८ मंसिर २०८१, शनिबार 1732415452
अर्थ

यसरी शुरुवात भयो ग्लोबल आइएमई बैंक

नेपाल बैंक देशको पहिलो बैंक हो। त्यसपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक खुल्यो। संयुक्त लगानी र निजी क्षेत्रले प्रवर्धन गरेका बैंकहरु आएको चाहिँ धेरै समय भएको छैन। तर, यो बीचमा अझ पछिल्लो २० वर्षलाई हेर्ने हो भने धेरै नयाँ बैंक तथा वित्तीय संस्थाहरु आए। त्यसपछि संस्थाहरु धेरै भए भनेर फेरि सरकार र राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिने नीति अघि सार्यो। जसकारण अहिले बैंक तथा वित्तीय संस्थाहरुको संख्या निकै कम भएका छन्।

निजी क्षेत्रका बैंकहरु आएको समय र त्यसमा पनि पछिल्लो २० वर्षलाई हेर्ने हो भने नेपालको बैंकिङ क्षेत्रमा आमूल परिवर्तन भएको छ। सेवा र पहुँचका हिसाबले बैंकिङ क्षेत्रमा चामत्कारिक सुधार भएको छ। एकातिर डिजिटल बैंकिङले सेवाको गुणस्तर र पहुँच बढाएको छ भने अर्कातिर सबै स्थानीय तहमा बैंकहरु पुगिसकेका छन्।

म व्यवसायमा आउनुभन्दा पहिला राट्रिय वाणिज्य बैंकको जुनियर कर्मचारी थिएँ। मैले आफूले पढ्न, भाइबहिनीहरु पढाउन र आधारभूत आवश्यकताहरु पूरा गर्न बैंकमा जागिर खाएको थिएँ। बैंकको जागिर भन्नाले राम्रो र स्थायी जागिर भनिन्थ्यो । मेरो सिद्धान्त कामप्रति इमान्दार हिसाबले लगनशिल भएर काम गर्नुपर्छ भन्ने थियो।

म १६ वर्ष हुँदा बुबा बित्नुभयो। परिवारको सबैभन्दा जेठो छोरा भएकाले भाइबहिनी, आमा र आफ्नो पनि शिक्षादेखि हेरचाहको जिम्मेवारी मेरै काँधमा आइलाग्यो। त्यसैले जागिर खानु मेरो बाध्यता थियो। कुनै पनि काम गर्दा लगनशिल हिसाबले र कामप्रति डेडिकेटेड भएर लाग्ने गरेको थिएँ । त्यतिबेला जुन ठाउँमा काम गर्थें, कम्प्युटरको प्रयोग भर्खर सुरुवात भएको थियो। राष्ट्र बैंकमा पठाउनु पर्ने तथ्यांकहरु पनि म्यानुअल्ली नै पठाउनुपर्ने भएकाले लामो समयदेखि म्यानुअल्ली काम भएरहेको थियो। धेरै कामहरु पेन्डिङमा रहन्थे। म चाहिँ काम गर्दाखेरि कार्यालय समयपछि पनि बसेर त्यी कामहरु सक्ने प्रयत्न गर्थें। यसले गर्दा मेरो काम गर्ने बानी सुरुदेखि नै बन्यो।

कतिपय साथीहरुले जति काम गरे पनि तलब बराबर नै खाने हो भन्थे। बिहान साढे ९ वा १० बजे आएर क्यासमा बस्दा साढे ३ मा त काम सकिन्थ्यो। काम आखिर अरु साथीले पनि त्यहि नै गर्थे। तर, तिमी किन यसरी काम गर्छौं ?, तलब त्यही नै खाने हो भनेर कतिपयले मलाई भन्थे। तर, म काम गर्नुपर्छ, संस्थाप्रति इमान्दार भएर काम गर्नुपर्छ भन्थें । कर्मचारीले इमान्दार भएर काम गरेमा नै त्यो संस्थाको परफर्मेन्स देखिने हो। केन्द्रीय बैंकमा पठाउनु पर्ने तथ्यांक वा रिपोर्ट गर्नुपर्ने कुराहरु समयमा कर्मचारीले सकेन भने पठाउन सकिँदैन भन्ने थियो। मेरो त्यस्तो बानी थियो।

हामी बैंकिङमा आएको कुरा गर्दा त्यो बेला नेपालबाट मलेसिया धेरै मान्छेहरु गएको समय थियो। सन २००१ को कुरा हो यो। धेरै मान्छे गए पनि त्यहाँबाट पैसा पठाउने मेकानिजम सहज थिएन। बैंकिङ च्यानल त थियो। तर, सबैका लागि यो प्रक्रिया सहज थिएन। गाउँबाट विदेश काम गर्न जानेहरुका लागि बैंकको नाम वा शाखाहरुको कुराहरु अलिक अफ्ठ्यारो थियो।

बैंकमा पैसा पठाउँदा वर्षौंसम्म वा महिनौंसम्म पैसा अडकिन्थ्यो। नाममा अलिकति अक्षर बिग्रिए खातामा जम्मा नै नहुने हुन्थ्यो। पैसा लामो समयसम्म पेन्डिङमा रहने र खातामा जम्मा नहुने भएको गुनासो मलेसियाको बैंकहरुले गरिरहेको अवस्था थियो। घरका मान्छेले पैसा नपाएको अवस्था थियो। त्यत्तिबेलै अनौपचारिक च्यानल हुन्डीको काम गर्ने मान्छेहरुले पैसा पठाएर व्यक्तिहरुलाई नदिएर भागेका घटनाहरु पनि आउँथे।

म एक वर्षजति जापानमा पनि बसेको थिएँ। औपचारिक प्रणालीबाट पैसा ल्याउने मेकानिजम धेरै गाह्रो कुरा थियो। त्यही कुराहरुले मलाई सम्बन्धित घर परिवारलाई सहज हिसाबले पैसा पुग्न सकोस र सरकारले चाहेको हार्ड करेन्सी पनि खातामा आउने किसिमको एउटा मेकानिजम बनाउँ भन्ने लाग्यो। त्यो मेकानिजम केही गर्न खोजिरहेको हामीजस्तो नयाँ उद्यमी मान्छेलाई व्यवसाय गर्न पनि होस भन्ने केही बनाउने सोच आयो। यो तीनवटा किसिमको आम सर्वसाधराण र सरकारले चाहेको र फाइदा पनि हुने मेकानिजम बनाउनु पर्छ भन्ने लाग्यो। सर्वसाधराण र सरकारले चाहेको मात्र भएर हुँदैन, फाइदा पनि हुने हुनुपर्छ ।

