कोलम्बो । सांसद एकनाथ ढकालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग भेट गर्नुभएको छ । डिसेम्बर ७ मा सांसद ढकालले श्रीलंकाको कोलम्बोमा प्रधानमन्त्री गुणवर्देनासँग भेट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। भेटमा सांसद ढकालले श्रीलङ्का सरकारले नेपालसँग विशेषगरी पर्यटन र साझा सांस्कृतिक मूल्यमान्यताका क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्न प्रस्ताव गर्नुभएको थियो । ढकालले प्रधानमन्त्री दिनेशलाई लुम्बिनीमा नयाँ खोलिएको अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) बारे जानकारी दिँदै कोलम्बोदेखि लुम्बिनी सीधा उडानका लागि श्रीलंका सरकारको सहयोग माग्नुभएको बताईएको छ । श्रीलंकाका सभामुख महिन्दा यापा अबेवर्देनको निमन्त्रणामा ढकाल श्रीलंकाको चार दिने मैत्रीपूर्ण भ्रमणमा हुनुहुन्छ । श्रीलंकाका सभामुख आबेवर्देनासँगको शिष्टाचार भेटमा ढकालले नेपाल र श्रीलंकाबीचको संसदीय आदानप्रदानका बारेमा छलफल पनि गर्नुभएको थियो ।
ढकालले श्रीलङ्काको संसद्को कमिटी रुम ०१ मा आयोजित “कार्यमा जवाफदेहीताः संसद् सदस्यहरूबीच पारदर्शिता र सुशासनको प्रवर्द्धन” शीर्षकमा आयोजित विशेष सम्मेलनलाई पनि सम्बोधन गर्नुभयो । सम्मेलनलाई सम्बोधन गर्दै नेपालका सांसद तथा इन्टरनेशनल एसोसिएसन अफ पार्लियामेन्टेरियन्स फर पिस (आइएपीपी) का एशिया प्यासिफिक अध्यक्ष एकनाथ ढकालले लोकतान्त्रिक संस्थाको विश्वसनीयता नागरिकले निर्वाचित पदाधिकारीमाथिको विश्वासमा निर्भर रहेको बताउनुभयो । उहाँले एसिया प्रशान्त क्षेत्रमा, जहाँ विविध संस्कृति र राजनीतिक प्रणालीहरू सहअस्तित्वमा छन्, जवाफदेहीताको आह्वान गहिरो रूपमा प्रतिध्वनित भएको र यो दिगो विकास र क्षेत्रीय स्थायित्वको आधार भएको उल्लेख गर्नुभयो ।
सम्मेलनमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, सभामुख महिन्दा यापा अबेवर्देना र पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाको उपस्थिति थियो । कोलम्बोमा रहँदा सांसद ढकालले पूर्वराष्ट्रपति महिन्दा राजपक्ष र विपक्षी दलका नेता सजित प्रेमदासासँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।