७ कार्तिक २०८१, बुधबार 1729707046
समाचार

बाढीले क्षति पुर्‍याएपछि बेथानचोक गाउँपालिकाको सेवा छतबाटै

काभ्रे । असोज दोस्रो साता आएको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाको भवनमा क्षति पुर्‍याएपछि छतमा बसेर सेवा दिन थालिएको छ । बाढीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यालयका विभिन्न शाखाका कार्यकक्षमा लेदो सहितको बाढी पसेर क्षति पुर्‍याएको थियो । पालिकाको कार्यपालिकाको भवनको एक तलालेदो सहितको बाढीले पुरेकोले हाललाई अत्यावश्यक कामहरु भवनको छतबाट सेवा प्रवाह सुरु गरिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । विपद्‌को बेला सेवा प्रवाह रोक्दा समस्या उत्पन्न हुने हँदा छतबाटै काम थालिएको उनले बताए । ‘कार्यालयमा उपलब्ध जे–जति स्रोत साधन छ, त्यसैको प्रयोग गरी सेवा प्रवाह गरिरहेका छौं’, उनले भने । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी छतमा बनाइएको कार्यकक्षमा । बाढीले कार्यपालिकाको भवनको भुइँतल्लामा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा लगायत महत्वपूर्ण शाखाहरु थिए । बाढीले कार्यालयमा भएका महत्त्वपूर्ण कागजात, कम्प्युटर लगायत इलेक्ट्रिक सामान, फर्निचर लगायत पूर्ण रूपमा क्षति पुगेको छ । डुबानले गर्दा कार्यकक्षमात्र हैन पालिकाका महत्वपूर्ण सबै कागजपत्र, रेकर्ड राखिएका जिन्सी किताबमा समेत असर पुर्‍याएको छ । लेदोसहितको माटोले पुरिएका कागजात अहिलेसम्म निकाल्न सकिएको छैन ।

बाढीले महत्वपूर्ण कागजात केही पुरिएको र केही बगाएकोले क्षति विवरण निकाल्नसमेत कठिनाइ भएको पालिकाले जनाएको छ । बाढीका कारण जनप्रतिनिधि र कर्मचारीलाई पालिकामा गएर बस्ने ठाउँ पनि छैन । लेदोसहितको बाढीमा पुरिएका कागजात निकालेर घाममा सुकाइँदै ।लेदो पन्छाउने कार्य भइरहेकोले भवनका सामाग्रीहरुमा के–कति क्षति भयो भन्ने यकिन विवरण अझै संकलन गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार लिखितबाहेक कम्प्युटर र ल्यापटपमा पनि रेकर्ड पनि नष्ट हुने जोखिम छ । लेदो पन्छाउँदै झिकिएका डकुमेन्टहरुपनि १–२ प्रतिशत मात्र काम लाग्ने जानकारी दिए । पालिकामा दशैको समयमा धेरै भुक्तनीका कामहरु भएकाले सबै कागजपत्र पुनः जुटाउनपर्ने बाध्यता भएको बताए । लेदोबाट निकालेपछि काम लाग्ने कागजपत्र छान्दै वडाध्यक्ष लगायत । ‘पालिकाकामा दायित्व देखि भुक्तानीका कागजातहरु सबै कम्प्युटरमा इन्ट्री भइसकेकोमा बाढीको कारण कम्प्युटर नै काम नलाग्ने तथा सफ्ट कपीहरु केहि नभएको कारण पानीमा डुवेका क्प्युटरका हार्ड डिस्क रिकभरगर्न प्रयास गरेका छौं, यदि रिकभर भएन भने काम गर्न समस्या पर्नेछ’, उनले भने ।

भवनमा जडान भएको बिजुलीका प्लगहरुमा समेत पानी छिरेका कारण बिजुलीको मुख्य लाइन जोड्न सकिएको छैन । एक तलाको ल्पग, तार लगायत सबै संरचना फेरेर मात्र पावर संचालन भएकोले भवनबाटै सेवा प्रवाहको लागि तिहार अघि सम्भावना कम रहेको पालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनले तिहारपछि पालिकाको प्रशासनिक भवनलाई पुरानै अवस्थामा ल्याएर उक्त भवनबाट सेवा दिने गरी काम भइरहेको जानकारी दिए । बेथानचोकको पालिका भवन मात्र हैन वडा कार्यालय भवनमा समेत क्षति पुगेको छ । बेथानचोकको २, ३, ४ र ५ वडा कार्यालयमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार वडा नं २ र ४ को वडा कार्यालयमा लेदो सहितको बाढी पसेर फर्निचर लगायतको सामानमा क्षति पुर्‍याएको छ । ती कार्यालयका लेदो पन्छाएर सेवा सूचारु भएको जानकारी दिए । त्यस्तै ३ नं र ५ नं वडा कार्यालयको भवन वरपर पहिरो आएर क्षति पुगेको छ । पहिरोका कारण कम्पाण्ड भत्काएको छ ।