सर्वसाधारणले सहज रुपमा सुविधा पाउने, सरकारले खातामा पनि विदेशी मुद्रा प्रत्यक्ष रुपमा आओस र व्यवसाय पनि होस भन्ने उद्देश्यका साथ हामीले रेमिट्यान्स सुरु गर्यौं । पहिला मलेसियाबाट सुरु गर्यौंं । मलेसिया र नेपाल दुबै देशको केन्द्रीय बैंकले हामीलाई अनुमति दियो।
वास्तवमा मलेसियाको केन्द्रीय बैंकले पैसा पठाउन बाहिरको कम्पनीलाई अनुमति दिएको यो नै पहिलो पटक थियो। नेपालमा पनि छँदै थियो। पहिला पहिला विदेशी मुद्राको काम केन्द्रीय बैंकले गर्थ्यो । त्यसपछि वाणिज्य र नेपाल बैंकलाई दियो । क्रमशः अरुलाई दिँदै गएको थियो। त्यो नेपालको राष्ट्र बैंक र मलेसियाको केन्द्रीय बैंकले साँच्चै निजी क्षेत्रलाई प्रोत्साहन गरेर सुरुवात भयो ।

त्यो सुरुवात भइसकेपछि हामीले गर्दै गयौं । पछि क्रमशः बैंकहरु पनि रेमिट्यान्समा लागे । भइरहेका बैंकहरु लागे, हाम्रो बैंक त थिएन त्यो बेला । बैंकहरु पनि लागेपछि हामीलाई रेमिट्यान्सको काम गरेपछि बैंक तथा वित्तीय संस्था चाहिने रहेछ भन्ने लाग्यो । त्यसैले, हामीले आईएमई फाइनेन्सियल इन्स्टिट्युसन भनेर केही वर्षपछि सुरु गर्यौं । रेमिट्यान्सको काम गर्नलाई त्यो फाइनेन्सियल इन्स्टिट्युसनले पनि खासै सहयोग गर्ने देखिएन। विदेशी मुद्राको काम वाणिज्य बैंकले मात्रै गर्ने भएकाले बीचमा हामीलाई वाणिज्य बैंक नै चाहिने रहेछ भन्ने महशुस भयो।

प्रतिस्पर्धाको क्षेत्र एउटै थिएन हाम्रो । फाइनान्स आइसकेपछि बैंक खोल्नुपर्छ भन्ने लाग्यो। त्यत्ति बेलाको नियममा केन्द्रीय बैंकले काठमाडौंमा बैंकिङ लाइसेन्स दिएको थिएन। उपत्यका बाहिर राखेर दिने प्रवधान थियो। हामीले काठमाडौं बाहिरको वाणिज्य बैंक रुपमा जाने भनेर बीरगञ्जलाई राखेर निवेदन दियौं । काम हुँदै थियो, केन्द्रीय बैंकले काठमाडौंमा पनि लाइसेन्स दिने प्रावधान खुलाइ दियो। हामीले पहिला क्षेत्रीय रुपमा गरेको बैंकलाई अपग्रेड गराएर केन्द्रीय रुपमै सुरु गर्यौं। अनि ग्लोबल बैंक खुल्यो। आइएमई थिएन त्यत्तिबेला। ग्लोबल बैंक खुलेपछि एउटै प्रोमोटरको वाणिज्य बैंक र फाइनेन्स हुन जरुरी छैन, एउटै भएमा सहज हुन्छ भन्ने हिसाबले हामीले आईएमई फाइनेन्सियल इन्स्टिट्युसन र ग्लोबल बैंकलाई मर्जरमा लग्यौं।

केन्द्रीय बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज गराउनुपर्छ भन्ने नीति लियो। र, वाणिज्य बैंकको २ अर्बबाट एकै पटकमा ८ अर्ब बनाउने नीति लियो। केन्द्रीय बैंक र सरकारको नीतिलाई पनि हामीले पहिलो पालनकर्ताको रुपमा काम गर्यौं । सँगसँगै बैंकको आकार बढ्दा सेवा र गुणस्तरको हिसाबले राम्रो हुन्छ भन्ने अनुमानसहित मर्जर र प्राप्तिमा अघि बढ्यौं ।

५ वाणिज्य बैंक, १० विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहितको २१ वटा बैंक तथा वित्तीय संस्थाहरुको समग्र बैंकको रुपमा ग्लोबल आइएमई बैंक रहेको छ। २१ वटा अध्यक्ष, २१ वटा सिइओ, २१ वटा संस्थाका ७/७ जना बोर्ड सदस्यहरु र व्यवस्थापनको कुरा, यो सबै मिलाउन सहज हुँदैन। मर्जर र प्राप्तिमा नाम, सेयर आदान प्रदान (स्वाप रेसियो), सञ्चालक को बस्ने ?, सिइओ को बस्ने ? भन्ने कुराहरु त्यत्तिकै जटिल छ। यसको व्यवस्थापन धेरै गाह्रो काम हो।

अहिले तपाईंहरुले हेर्नुभयो भने हाम्रो यत्रो मर्जर हुँदा पनि चुनाव भएको छैन। अघिल्लो वर्ष ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्ज भए। तर, चुनाव गरेको छैन। निर्विरोध हिसाबले सञ्चालक समितिको चयन भएको छ। हाम्रो बोर्डमा बस्नुहुनेहरुमा पहिलो कुरा नै बैंकको हित र सेयरधनीको हितमा काम गर्ने हुनुहुन्छ। व्यक्तिगत कुरा नराखी बैंकको नेतृत्व लिने हो भने यो व्यवस्थापन हुन्छ।

अहिले हाम्रो युवापुस्ताले धेरै आकांक्षा राखेको देखिन्छ। कुनै काम गरिरहेको छ भने तुरुन्तै त्यसको परिणाम चाहिन्छ। तर, यदि तपाईं इमान्दार भएर कुनै संस्थाप्रति लाग्नु भयो भने त्यसको रिजल्ट अवश्य आउँछ भन्ने मेरो मान्यता हो ।

