१ कार्तिक २०८१, बिहिबार 1729177237
समाचार

दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको  हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो । साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ गोदारस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाईस अनियन्त्रित भई दुर्घटना हुँदा हाईसमा सवार तेह्रथुम आठराई गाउँपालिका-२ बस्ने ४९ वर्षीय वासुदेव गौतमको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पताल काठमाडौंमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ थामडाँडास्थित सडकमा पैयाबाट खरिखोलातर्फ जाँदै गरेको प्र १-०७-००१ त ००१८ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-७ गुन्सा बस्ने २४ वर्षीय मिङमा दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको खरिखोला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।