५ मंसिर २०८१, बुधबार 1732137901
Banner

संसद्मा गतिरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताले थाले अनौपचारिक संवाद

काठमाडौँ : सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सत्तारुढ नेकपा (एमाले)लगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यही विषयमा आज नेपाली कांग्रेसको पदाधिकारी बैठक भएको छ । सो दलको शुक्रबारको संसदीय दलको बैठकले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेकोसमेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग पुनःअघि सारेको थियो । सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले रासससँग कुरा गर्दै अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने आशा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले पनि शीर्ष तहबाट छलफल भई निकास निस्कने आशा व्यक्त गर्नुभयो । संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान राखेपछि पहिलो दिनका बैठकका दुवै सदनका कार्यसूची प्रभावित भएका थिए । आगामी जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी जेठ १ गते साँझ ६ बजे र राष्ट्रियसभाको अर्काे बैठक जेठ १ गते साँझ ५ः३० बजे राखिएको छ ।