कुनै पनि संस्था चाहे ग्लोबल आइएमई बैंक भनौं वा अरु संस्थामा भनौं जुनसुकै ठाउँमा काम गर्ने मान्छे जब लाग्छ नि त्यसले दिने परिणाम त्यो बैंकमा रिफ्लेक्ट हुन्छ । शाखामा काम गर्ने मान्छे वा म्यानेजर राम्रोसँग लाग्यो भने त्यसको परफर्मेन्स आफैं आउँछ । सबै शाखाको कम्बाइन्ड भयो भने हेड अफिसको आउँछ । हेड अफिससहित कम्बाइन्ड भयो भने बोर्डको अध्यक्षको र सबैको आउने हो ।

मलाई लाग्छ, जसले बैंकप्रति इमान्दार भएर काम गर्छ, उसको भविष्य उज्ज्वल छ। जस्तो ग्लोबलमै मिहेनत गर्ने र रिजल्ट निकाल्ने मान्छे छ भने अरु बैंकमा पनि ग्लोबलको यो बैंक म्यानेजर मिनेहत गर्छ भन्ने कुरा हुन्छ। रिजल्टले त्यो देखाउँछ । झ्वाट्ट हेर्दा बैंकको लागि वा ब्रान्चका लागि काम गरेको देखिएला, तर त्यो आफ्नै लागि गरेको हुन्छ। भनौं न इटहरीको वा कुनै ठाउँको मान्छे ग्लोबल वा अरु कुनै बैंकको मान्छेले राम्रो काम गरेमा केन्द्रमा कुरा हुन्छ। उसको ट्यालेन्ट हन्टिंग हुन्छ। उसलाई जसरी पनि ल्याउनुपर्यो भन्ने हुन्छ । उसलाई एक तहमाथि दिएर वा पाएको सुविधाभन्दा धेरै दिएर ल्याउनुपर्यो भन्ने कुरा हुन्छ ।

जो जहाँ छ, इमान्दार हिसाबले काम गर्यो भने परिणाम देखिन्छ । इमान्दार हिसाबले काम गरेमा स्वतः परिणाम आउँछ, हतारिनु पर्दैन । म बैंकको जुनियर एसिसटेन्ट मान्छे कल्पना पनि गरेको थिइँन बैंकको अध्यक्ष हुन्छु भनेर । मेरो ठूलो सपना भनेको जेनतेन सरकारी जागिर खाने र आफूले एउटा लेभलको अध्ययनका लागि पढ्ने, भाइबहिनीलाई पढाउने र आमाको ख्याल गर्ने भन्ने थियो । सानो घर बनाएर बस्ने भन्ने थियो । सायद, त्यो भन्दा ठूलो थिएन । तर, मलाई के लाग्छ भने आकांक्षा राखेर मात्र होइन, डेडिकेटेड भएर काम गर्नुपर्यो भन्ने हो । रिजल्ट अटोमेटिक आउँछ ।

अहिले म निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारीमा छु । मलाई महासंघको अध्यक्ष बन्छु भन्ने कहिल्यै पनि लागेको थिएन । कार्यसमितिमा जाँदा पनि मलाई कहिल्यै माथि जान्छु भन्ने भएन । कार्यसमितिमा बस्दा पनि मैले इमान्दार हिसाबले काम गरेँ । सम्भवतः कार्यसमितिको सबैभन्दा धेरै यात्रा गर्ने मान्छे म थिएँ । मैले कहिल्यै पनि कार्यसमितिबाट उपाध्यक्ष हुन्छु भन्ने सोचेको थिइनँ । काम गर्दै जाँदा उपाध्यक्षको चुनाव गर्ने बेला निर्विरोध नै चुनिएँ । एउटामा निर्विरोध भएँ, अर्कोमा सबैभन्दा धेरै मत ल्याएँ । उपाध्यक्ष भइहालियो, अब वरिष्ठ उपाध्यक्ष लडौं न त भनेर चुनाव उठेँ । बरिष्ठमा पनि जितेँ । जहाँ काम गरेको छ, त्यहाँ डेडिकेटेड भएर इमान्दार हिसाबले काम गर्यो भने अर्को चरणको परिणाम अवश्य आउँछ भन्ने कुराको म प्रमाण पनि हुँ ।

मान्छेमा अरुको काम गर्दा भइहाल्यो, आफ्नोमा मिहेनत गर्छु भन्ने सोच हुन्छ । यो एकदम गलत सोच हो । त्यो मान्छेले कहिल्यै पनि गर्दैन । तपाईं जहाँ काम गर्नुहुन्छ, त्यहाँ मिहेनत गर्ने हो । म गाउँमा चाहिने चिजहरु डोको, नाम्लो, थुन्से आफैं बनाउँथे । गाउँमा किन्नुपर्थ्यो । तर, म आफैं बनाउँथे । एकपटक हेरेपछि, भलै त्यो राम्रो नहोला, तर काम चलाउ बनाउँथे । त्यसले गर्दा इमान्दार हिसाबले कामप्रति बफादार भएर काम गर्यो भने परिणाम आउँछ भन्ने मलाई लाग्छ ।

धेरै मिहेनत आफ्नै काममा गरौंला नि भनेर अर्को ठाउँमा बेवास्ता गर्ने होइन । त्यहाँ काम गर्ने बेलामा पनि सतप्रतिशत डिभोटेड भएर काम गर्नुपर्यो । अर्काको काममा चासो राख्नुको सट्टा आफ्नो काम इमान्दार भएर गर्यो भने परिणाम देखिन्छ । एउटा घटना छ मेरो जीवनको । दशैंको बेला थियो । भाइ र म सँगै थियौं । दशैंको अन्तिम दिन थियो । कार्पेटको व्यवसाय भर्खर सुरु गरेका थियौं । स्याम्पल पिस बोकेर मार्केटिंगमा थियौं । दुर्घटना भयो । तर, पहिला एयरपोर्ट गएर कार्पेट क्लियर गरेर म अस्पताल गएको थिएँ । २२ दिन रेस्ट गर्नु परेको थियो ।

त्यो भनेको कुनै पनि काम गर्दा काम सुरु गरेपछि सक्नुपर्छ र कामप्रति इमान्दार हुनुपर्छ भन्ने हो । ममा त्यो भावना अहिले पनि छ । काम गर्नुपर्छ भन्ने सिक्स सेन्स ममा छ कि जस्तो लाग्छ । कसैले केही फाइदा हुन्छ भनेर यो गरौं, त्यो गरौं भन्यो भने पनि त्यसतर्फ जाने होइन कि एउटा काम गर्नुपर्छ भन्ने मान्छे हो ।

