९ मंसिर २०८१, आइतबार 1732487379
Banner

अहिले देशमा गठबन्धन नामको ग्रहण लागेको छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था निक्कै कमजोर बनेको बताउनुभएको छ ।

बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशमा गठबन्धन नामको ग्रहण लागेकाले अलिहे अहिले देशको अवस्थाको चर्चा गर्नु भनेको समय बरबाद गर्नु मात्रै भएको बताउनुभएको हो । गठबन्धनको कारण देश बरवादी तर्फ उन्मुख भएको उहाँको भनाई छ । विदेशमा गएका युवाले पठाएको रेमिट्यान्सले अहिले देश चलिरहेको बताउनुहुँदै उहाँले यदि त्यो बन्द हुने हो भने देश बरबाद हुने प्रष्ट पार्नुभयो । यस विषयमा गठबन्धनलाई बारम्बार सम्झाएको भए पनि यो सरकार त्यसमा जिम्मेवार नभएको ओलीले बताउनुभयो ।

गठबन्धन सरकार देश बनाउन नभई विकासको गति रोक्न बनेको उहाँले टिप्पणी गर्नुभयो । ‘अहिले जुन गठबन्धन सरकार छ त्यो गठबन्धन देश बनाउन र विकास गर्नका लागि बनेकै होइन, त्यो एमालेले देश बनाउँछ भनेर भत्काउन बनेको हो’, ओलीले भन्नुभयो ।

एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माणको काम गरिरहेको बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको ओलीले बताउनुभयो । गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएका भन्दै उहाँले आलोचना गर्नुभयो । सूर्यमा समेत कहिले काहीँ ग्रहण लाग्ने बताउनुहुँदै ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताउनुभयो । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठरदशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ ।

ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । ‘नेकपा एमाले छ, यस देशमा त्यस कारण देश दुर्घटनामा जान पाउँदैन, यहाँ एमाले छ, नेपाली जनतालाई सचेत पार्ने पार्टी छ’, उहाँले भन्नुभयो । विश्व उपनिवेशसँग लडेका देश भक्त नागरिक रहेको नेपालको भविष्य तल माथि हनु नसक्ने ओलीले बताउनुभयो । नेपाली जनताको भावना सम्बोधन गर्ने देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

ओली विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गर्नुभयो । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उहाँले सुझाव दिनुभयो । अहिले गठबन्धनले क्षमता हरेर होइन गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको कारण देश उँधो गतिमा गएको उहाँले बताउनुभयो ।

देशको रक्षा र विकासको लागि नै नेकपा एमाले बनेको उहाँले बताउनुभयो । देशको चौतर्फी विकासको लागि एमालेले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले २०८४ को निर्वाचनमा एमालेले सबै ठाउँमा जित्ने गरी तयारी गरिरहेको उहाँले बताउनुभयो । ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो । यस काममा सरकार र बैङ्कहरूले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कृषि र पशुपालन तथा त्यसको आधुनिकीकरणबाट नै आर्थिक विकास गर्न सकिने ओलीले बताउनुभयो । धेरै देशले कृषिमा आधुनिकीकरण गरेर कृषि अर्थतन्त्र मजबुत बनाएका ओलीले उदाहरण दिनुभयो । आर्थिक क्षेत्रको नयाँ नयाँ पहिचान गर्न पनि त्यतिकै जरुरी रहेको ओलीले बताउनुभयो । उत्पादनलाई विविधीकरण गरी विश्व बजारमा बिक्ने उत्पादन तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।