्रहरीसँग समेत छलफल नगरी बस्ति छिरेका महानगर टोलीमाथि बस्तिका मानिस घरेलु हतियारसहित प्रतिकारमा उत्रिए । महानगर टोली र बस्तिका मानिसबीचको झडपमा महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेको टाउँकोमा चोट लाग्यो भने दर्शनबढी प्रहरी निर्घात कुटिए ।

काठमाडौं महानगरपालिकाको कामलाई प्रदेश सरकार र संघीय सरकारले सहयोग नगरेको आरोप लगाइरहने मेयर शाहले यसरी बस्तिमा डोजर लिएर जाँदा नेपाल प्रहरीसँग कुनै समन्वय नगरेको प्रहरी अधिकारी बताउँछन् । महानगरले समन्वय नगर्दा नगर प्रहरीमाथि आक्रमण हुँदा नेपाल प्रहरी मुकदर्शक बन्नु परेको ति अधिकारी बताउँछन् ।

बस्तिका मानिसले बालेनविरुद्ध नाराबजी गरेर पुत्लासमेत जलाए । अन्य विरोधका कार्यक्रम पनि गरे । योसँगै काठमाडौंका स्थानीय बासी नेवार समुदायलेसमेत बालेनले डोजर आतंक मच्चाएको भन्दै विरोध गरे । शंखमुलका एक स्थानीयको निजी घर महानगरले बिना सूचना र निर्णयमा भत्काएपछि उनीहरूले बालेनविरुद्ध विरोध प्रदर्शन गरे । त्यसको नेतृत्व उनकै प्रतिद्वन्द्वी सुमन सायामीले गर्दा विभिन्न संघ संस्थाले समर्थन गरे ।

उनले काठमाडौंका नेवार समुदायलाई खुसी बनाउन नेवार समुदायको प्रमुख पर्व इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने घोषणा गरे । उक्त घोषणाअनुसार महानगरले गत भदै २४, २०७९ मा इन्द्रजात्राका लागि विदेशी पाहुनालाई निमन्त्रणा गरेको थियो । आफ्नो भगिनी सम्बन्ध भएका १८ र सार्कका ७ वटा राजधानी सहरका प्रमुख गरी २५ नगरप्रमुखलाई आमन्त्रण गर्दा अमेरिकाको फेडरिकवर्ग नगर र माल्दिभ्सको राजधानी माले नगरका प्रतिनिधि मात्रै काठमाडौं आए । संघीय सरकारसँगको राम्रो समन्वय र पूर्वतयारी गर्न नसक्दा इन्द्रजात्रालाई ग्लोबलाइज गर्न मात्र होइन उनी आफ्नै भागिनी सम्बन्ध भएका नगरबाट प्रतिनिधिसमेत ल्याउन असफल भए ।

काठमाडौंमा रहेको एक मात्र खुल्ला मञ्चमा अन्डरग्राउण्ड प्रार्किङ बनाउने मेयर शाहको योजनामा सबैभन्दा बढी विरोध भयो । पुरानो बसपार्कलाई मासेर काठमाडौं टावर बनाउन निजी कम्पनीलाई भाडामा लगाएको महानगरले खुला स्थान मास्न लागेको उनीमाथि आरोप लाग्यो । काठमाडौं सुरक्षाको दृष्टिले विश्वकै असुरक्षित सहरमध्येमा पर्छ । खुला स्थानको अभाव भइरहेको काठमाडौंमा भएको खुला मञ्चसमेत मास्न लागेको उनीमाथि आरोप लागेपछि उनी त्यहाँबाट पछि हटे ।