म वाणिज्य बैंकमा काम गर्दा १२ वा १३ लाखको पैसा चाहिने बैंक ग्यारेन्टीका लागि वा केको लागि चाहिएको थियो । त्यो ऋण बैंकको एसिस्टेन्ट लेभलको कर्मचारीले लिन पाउने थियो । अफिसरभन्दा माथिकोले नपाउने र तलकोले पाउने थियो । तर, हाम्रोमा उद्यमीलाई सहयोग गर्ने कोही पनि हुँदैन । त्यहाँ निर्णय गर्ने मान्छेले तपाईं कि राजीनामा दिनुस, नत्र हुँदैन भन्नु भएको थियो । मैले राजीनामा दिएर त्यो पैसा लिएको थिएँ । त्यत्तिबेला व्यवसाय सेटअप भइसकेको त थियो । तर, राजीनामा दिनलाई गाह्रो थियो मलाई । स्थायीत्वको कुरा पनि थियो । जागिरको मायाँ पनि थियो । केही नभएको बेला सहारा दिएको जागिरको माया थियो । व्यसवाय राम्रैसँग भइरहेको थियो । जागिरको अट्याचमेन्ट सुरुदेखिको भएकाले छोड्न केही गाह्रो भएको थियो ।

सबै हिसाब गर्ने हो भने अहिले हाम्रो बैंकमा ४५ लाख निक्षेपकताहरु छन । त्यो हिसाबमा भन्दा व्यवसाय नै नभएको, बिऊ पुँजी नै नभएको शून्यबाट आएर यो सबै परिवारको ख्याल राख्दै व्यवसाय सुरु गरेर यहाँसम्म आउनु ठीकै गरेको हो जस्तो लाग्छ । अझै धेरै गर्न सकिन्छ भन्ने पनि लाग्छ । हामी कुनै आधारनै नभएको बेलामा त आएर एउटा स्तर तयार गर्न सक्यौं भने वातावरण भएको खण्डमा अझैं धेरै किसिमको रोजगारी दिने, राज्यलाई कर तिर्ने संस्था बनाउन सकिन्छ जस्तो लाग्छ । १९औं नम्बरमा आएको बैंक भएर पनि ग्लोबल आइएमईले सबैभन्दा बढी आयकर तिरेको छ । यो हाम्रो लागि गर्वको कुरा हो ।

मैले त विदेशका धेरै ठाउँहरु घुमेको छु । चाहे अमेरिका भनौं, युरोप वा अष्ट्रेलिया, जापान, कोरिया, मध्यपूर्वका देशहरु धेरै ठाउँ देखेको छु । तर, मलाई नेपालमा जति अवसर अन्त छ जस्तो लाग्दैन । किनभने यहाँ सबै चीज एक्सप्लोर नै भएको छैन । हामीले रेमिट्यान्सकै सुरुवात गर्यौं । धेरै गाह्रो थियो । मान्छेहरुले मलाई अलि अलि दुःख गरेर जम्मा गरेको पैसा खत्तम बनाउने भयो भन्थे । गाउँबाट आएर कमाएको पैसा सक्यो भन्थे । यसरी विदेशी मुद्रा औपचारिक माध्यमबाट निजी क्षेत्रले प्रणाली बनाएर ल्याउने कुरा हुन्छ भन्ने नै थिएन । राष्ट्र बैंककै एकजना डेपुटी गर्भनरले अरु कोहीसँग चन्द्र ढकालजीले मिहेनत गरेर जम्मा गरेको पैसा यस्तो गाह्रो काममा लाग्यो भनेर भन्नु हुन्थ्यो रे । मैले प्रतिमहिना २० लाख डलर भित्र्याउँछु भन्दा यसले धेरै ठूलो महात्वाकांक्षी कुरा गर्यो भन्ने थियो ।

अहिले तपाईं कुनै पनि बैंक वा रेमिट्यान्समा जानु पैसा लिन वा पठाउन आईएमई गर्नुस भनिन्छ । त्यो स्तरको विश्वास छ । रेमिट्यान्सको ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा हाम्रै छ । ब्राण्डिंग मात्रै नभएर फर्मल रुपमा रेमिट्यान्सलाई ल्याउने काम नै हामीले गरेको थियौं पहिलो नम्बरमा । मलाई के लाग्छ भने मचाहिँ १६ वर्षमा बुबा बितेपछि त्यही कारणबाट एसएलसीमा केही विषय फेल भएर बाँकी रहेको विषय दिएर पास गरेको थिएँ । अहिलेको २४ वर्षको मान्छेले कमसेकम आमाबुबाबाट एक किसिमको शिक्षा पाएको छ । इन्टरनेटको पहुँचमा छ । त्यो व्यक्तिका लागि यति धेरै अवसर छ जस्तो लाग्छ । जे गरे पनि छ यहाँ । यहाँ एक्सप्लोर भएको छैन ।

हामी भारत र चीनको बीचमा यति ठूलो बजारमा छौं । म युवा भाईबहिनीलाई, जो बाहिर गइरहेका छन, यहाँ अवसर नपाएमा जाने एउटा कुरा हो । तर, यहाँ केही छैन, राम्रो छैन भन्ने जुन नकारात्मक धारणा छ, त्यो एकदमै गलत हो । नेपालमा धेरै सम्भावना छ । आजको भोली नै त केही कुरा पनि हुँदैन । तर, गर्ने हो भने यहाँ धेरै अवसर छ । म ४५ सालमा जुनियर लेभलबाट सुरु गरेको मान्छे । आज यहाँ छु । समय त लाग्यो ।

तर, आज पहिलाजस्तो गाह्रो छैन । हामी गाउँबाट यहाँ आउन कसरी भाडा तिर्ने ? कसरी गर्ने भन्ने थियो । म एक दिन हिँडेर आएको छु । हिँड्ने कुरा त सकिने भयो । तर, काठमाडौंमा बस्ने, खाने, भाडा तिर्ने कुरा धेरै गाह्रो थियो । अहिले त्यो अवस्था छैन । र, अहिले यदि कोहीसँग आइडिया छ भने तपाईंलाई फन्डिंग गर्ने बैंक तथा वित्तीय संस्थाहरु छन । फाइनेन्सरहरु छन । इक्विटी हाल्ने हामीजस्ता इन्भेस्टर छौं ।

