काठमाडौं । प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु प्रतिनिधिसभा सुचारु गर्ने विषयमा छलफलमा जुटेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी छन् ।
प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी एमालेका अवरोधका कारण नियमित कारबाहीमा प्रवेश गर्न नसक्दा बैठक प्रभावित भएको छ । आज अपरान्ह बस्ने भनिएको बैठकमा सहमति जुटाउन तीन दल छलफलमा केन्द्रित भएको बुझिएको छ ।