४ आश्विन २०८१, शुक्रबार 1726831574
Banner

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु

चितवन, १९ भदौ : जिल्लामा डेङ्गीको सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहनुभएको छ । उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आउनुभएका उहाँको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबार अस्पताल भर्ना हुनुभएका उहाँको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीमा कडा खालको डेङ्गी सङ्क्रमण देखिएको थियो । शरीरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गले काम गर्न छोडेर (मल्टि अर्गान फेलर) उहाँको मृत्यु भएको हो । उहाँको भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार तीन सय ३१ जनाको परीक्षण गर्दा सात सय ८८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र बाँकी अन्य जिल्लाका छन् ।