संस्थागत र व्यक्तिगतरुपमा लगानी गर्नेहरु छन । अहिले कुनै काम गर्छु नयाँ चिजहरुमा भन्ने हो भने लगानीको कुनै समस्या छैन । राष्ट्र बैंकले मर्जर एण्ड एक्विजिसनको नीति ल्याउँदा हामीले सरकारले ल्याएको नीतिलाई पनि फाइदा हुनुपर्यो भन्ने किसिमले काम गर्यौं । हाम्रो अहिले पनि सिद्दान्त सरकारले र राष्ट्र बैंकले ल्याउने नीति, सर्वसाधारणलाई पनि फाइदा हुने किसिमले र सरकारलाई पनि फाइदा हुने किसिमले काम गर्ने भन्ने हो । कतिपयले हामी १ नम्बर हुने किसिमले गरेको भनिन्छ । तर, हामीले १ नम्बर हुने किसिमले कहिल्यै पनि सोचेनौं । १ नम्बर त काम गर्दै जाँदा भएको हो । राष्ट्र बैंकले नीति ल्याएर प्रोत्साहन गर्यो र हामी गर्दै गयौं । र आज १ नम्बरमा भयौं । १ नम्बरमै पुग्छौं भनेर गर्यो भने कहिल्यै हुँदैन । त्यसो हुँदा कम्प्रमाइज गर्नुपर्ने हुन्छ । स्वतस्फूर्त रुपमा परिणाम आउने हुन्छ ।

दुई तीनवटा कुराहरु हेर्नुपर्ने हुन्छ । रेमिट्यान्स, जसलाई संस्थागत पनि बनायौं, यदि तीन वटै सिद्दान्तको हिसाबमा सुरु गरेका हौं । बैंकको पनि त्यही अनुसार हो । बैंकको अहिले रिजर्भसहित गर्दा ६० अर्ब रुपैयाँको हाराहारीमा पुँजी छ । ठूलो परियोजनाका लागि फन्डिंग गर्नका लागि ठूलै पुँजी चाहिन्छ । सर्वसाधारण र उद्यमीले पनि ठूलो परियोजनामा एउटै बैंकले फन्डिंग गर्न सक्ने किसिमको होस भन्ने चाहेको थियो । केन्द्रीय बैंकको पनि धेरै बैंक भए, मर्जर एण्ड एक्विजिसनमा गइदिए हुन्थ्यो भन्ने चाहेको थियो । हामीले पनि ठूलो बैंक भएमा खर्च कम भएमा व्यवसाय दिगो हुन्छ भन्ने हिसाबमा थियो । बैंक पनि यी तीनवटै सिद्दान्तमा आधारित भएर स्थापना भएको छ ।

आईएमई त सुरुवात नै गरेका हौं । अर्को हामीले पर्यटनमा पनि लगानी गरेका छौं । मलेसियामा हामीले ग्यान्टिंग आइल्याण्ड हेर्यौं । त्यसपछि पर्यटनमा यस्तो ठाउँ बनाउनुपर्यो, काठमाडौंबाट नजिक र फ्रेस ठाउँ होस । स्वदेशी र विदेशी पर्यटक आउँदा जान पनि सक्ने होस । सरकारले पनि विदेशी मुद्रा आर्जनका लागि पर्यटन क्षेत्र चाहेको छ । यस्तो ठाउँ होस, जहाँ पर्यटक गएर फ्रेस हावा लिन सकोस् भनेर हामीले चन्द्रागिरी सुरु गर्यौं । त्यसपछि हामीलाई यो सातै वटा प्रदेशमा हुनुपर्छ भन्ने लाग्यो । सरकारले बेला बेला बजेटमा हिल स्टेसन बनाउने भनेर आउने गरेको छ । सरकारको यो कुरालाई निजी क्षेत्रको तर्फबाट हामीले सातै वटा प्रदेशमा चन्द्रागिरीजस्तै पूर्वाधार बनाउन लागेका छौं । यो काम पनि त्यहि तीन सिद्दान्तमा आधारित भएर बनेको छ ।

अहिले हामी अर्को एउटा परियोजना गर्दैछौं । फोटोकपी कागजको नेपालमा पूर्णउत्पादन छैन । आयात गरिरहेका छौं । सरकारले आयात कम गर्नुपर्यो भन्ने छ । हामी अहिले त्यतातिर लागेका छौं । करिब तीन चार महिनामा फोटोकपी पेपर हामीले उत्पादन गर्दैछौं । जुन कुरा सरकारले पनि प्रोमोट गरेको कुरा हो । यसमा पनि ती तीनै वटा सिद्दान्त लागू भएको छ । हाम्रो पहिलो मान्यता यी तीन सिद्दान्तमै आधारित रहेर मुल मन्त्र मानेर काम गर्नुपर्छ भन्ने हो ।

काम सुरु गर्दा धेरै मान्छेमा पुगोस् भन्ने हुन्छ नै । मैले काम सुरु गर्दा सानो होस भन्ने हुँदैन । त्यसलाई वृहत नै होस भन्ने रुपमा गर्छु । मैले ग्लोबल आईएमई बैंकलाई विश्वका हजार बैंकहरुमध्ये एक बैंक बनाउने भन्ने इच्छा भएको सुनाएको छु । यो खास ठूलो कुरा हो जस्तो लाग्दैन । किनभने पुँजीको आकारको हिसाबले वास्तवमा एक दुई वर्ष हामीले नगद लाभांश नलिने हो भने हामी पुर्याइहाल्छौं । विश्वका हजार वटा बैंकमध्येको एक ग्लोबललाई पुर्याउने नै हो । त्यो पनि भइहाल्छ । धेरै पछि सुरु गर्दा नेपालमा एक नम्बरमा भयौं भने अब अलिकति मिहेनत गर्यौ भने उत्कृष्ट हजार बैंकमा ग्लोबललाई पुर्याउने नै हो र त्यो पुग्छ पनि ।

कतिपय चिजहरु हामीले चाहेर पनि अगाडि बढेको छैन । कन्ट्री रेटिंग नभएर हामीले प्रक्रिया चालेको कुरा पनि बीचमा रोकिएको छ । बेलायत, दिल्ली, अष्ट्रेलियामा हाम्रो प्रतिनिधि कार्यालय राखेका छौं । कोरियामा शाखा कार्यालय खोल्ने भनेर सुरु गरी राष्ट्र बैंकबाट पनि अनुमति लिएर काम अघि बढाएका छौं । तर, त्यहाँ पनि फाइनल भएको छैन । अब कन्ट्री रेटिंगको प्रक्रिया अघि बढेको छ, त्यसपछि सोचेजस्तो होला । हामी अन्तराष्ट्रियरुपमा जानुपर्छ भन्ने योजना पनि छ ।

