३ आश्विन २०८१, बिहिबार 1726784580
Banner

सत्तारुढ दललाई गगन थापाको जवाफः ‘कुन–कुन फाइल खोल्नुपर्छ खोले हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारका सबै फाइल खोल्न सत्तारुढ दललाई सुझाव दिएका छन् । आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले कांग्रेस नेताविरुद्ध कुनै फाइल भए खोल्न चूनौति दिएका हुन् ।

महामन्त्री थापाले गिरीबन्धु टि स्टेटको पनि फाइल खोल्न सुझाव दिए । उनले भने, ‘कुन–कुन फाइल खोल्नुपर्छ खोले हुन्छ । गिरीबन्धुको फाइल खोल्नुस्, सबै फाइल खोल्दा हुन्छ । सरकारमा बस्नेले यो खोल्दिन्छु, त्यो खोल्दिन्छु भन्ने नै होईन ।’

साथै, सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति नबनेसम्म संसद्को गतिरोध अन्त्य नहुने उनको भनाइ छ । ‘संसदीय समिति बन्छ, संसदीय समिति बन्नुपर्छ । त्यसपछिमात्रै संसद्को काम कारबाही अगाडि बढ्छ,’– उनले भने ।

आजको प्रतिनिधि सभा बैठकमा एमालेले सभामुख देवराज घिमिरेलाई प्रयोग गरेको उनको आरोप छ । एमालेले सभामुखलाई प्रयोग गरेपछि पनि आफूले चाहेको परिस्थिति सिर्जना नभएपछि आफैं प्रतिवादमा उत्रिएको उनले बताए । एमालेले आज सदनमा सुनियोजित रुपमा घट्ना घटाएको उनको दाबी छ ।