१५ कार्तिक २०८१, बिहिबार 1730394920
Banner

एमाले मोरङ : प्रतिक्षामा ओली समूह, चियापानमा देखिएन उत्साह

विराटनगर । आन्तरिक गुटबन्दी र कलहको कारण मोरङमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली समूह रक्षात्मक देखिन थालेको छ । एमालेले हरेक वर्ष पार्टी कार्यालय पाञ्चालीमा गर्दै आइरहेको चियापान समारोह बुधवार पनि राखिएको थियो । उक्त समारोहमा सधैँ उत्साहजनक सहभागिता हुने गरेको थियो । तर, यस पटक पार्टी कार्यकर्ता तथा समर्थकको उपस्थिति कमजोर रहेका एमालेकै कार्यकर्ता बताउँछन् । कार्यक्रममा कुर्सी खाली थिए भने एउटा समूहका कार्यकर्ता सहभागी नै नभएको स्रोत बताउँछ । ‘पोहोरसम्म पाञ्चाली पार्टी कार्यालयमा देखिने भीड यस पटक देखिएन, राखिएका कुर्सीसमेत खाली रहने अवस्थाले पार्टीको ओह्रालो यात्रालाई नै सङ्केत गरेको अनुभूति भयो,’ कार्यक्रममा सहभागी एक कार्यकर्ताले भने । उनका अनुसार अघोषित रूपमा अघि बढेको विद्या भण्डारी समूहसँग नजिकिएका धेरै नेता कार्यकर्ताहरू बुधबारको कार्यक्रममा सहभागी भएका थिएनन्, तर जिम्मेवारीमा रहेका उक्त समूहका नेताहरु भने उपस्थित थिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए ।

गत असार २८ गते तेस्रो पटक प्रधानमन्त्री बनेपछि भने एमाले अध्यक्ष ओलीको क्रेज निरन्तर ओह्रालो गतिमा छ । पार्टीले गर्ने गलत निर्णयहरू पनि चुपचाप सहेर पालना गर्ने कार्यकर्ताहरू अहिले ओलीविरुद्ध मुख खोल्न थालेका छन् । उनले गर्ने निर्णयहरूको विरोधमा बोल्ने मात्र होइन कार्यकर्ताहरूले सामाजिक सञ्जालमा लेखेरै असहमति राख्दै अध्यक्ष पदबाट राजीनामासमेत माग्न थालेका छन् । विवादित छविका व्यापारी तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालयका लागि करोडौँ मूल्य पर्ने जग्गा लिने निर्णय गरेपछि ओलीप्रति एमालेका नेता कार्यकर्ता नै आक्रोशित छन् । विरोधको स्वर ओलीको एकछत्र पकड रहेको कोशी प्रदेश र उनको आधार जिल्ला मोरङमासमेत सुनिन थालेको छ । केही समय अघिसम्म ओलीका कदमहरूमा दह्रो साथ दिँदै आएका कोशी प्रदेशसभाका सांसद तथा एमाले उदयपुरका नेता विमल कार्कीले मिनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा विरोध गर्दै नेताहरूलाई सोधिएको स्पष्टीकरणको कडा प्रतिवाद गरेका थिए । कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘व्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो । यस्तो कार्यले जनताप्रति उत्तरदायी राजनीतिलाई स्खलित बनाउँछ । यो कार्यले देशभरिका एमालेजनको भावनामाथि कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ । त्यसैले यस्तो कार्यको हामीले विरोध गरेकै हो । तिमीले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको विरोध गरिनै रहन्छौँ ।’

कार्की त्यतिमा मात्र रोकिएका छैनन् । जग्गा दान लिने ओलीको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि कार्कीले सञ्जालमार्फत पार्टी अध्यक्ष ओली समक्ष राजीनामा नै मागेका छन् । उनले लेख्छन्, ‘अध्यक्षज्यू, स्पष्टीकरण हामीलाई सोध्ने कि तपाईंले अब अदालतलाई दिने ? जवाफ चाहियो ! नैतिकता छ भने अध्यक्ष पदबाट राजीनामा दिनुहोस् ।’ ओली पक्ष मानिने एमाले मोरङ जिल्ला सदस्य महेन्द्र विष्ट पनि ओलीको पछिल्लो कदमप्रति असन्तुष्ट छन् । उनले पनि नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णयप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेर विरोध जनाएका छन् । विष्ट भन्छन्, ‘व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय दानमा लिने निर्णयको आलोचना गरेका नेताहरूसँग एमालेले स्पष्टीकरण मागेको थियो । तर परिस्थिति यस्तो बन्यो एमाले अध्यक्ष केपी शर्मा ओलीले नै अदालतमा लिखित जवाफ बुझाउनुपर्ने भएको छ । अर्थात् ओली स्वयंले लेख्नुपर्ने भयो स्पष्टीकरण ।’ पछिल्ला दिनहरूमा एमाले अध्यक्ष ओलीको विरोधमा केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूले बोल्न थालेका छन् । लामो समय थुनिएको नेता कार्यकर्ताहरूको आवाज विरोधमा पोखिन थालेको छ । एमाले भ्रातृसंगठन युवा संघका पूर्व केन्द्रीय सदस्य प्रतीक ढकालले पनि जग्गा दानमा लिने निर्णय सच्याउनु पर्नेमा विरोध गर्ने नेताहरूलाई कारबाही गर्नखोज्नु गलत भएको बताए । उनले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै ‘मलाई पनि कारबाही गर’ भनेर लेखे ।