हामीले सबैका लागि बैंक भनेर सुरुवातबाटै नारा राखेका छौं । बैंक सानो बचतकर्तादेखि ठूलो बचतकर्ता, सानो व्यवसायीदेखि कर्पोरेट लेभलको व्यवसायी सबैका लागि बैंक भनेर हामीले काम गरेका छौं । अब आउने दिनमा डिजिटलाइजको कुराहरु भइरहेको छ । त्यसलाई अलि प्राथमिकता दिइरहेका छौं । सञ्जालका हिसाबले सबै जिल्लामा पुगेका छौं । कतिपय मर्जर र एक्विजिसनको पाटोबाट अलिकति कन्सोलिडेसन भइरहेको छ । यसमा हाम्रा हरेक कर्मचारी र हरेक शाखाले सेवालाई चुस्त दुरुस्त बनाउनुपर्ने छ । हामी त्यसमा लागिरहेका छौं । वाणिज्य बैंकले दिने विश्वस्तरीय सेवा दिने हिसाबले हामी ग्लोबल आइएमई बैंकलाई एउटा बैंकको रुपमा प्रस्तुत गर्ने हिसाबमा र उपभोक्ताले महशुस गर्ने रुपमा बनाउन लागि परेका छौं ।

२० वर्ष पहिलाको बैंकिंगको कुरा गर्दा खेरि एउटा कुरा प्रविधि धेरै फरक भइसक्यो । त्यत्तिबेला प्रतिस्पर्धा थिएन बैंकहरुमा । सिमित ठाउँहरु र सिमित व्यक्तिहरुले मात्रै बैंकिग सुविधा पाएको अवस्था थियो । अहिले सबै ७५३ स्थानीय सरकारमा बैंक पुगेको छ । हरेक हिसाबले हरेक ठाउँमा इन्टरनेटको सुविधा छ । पहिला बैंकको सेवा लिन बैंकमा धाउनुपथ्र्यो भने अहिले उपभोक्ताकहाँ बैंक जाने किसिमको सुविधा भएको छ । यसले मुख्यगरी व्यवसायी र व्यवसाय गर्न खोज्नेहरुलाई सहज भएको छ । २० वर्ष पहिलाको कुरा र अहिलेको कुरा गर्दा वास्तवमा अहिले धेरै फरक छ ।

आईएमईकै कुरा गर्दा बैंक ग्यारेन्टी लिनुपर्ने थियो ५० लाख रुपैयाँको वाणिज्य बैंकबाट राष्ट्र बैंकमा राख्नलाई । बैंक अफ काठमाण्डू त्यो बेला हाम्रो बैंकर थियो, अहिले हामीसँगै छ । उहाँहरुकोमा ५० लाखको बैंक ग्यारेन्टी गराउन जाँदा हामी त्यत्ति व्यवसाय सेटल नभएको र यो काम पनि आफैंमा के हुन्छ भन्ने थियो । त्यो जारी गर्नका लागि त्यो बैंकका सिइओ राष्ट्र बैंकका तत्कालीन विदेशी विनिमय विभागका प्रमुख कृष्णबहादुर मानन्धर कहाँ गएर यस्तो किसिमको आएको छ, दिने कि नदिने भनेर सोध्नु भएको थियो रे । ५० लाखको बैंक ग्यारेन्टीका लागि कन्फिडेन्स बैंकहरुलाई पनि थिएन । त्यो अवस्थाबाट सुरु भएको बैंकिग अहिले धेरै फरक भइसक्यो ।

भाग्यवश भन्नुपर्दा त्यसरी सुरु गर्दा पनि बैंक अफ काठमाण्डू नै थियो र आज बैंक अफ काठमाण्डू ग्लोबलमै आयो मर्ज भएर । आज धेरै सुविधा निक्षेपकर्ता र ऋणीले पाएका छन । मर्जरकै कुरा गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । एउटा मर्जरको संयोजक हुँदा तीन चार वटा कुरामा कन्फिडेन्ट हुनपर्छ । तपाईं बैंकको अध्यक्ष हुनुहुन्छ भने मेरो अध्यक्ष पद गयो भने पनि ठीकै छ, तर बैंक राम्रो बनाउनुपर्यो भन्न सक्नुपर्छ । आफैंले त्याग गर्न सक्नुपर्यो । नामदेखि अन्य सबै कुराहरु भइसकेपछि चाहिँ सामूहिक वा बैंकको स्वार्थमा निर्णय गर्नुपर्दा व्यवस्थापनका मान्छेलाई पनि मिलाउन गाह्रो हुँदैन । तर, कसैले आफ्नो निजी स्वार्थमा गर्न चाह्यो भने त्यो दिगो हुँदैन ।

बैंककै लागि गर्दा साझा स्वार्थ हुन्छ । २१ वटा संस्थाबाट आउँदा पनि एउटै कुरा हुन्छ । तर, २१ ठाउँको फरक फरक कुरा भयो भने मिल्दैन । त्यसैले, आफूमाथि सधैं संस्था राख्नुपर्छ । हाम्रोमा कहिल्यै पनि बोर्डमा द्वन्द्व भएन । १६–१७ वर्ष हुँदा पनि निर्विरोध भएको छ, जबकी यतिका धेरै संस्था मर्जर भएका छन् । नेतृत्वले नै आफूभन्दा माथि संस्थालाई राखेपछि अरुले केही भन्ने कुरै हुँदैन ।

यो कुरा मर्जरका लागि मात्रै नभएर सबैतिर लागू हुन्छ । २०४५ सालमा विशालबजारमा काम गर्दा मैले बैंकका लागि काम गर्दै छु किन समय दिनु, साढे तीनमा हिँडे हुन्छ भनेको भए सायद आज म बैंककै अफिसर हुन्थे वा रिटायर्ड भएर केही गर्थे होला । तर, मैले त्यो कहिल्यै पनि भनिनँ । मैले संस्थाकै लागि डिभोटेड भएर काम गरेको हुनाले सायद मेरो काम गर्ने बानी बस्यो र परिणाम पनि आयो । आजको अवस्था त्यसैको प्रतिफल हो लाग्छ ।

