काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो। विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजेसम्मका लागि स्थगित गरिएको छ।

विशेष गरी कुलमानलाई हटाएकोमा माओवादी केन्द्र आक्रोशित छ। कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्रीले संसद्मा चित्तबुझ्दो जवाफ नदिए आन्दोलन अघि बढ्ने पनि प्रचण्डको चेतावनी छ।
संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाए लगत्तै मन्त्रिपरिषद्बाट कुलमान घिसिङलाई हटाउनु अर्को जालझेल भएको दाहालको दाबी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटेर रुनेहरूलाई आफूले सदनमा जवाफ नदिने बताएका छन्।
आजको बैठकमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार) पेस गर्ने कार्यसूची रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।