कसैलाई सुन्दैन बालेन

बालेन मेयर भए पछि कसैलाई सुन्दैनन् । उनले पदभार गरेको १ वर्ष पुरा हुँदा उनले बेवास्ता गरेका केही उदाहरणबाट उनी जनताप्रति गैह्र जिम्मेवार र आफ्नो खपतका लागि बढी केन्द्रित भएको मान्न सकिन्छ ।
खुला मञ्चमा अन्डर ग्राउण्ड प्रार्किङ बनाउने बालेनको योजनामा चौतर्फि आलोचना भयो । यहि सन्दर्भमा १८ पुसमा स्थानीय उनलाई ज्ञापन पत्र बुझाउन कार्यालय पुगे । तर, उनले स्थानीयलाई समय दिएन । उनी आफैले आउनु भनेको समयमा कार्यालय पुगेका स्थानीयलाई भेट दिएनन् ।

स्थानीय तहको निर्वाचन पछि २८ फागुन, २०७९ मा काठमाडौं महानगरपालिकाले पहिलो चोटि सार्वजनिक सुनुवाइ गरे पनि बालेन आएनन् । राष्ट्रिय सभागृहमा भएको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले ‘बालेनलाई प्रश्न छ’ भन्दा मेयर भने कार्यक्रममै नदेखिएका हुन् ।

‘जनतासँग मेयर’ कार्यक्रम कार्यान्वयन नहुनले पनि मेयर बालेन जनताबाट टाढा बस्न रुचाउँछन् भन्ने बुझ्न सकिन्छ । आर्थिक वर्ष २०७९–८० को लागि महानगरपालिकाको नीति, कार्यक्रममा ‘हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रममार्फत प्रत्यक्ष संवाद कार्यक्रम गर्ने उल्लेख छ । तर, एक वर्ष पुग्दा पनि कार्यक्रम सुरु नै भएन ।

यस्तै, २०७९ मा राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले स्थानीय तहका सरोकारका बारेमा काठमाडौं महानगरसँग सवाल–जवाफ गर्न मेयर बालेनलाई बोलाएको थियो । तर, मेयर बालेनले समय नभएको भन्दै उपमेयर सुनिता डंगोललाई पठाए ।

१२ मंसिरमा महानगरपालिकाको नगर प्रहरी थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउन गएपछि प्रतिरोध गरेर फर्किएका स्थानीयहरू भोलिपल्ट मेयर बालेनलाई ज्ञापनपत्र बुझाउन महानगरपालिका कार्यालय पुगे । तर, बागदरबारभित्र रहेका बालेनले भेट्न र कुरा सुन्न इन्कार गरे ।

पूर्वमेयरको योजनामा स्टन्ट

मेयर बनेको एक वर्ष पुकिसक्दा मेयर बालेनको कुनै नयाँ योजना देखिएको छैन । बरु काठमाडौंको फोहोर दीर्घकालिन रूपमा समाधान नभएसम्म सार्वजनिक स्थानमा माला नलगाउने घोषण गरेका उनले फोहोर व्यवस्थापन नभइ माला लगाउन सुरु गरेका छन् ।

काठमाडौंको मुख्य मुख्य सडकमा स्मार्ट बत्ति हाल्ने पूर्वमेयर शाक्यले स्वीकृत गरेको योजना उनको कार्यकालमा कार्यन्वयन भयो । उनले त्यो विषयलाई समेत आफ्नो सफलता भन्दै प्रचार गरे । महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच विसंं २०७७ मंसिर २५ गते नै यो योजनाको सम्झौता भएको थियो । काठमाडौंको मुख्य सडकमा बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ ।

त्यस्तै, महानगरभित्रको मुख्य सडकमा सिसिटिभी जडान गर्न नेपाल प्रहरीलाई ६ करोड दिने निर्णय पनि शाक्यकै कार्यक्रमको निरन्तरता हो । नगरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई सो रकम उपलब्ध गराउन लागिएको हो ।

२०७५ फागुन १५ गते सम्झौता गरेर महानगरपालिकाले प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको रकमबाट जडान गरिएका १ सय ६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १ सय ५८ वटा चालु अवस्थामा रहेको महानगरले जनाएका छन् । अहिले देखिएको योजनाहरू महानगरले पहिलेको नेतृत्वले गरेको योजनाको निरन्तरता भएको जनाएको छ ।