र, यो बानी एकदम रहिरहन्छ मान्छेमा । म अहिले पनि उमेरको हिसाबले ५७–५८ पुगे । त्यत्ति धेरै नगरेपनि हुने हो । तर, काममा मेरो डेडिकेसन अहिले पनि उस्तै छ । अहिले पनि ममा कुनै कमि छैन । अस्ती म व्यापार मेलामा सहभागी हुन बागलुंग गएको थिएँ । राष्ट्रपति पनि जानु भएको थियो । बेलुका तीन चार बजेसम्म हामी त्यहि थियौं । सामान्यतयः चार बजेपछि पोखरामा बसौं भन्ने हुन्छ । तर, हामी बागलुंगबाट पोखरा आएर त्यसपछि नारायणगढ आएर ११ बजे बस्यौं । भोलीपल्ट काठमाडौं फर्किनुपर्ने भन्ने थियो ।

त्यसरी काम गर्ने मेरो बानी छ । र त्यो बानी अहिले पनि छ । त्यसरी काम गर्यो भने प्रतिफल देखिन्छ । २४–२५ वर्षको युवाले त्यसरी काम गर्यो भने रिजल्ट अवश्य पनि आउँछ । समस्या भनेको घटना अनुसार हुने हो । सानो संस्थामा सानो समस्या हुन्छ । एउटामा एउटा घटना होला । धेरैमा धेरै विषय होला । प्राकृतिकरुपमा नै यो हुने भई नै हाल्यो । समस्या समाधान गर्ने प्रयास गर्ने हो । त्यसमा कति सफल भइन्छ कति भइँदैन ।

मैले पब्लिक कन्फिडेन्ट बनाउनुपर्ने बैंकको मात्रै थिएन । नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट निजी क्षेत्रको तर्फबाट आम सर्वसाधारणको कन्फिडेन्ट बढाउनु थियो । केन्द्रीय बैंक, सरकार, नियमनकारी निकायहरु धितोपत्र बोर्ड, बिमा प्राधिकरणजस्ता संस्थाको तर्फबाट काम गर्नुपर्ने थियो । अब ठीक छ भन्ने हिसाबको कन्फिडेन्ट बनाउनु थियो । अब बिग्रियो भन्ने जुन न्यारेटिभ थियो, त्यसलाई हटाउनु थियो ।

कोरोना महामारी, रुस र युक्रेन युद्धले बिगार्यो भन्ने थियो, त्यो धेरै हदसम्म अहिले क्रमशः हराएको छ । अहिले बैंकमा लगानीयोग्य रकम छ । कर्जा दिन कुनै समस्या छैन । बैंकमा ब्याजदर धेरै भयो भनेर व्यवसायीको जुन आवाज थियो, त्यो क्रमशः घटेर एकल अंकमा आएको छ । पर्यटन बढेको छ । रेमिट्यान्स बढेको छ । विदेशी मुद्राको सञ्चिती पनि अहिलेसम्मकै राम्रो भएको छ । यो हुँदाहुँदै पनि आम व्यवसायी र सर्वसाधारणमा केही हुँदैन भन्ने नकरात्मक अवस्था हुनु भएन । सरकारको तर्फबाट जुन खर्च भएको पैसाको भुक्तानी भएन भन्ने छ ।

सरकारबाट पनि त्यो पैसा दिन्छु भन्ने काम भइरहेको छ । कर्जाको ब्याजदर घटेको छ अब काम गर्नुपर्छ भन्ने विश्वास सबैमा बढ्छ । कतिपयले हुँदैन भन्ने सोच्छन् । तर, यो बीचमा पनि हामीले बुटवल र गैँडाकोटमा १३–१४ महिनामा दुई केवलकार प्रोजेक्ट पुरा गरेर सञ्चालनमा ल्यायौं । हामी अरु ठाउँमा पनि फेरि सुरु गर्दैछौं । काम गर्न खोज्यो भने हुन्छ भन्ने हिसाबको सकरात्मक कुरा अघि लग्यो भने त्यहि किसिमको सन्देश जान्छ । आम सर्वसाधारणले नै अब त्यस्तो छैन ।

कोरोनादेखि रुस र युक्रेनको युद्धको प्रभाव पनि कम भइसक्यो भन्ने किसिमको सर्वसाकारणको विश्वास बढाउनु पर्यो भन्ने मेरो कुरा हो । बैंक तथा वित्तीय संस्थाले पनि बढाउनुपर्ने कुरा हो । उनीहरुले पनि समय समयमा नीतिहरु परिवर्तन भयो भनेर कर्जा तुरुन्तै उठाउने, ब्याजदर तुरुन्तै बढाउने काम गरिन्छ भन्ने जुन सोच आम सर्वसाधारणमा छ, त्यो चीजहरुको पनि समाधान हुनुपर्छ । धेरै कुराहरु अहिले मिलाउँदै आइएको छ ।

केन्द्रीय बैंकले नै अहिले स्प्रेड रेटमा यो भन्दा बढी हुनुहुँदैन भनेर स्पष्ट तोकेको छ । अब बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणको कन्फिडेन्ट बढाउने बैंकमाथिको विश्वास बढाउन काम गर्नुपर्छ । कतिपय घटनामा बैंकको कर्जा तिर्नुपर्दैन भन्ने नाराहरु चर्चित भएर नआएका होइनन् । तर, यी चीजहरु क्षणिक हुन्छ जस्तो लाग्छ । बैंकको कर्जा भनेको त तपाईं हामीले सय, दुई सय, पचास रुपैयाँ गरेर जम्मा गरेको निक्षेप हो । ऋण नतिर्दा त त्यहि सर्वसाधारणकै पैसा डुब्ने हो । त्यहि कुरा नबुझी नारा लगाइएको पनि देखिन्छ । यस्ता कुरामा बैंकहरुले जनचेतना दिएर सर्वसाधरणलाई आत्मविश्वास बढाउन पर्छ भन्ने हो । म त नेगेटिभ भन्ने छँदै छैन जस्तो लाग्छ । जतासुकै अवसर नै अवसर मात्रै देख्छु ।

अस्ती दोलखामा व्यापार मेला थियो । प्रधानमन्त्री पनि जानु भएको थियो । म पनि त्यो कार्यक्रममा पुगेको थिएँ । व्यापार मेला भन्न साथ व्यवसायीहरुकै हो । त्यहाँ मैले स्पष्टरुपमा पहिलाको जस्तो नकारात्मक अवस्था छैन भनेको थिएँ । अब ठीक हुँदैछ भनेको थिएँ । हरेकले त्यहि सोच्ने हो भने त सबै ठीक हुँदै जान्छ । मेरो सिद्दान्त त्यहि हो र त्यहिअनुसार वकालत पनि गरेको छु ।

