८ मंसिर २०८१, शनिबार 1732403574
Banner

नेपालमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस नेपाल भ्रमणमा रहँदा द्वन्द्वपीडितद्वारा प्रदर्शन

काठमाडौं । नेपालमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसको भ्रमणका क्रममा द्वन्द्वपीडितले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको भ्रमणमा आएको मौका पारेर आफूहरूको माग सुनुवाइका लागि झकझक्याउन आफूहरुले प्रदर्शन गरेको उनीहरुको भनाइ छ ।

विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका फैसला एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले गरेका प्रतिबद्धता कार्यान्वय हुनुपर्ने, अन्तर्राष्ट्रिय मानव अधिकार कानून, सर्वोच्चको आदेश र द्वन्द्वपीडितका सरोकार बमोजिम संक्रमणकालीन न्याय ऐन तत्काल पारित गर्नुपर्ने लगायतका माग उनीहरूको हो ।

३ दिनअघि नेपाल आएका महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रसंघको सदैव साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटपछि सिंहदरबारमा पत्रकारमाझ उनले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका मुद्दाहरूको सम्बोधन हुने गरी शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

आज गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई साँझ सम्बोधन गर्ने कार्यक्रम तय छ ।

बबरमहल क्षेत्रमा भएको प्रदर्शनमा उनीहरूले महासचिव गुटेरेसको भ्रमणले लामो समयदेखि अल्झिरहेको संक्रमणकालीन न्याय प्रक्रियालाई सफल निष्कर्षमा पुर्‍याउन योगदान गर्न सफल होस् भनी कामना गरेको बताएका छन् ।