३ कार्तिक २०८१, शनिबार 1729373336
समाचार

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

काठमाडौं । कैलाली र बाँकेबाट २७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका-१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय कमल राज अधिकारी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । 

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१६ स्थित खेतमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
वडा प्रहरी कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद २९ हजार ३ सय ६१ रूपैयाँ, लङगुर बुर्जा खेलाउने गोट्टी १ सेट र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।  साथै उनीहरूले प्रयोग गरेको ४ थान मोटरसाइकल, १ थान स्कुटर र १२ थान मोवाइल प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।