म उद्योग वाणिज्य महासंघको अध्यक्ष भएको ९ महिना हुन लाग्यो । हामीले महासंघको भारतीय समकक्षी संस्था सिआईआईसँग मिलेर धेरै ठूलो कार्यक्रम गर्यौं । कार्यक्रममा त्यहाँका उद्योगमन्त्री पनि आउनु भएको थियो । त्यहाँ हामीले नेपालमा व्यवसायको अवसरको वकालत गरेका थियौं । चीनमा पनि त्यहाँको सिसिपिआईटीसँग गर्यौं । त्यहाँ पनि उद्योग राज्यमन्त्री आउनु भएको थियो । अस्ती हामीले दुबईमा पनि गर्यौं । यो क्रमशः सकरात्मक हिसाबको वकालत गर्ने काम मैले गरिरहेको छु । अहिले वकालत गरेको आजको भोली नै रिजल्ट आउने होइन । दुबईमा अस्ती दुई तीन हप्ताअघि कार्यक्रम गरेर आइयो । अब अहिले नै त रिजल्ट आउने होइन । तर, विस्तारै यसको रिजल्ट देखिन थाल्छ ।

हिँजो १० वा १२ लाख रुपैयाँ ऋण लिनलाई पनि त्यो अवस्था थियो । अहिले बैंकहरु तपाईंको घरमा आएर जति चाहियो लिनुस् भनिरहेका हुन्छन् । अहिले धेरै सजिलो छ । हामीले कहिल्यै पनि अरुको व्यवसायमा हस्तक्षेप गर्ने गरेका छैनौं । धेरै व्यवसायीहरुले एउटाले गरेको अर्काले खोस्ने गरेका हुन्छन् । तर, हामी त्यो हिसाबमा कहिल्यै छैनौं ।

कतिपय चिजहरु अहिले सामाजिक सञ्जालमा नेपालमा अवसर नै छैन भन्ने नकरात्मक न्यारेटिभ छ, त्यो परिवर्तन गर्नुपर्ने देखिन्छ । हामी कहाँ अहिले नर्सिंग कलेजहरु सरकारी नीतिका कारण बन्द भएको अवस्था छ । हाम्रो सीमा क्षेत्रमा चाहिँ नेपालकै कोर्स राखेर पढाइएको भन्ने छ । यस्ता चिजहरु तुरुन्तै सरकारको तर्फबाट सम्बोधन हुनपर्छ । समाचारहरुमा दशौं हजार नर्सको माग भयो भन्ने हेडलाइन आउँछ। अब मान्छे नै छैन यहाँ । यहिँका अस्पतालमा नर्स छैनन् । गुणस्तर नियमनकारी निकायले कन्ट्रोल गर्नुपर्यो । बन्द नै गर्ने, पढ्नै नदिने र जबरजस्ती मान्छेलाई बाहिर नै जान बाध्य बनाउने कतिपय नीतिहरुका कारण भएका छन् । त्यो हुन हुँदैन ।

११ कक्षामा पढ्दै गरेकी मेरो भाइको छोरीसँग हिँजो बिहान कुरा भयो । १२ पढेपछि कहाँ जाने भन्दा बेलायत भनिन् । मैले जाने भएपनि पढेर यहि फर्किनुपर्छ भनेको थिएँ । मेरो छोराछोरीलाई पनि बाहिर जाने तर नेपालमा फर्किनुपर्छ भनेको छु । अभिभावकले पनि राम्रो शिक्षा लिन जान दिने हो तर गइसकेपछि फर्किनुपर्छ भन्ने स्पष्ट सन्देश दिनुपर्छ जस्तो लाग्छ । अभिभावक बुढाबुढी भएर भोली तपाईंलाई अस्पताल लैजाने वा औषधी दिने मान्छे नै नभएमा छोराछोरी अमेरिका, बेलायत वा अष्ट्रेलिया भएर के भयो ? कमसेकम आमाबुबा बिरामी हुँदा तातो पानी दिने मान्छे चाहिन्छ । मलाई त्यस्तो लाग्छ । त्यसैले म हरेक मान्छेलाई बाहिर पढ्न जाँदा नेपाल फर्किनुपर्छ भन्ने गरेको छु।

त्यसैले मलाई नेपालमा अवसर नै अवसर छ जस्तो लाग्छ । मैले वाणिज्य बैंकमा काम गर्दा ५४५ रुपैयाँ तलब थियो । अहिले तपाईंले राम्रो गर्नुभयो र मास्टर्सपछि इन्ट्री लेभलमै काम गर्दा ३०–४० वा ५० हजार त्यसै दिन्छ । आखिर विदेश गएर पनि पैसा पाउने त्यहि हो । कन्भर्ट गर्दा मात्रै धेरै देखिने हो । तर, त्यहाँ पनि सजिलो त छैन । त्यसैले म त नेपालमै बस्ने र यहि अवसर छ भन्छु । शिक्षाका लागि जाने वा सिपका लागि जाने कुरा एउटा छ । रोजगारी नभएर वैदेशिक रोजगारमा जाने बाध्यता आफ्नै ठाउँमा छ । तर, त्यहाँबाट फर्किएपछि बचत गरेको पैसाले सानो सुरु गर्यो भने यहाँ त्यसले ठूलो आकार लिन्छ भन्नेमा मलाई विश्वास छ ।

बाहिर जाने नेपालीहरु पनि सामाजिक सञ्जालमा नेपालप्रति राजनीतिक, सामाजिक रुपमा नकरात्मक कुरा धेरै गर्ने गरेको देखिन्छ । उहाँहरु राम्रो अवसरका लागि जानुहुन्छ भने उहाँहरुसँग भएको सिपदेखि पुँजीलाई सबै जना मिलेर यहाँ बनाउन सकिन्छ नि । म चाहिँ त्यसैले त्यसै गर्न आग्रह गर्छु । कोभिडको बेलामा म झण्डै गइसकेको हो । १० दिन आईसियुमा बसेको थिएँ । त्यो बेलामा अमेरिकादेखि बेलायतबाट मान्छे यहिँ आएँ । आखिर जन्मस्थान घर भनेको त घर नै रहेछ । त्यसैले यसलाई बनाउने हिसाबले यहिँ लगानी गर्नुपर्यो । लगानीको अवसरका हिसाबले पनि नेपालमा संसारका कुनै देशको भन्दा कम अवसर छ जस्तो लाग्दैन ।

(ढकाल ग्लोबल आइएमई बैंकका अध्यक्ष हुनुहुन्छ।)