१६ कार्तिक २०८१, शुक्रबार 1730467105
शिक्षा /स्वास्थ्य

चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा

पर्वत : चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ । नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो । जिल्ला अस्पतालले कुश्मा नगरपालिका–५ गोपाङघाटबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानीको व्यवस्था गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो ।

कालीगण्डकी नदीको किनारमा रहेको मुहानदेखि लिफ्टिङ गरिएको पानी अस्पताल हाताभित्र निर्माण गरिएको एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरिएको छ । अस्पतालमा खानेपानी अभाव हुन नदिन प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालले रकम लगानी गरेका थिए । यसअघि अस्पतालले ट्याङकरबाट पानी आपूर्ति गर्दा वार्षिक रु छ लाख व्यहोर्दै आएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाका अनुसार पन्ध्र शय्याको अस्पतालले हाल ५० शय्या राखेर सेवा प्रवाह गरिरहेको छ । अस्पतालले गत वर्ष ५८ हजार छ सय २६ बिरामीको सेवा गरेको छ ।