दसौँ महाधिवेशनपछि एकछत्र पार्टीमा हाबी भएका अध्यक्ष ओलीप्रति विरोधको स्वर मोरङमा पनि मुखरित भइरहेको छ । विरोध गर्नेको हालत भीम रावलको जस्तै बनाइदिन्छु भन्ने ओलीको मनोवैज्ञानिक सन्देशविरुद्ध खुला र भित्रीरुपमा नेता कार्यकर्ताहरू सङ्गठित बन्दै गएको देखिन्छ । गत वर्ष सम्पन्न कोशी प्रदेशको अधिवेशनमा नेता विनोद ढकालविरुद्ध ओली पक्षधर समूहले गरेको गुटबन्दीपछि सुसुप्त रूपमा रहेको विरोधी समूह यतिबेला मजबुत बन्दै गएको छ । विराटनगर महानगर कमिटीका ढकाल पक्षधर अध्यक्ष सागर थापालाई कारबाही गर्ने तहसम्म आइपुग्दा उक्त अन्तर्विरोध उचाइमा पुगिरहेको अनुमान छ । अधिवेशनमा आफ्नो समूह हार्ने डरले एमालेले मोरङको जिल्ला अधिवेशन नै गर्न सकेको छैन । चुनाव टार्न संस्थापक समूहले सबै प्रकारको प्रयास गरिरहेको एक कार्यकर्ता बताउँछन् । पार्टीभित्र संस्थापन पक्षविरुद्ध गोलबन्द भइरहेको समूहबाट भइरहेको अभिव्यक्तिहरूलाई नियन्त्रण गर्न र ओलीविरुद्ध भइरहेका विरोधको प्रतिवाद गर्न एमाले नेता कार्यकर्ताहरूले जाँगर चलाइरहेका छैनन् । एमाले मोरङका पूर्व अध्यक्ष समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारी घोटाला काण्डमा मुछिएको विषयमा पनि कार्यकर्ताहरूले कुनै प्रतिरक्षा गरेका छैनन् ।

नेकपा एमालेभित्र ओली समूहले आफ्नो गतिविधि सुरु गरेपछि मोरङ जिल्ला नै पहिलो आधार जिल्लाको रूपमा चिनिएको थियो । तत्कालीन माले र मार्क्सवादी मिलेर नेकपा एमाले बनेपछि जनताका बहुदलीय जनवादको विपक्षमा उभिएका गुरुप्रसाद बराल रकम चेम्जोङलाई पाखा लगाउँदै पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । त्यतिबेला मदन भण्डारीको पार्टीमा बलियो पकड रहेका कारण जनताको बहुदलीय जनवादको पक्षमा मतदान नगरेका बरालहरूसँग स्वतन्त्रजस्ता देखिने नेताहरूको समूहको साथ थियो । मदन भण्डारीको हत्या र छैटौँ महाधिवेशनपछि महाकाली सन्धिसँगै गुटगत राजनीति अघि बढाएका ओलीलाई नेता बरालसमेतले साथ दिँदै मोरङमा बहुमतसहित बनाएका थिए । त्यति बेलादेखि नै मोरङमा ओली समूह हाबी हुँदै आएको छ । ३० वर्षको यस अवधिमा एक कार्यकाल बाहेक सधैँ ओली समूह हाबी हुँदै आएको मोरङमा अहिले एमाले कार्यकर्ताहरू ओली गुटविरुद्ध सङ्गठित हुँदै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । राजनीतिक विश्लेषक कृष्ण पोखरेल एमालेमा ओलीले गर्न थालेको एकलौटी निर्णयले विवाद बढाइरहेको तर्क गर्छन् । ‘निर्णय एकले सुनाउने साढे पाँच लाखले मान्नुपर्ने ! यही हो जनवादी केन्द्रीयता, आन्तरिक लोकतन्त्र र आजको जनताको बहुदलीय जनवाद ?,’ उनले प्रतिक्रिया दिए ।