काठमाडौं । यशोदा फूड्स प्रालिले नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जी.पी. शाहलाई नियुक्त गरेको छ । यशोदा फूड्स नेपालको खाद्य बजारकै अग्रणी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी हो । शुक्रबार काठमाडौंमा एक समारोहको आयोजना गर्दै कम्पनीले निर्देशकका रूपमा जी.पी. शाहलाई नियुक्त गरेको जानकारी दिएको हो । कार्यक्रममा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले शाहलाई ग्लोबल कार्यकारी निर्देशकका रूपमा सम्मान गर्दै स्वागत गरे ।
ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका शाह व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्रान्ड बिल्डिङ, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा वृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि परिचित छन् । उनको अनुभव तथा विशेषज्ञता प्रोडक्सन, इन्जिनियरिङ, प्रोडक्ट डेभलपमेन्ट, अपरेसन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तार र ३५ भन्दा बढी देशमा मार्केटिङ तथा एड्भरटाइजिङलगायतमा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा वार्षिक वार्षिक कारोबार एक अर्ब रुपैयाँ भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेत, यूएई, जापान, यूके, ईटली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापुर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।