८ मंसिर २०८१, शनिबार 1732415219
Banner

तीजको अवसरमा शिक्षिकाहरूले गरे वृक्षरोपण

कर्णाली : आज नेपाली हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज । यसको रौनकता तराई, भित्री मधेस, पहाडदेखि हिमालसम्म छ । जताततै अहिले तीजका गीतहरू बजिरहेका छन् । महिलाले आफ्नो रोजाइअनुसार तीज मनाएको पाइन्छ । तीजलाई अवसर बनाएर कतै सिर्जनशील र मानवजीवन अस्तित्वलाई बचाउने खालका उदाहरणीय कार्य पनि भएका छन् । तीजको अवसरमा चन्दननाथ नगरपालिका–५ जुम्लामा अवस्थित एसिया इन्टरनेशनल इङ्लिस स्कुलका शिक्षिकाहरूले सोही नगरपालिकाको वडा नं १ स्थितको नाङ्गो डाँडोमा सल्लाका वृक्षरोपण गरेका छन् ।

उक्त स्कुलमा अध्यापनरत शिक्षिका अनुशा महतले विरह पोख्ने या त महँगो एवं भड्किलो बनाउनेभन्दा सिर्जनशील तरिकाले मनाउने संस्कृतिका रूपमा तीज पर्वको विकास गर्नुपर्ने तर्क गर्नुभयो । “हरेक मान्छेलाई खुसी एवं सुखी भएको महसुस गर्न स्वथ जीवन र शान्त वातावरण अपरिहार्य हुन्छ । अखाद्य वस्तुको सेवन र महँगो सामानको पहिरनबाट स्वस्थ जिन्दगानी बन्न सक्दैन”, उहाँले भन्नुभयो, “मानव र प्रकृतिबीचको सुमधुर सम्बन्धले मात्र मानवजीवन, स्वस्थ, शान्त र खुसी हुनसक्छ । त्यसलाई केन्द्रमा राखेर तीजको अवसरमा हामीले पर्यावरण जोगाउन वृक्षारोपण गरेका हौँ । यसैमा हामीलाई खुसी मिलेको छ ।” लामो समयदेखि महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आउनुभएका दिलमाया शाहीले तीज पर्वमा आदिम र अत्याधुनिक कालभन्दा पर रहेर मनाउँदा सुसंस्कृत एवं सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

आदिमकाल जस्तो महिलालाई पितृसत्ताले दिएको गलत उपमा ‘नारी ताड्नाकी भारी’ भन्ने कथ्य र आधुनिकतामा नाममा छाडा एवं अराजक गतिविधि रुपान्तरित समाजका लागि पाच्य नहुने उहाँको भनाइ छ । शाहीले भन्नुभयो, “तीज महिलाले आफ्नो रोजाइमा मनाउने पर्व हो । पर्व मनाउन पाउनु उनीहरुको अधिकार हो । यद्यपि अधिकारका नाम अराजकता, द्वेष भाव फैलाउन पाउने छुट हाम्रो सामाजिक संरचनामा कसैलाई छैन र हुनुहुँदैन । कसैको निजी मामलामा सोधखोज गर्न आवश्यक छैन तर समाजलाई गलत सन्देश दिने र फक्रिँदै गरेका मुनाहरूको मष्तिष्कमा नराम्रो छाप पर्ने गतिविधिहरु बन्द हुनैपर्दछ ।” महँगा पहिरनबाट आफ्नो सानसौकात देखाउने होडबाजीका रुपमा देखिन थालेको तीज पर्व पछिल्लो समयमा उच्छृङ्ख गतिविधि हुनुले समाजमा नराम्रो सन्देश जानुका साथै आमाहरुको अस्तित्वमाथि प्रश्नचिन्ह खडा हुन थालेको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो ।