१ कार्तिक २०८१, बिहिबार 1729195089
Banner

काभ्रेमा बाढीले क्षति गरेका खानेपानी संरचना निर्माणको काम फास्ट ट्र्याकमा गछौँ : मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेमा बाढीले क्षति गरेका खानेपानी संरचना निर्माणको काम फास्ट ट्र्याकमा गरिने बताएका छन् । मन्त्री यादवले काभ्रेको रोशी खोला लगायत पनौती, बनेपा र धुलिखेल नगरपालिकाकामा बाढी र पहिरोले क्षति गरेका खानेपानीको काम फास्ट ट्र्याकबाट गरिने बताएका हुन् ।

मन्त्री यादव बिहीबार काभ्रेका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा पुगेका थिए । मन्त्री यादव असोज १० गतेदेखि १२ गते सम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण क्षति भएका काभ्रेको बनेपास्थित शशी पानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिका अन्तर्गत वडा नं २ र १२ मा रहेका खानेपानीको मुहान लगायतका क्षेत्रमा जानकारी लिन स्थलगत अनुगमनमा पुगेका हुन् ।

पनौतीमा खानेपानी मन्त्रालय अन्तरगत विभागका संरचनामा पनि बाढीले ठुलो क्षति गरेको छ । मन्त्रालय मातहतका संरचनाको काम हामी तुरुन्तै सुचारु गछौँ, अन्य विषयगतका कामहरू आवश्यक प्रक्रिया पुरा गरेर अगाडि बढाउँछौँ‚’ उनले भने । सो क्रममा मन्त्री यादवले पनौतीका जनप्रतिनिधि, स्थानीयवासी‚ मन्त्रालय, विभाग लगायतको सहयोगमा पनौती लगायतका क्षेत्रमा स्थायी तथा दीर्घकालीन रुपमा समस्या समाधानका लागि योजना तयार गर्ने बताए । बाढीका कारण पनौतीमा रहेको मिनिरल वाटर उत्पादन प्लान्टमा पनि ठुलो क्षति भएकाले सबै संरचनाहरूको काम तुरुन्तै बिस्तार गरी बाढीले क्षति गरेका संरचनाको काम फास्ट ट्र्याकमा गर्ने मन्त्री यादवको भनाई थियो ।

सोही क्रममा मन्त्री यादवले  एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपका विषयमा आफूले सहरी विकास मन्त्रीसँग सल्लाह गर्ने बताए । मन्त्री यादवलाई पनौतीका नागरिकले बाढीले क्षतविक्षत बनाएको खानेपानी व्यवस्थापन सँगसँगै मुहान क्षेत्रमा भएको क्षति सँगै मुहान नजिक रहेका बस्तीहरू स्थानान्तरणका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।