बुटवल । पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारीमा नेपालकै ठूलो यूपीभीसी उद्योग ‘पञ्चकन्या डिमेक्स’ सञ्चालनमा ल्याएको छ ।
उद्योगबाट उत्पादित यूपीभीसीका झ्याल–ढोका एक वर्षदेखि बिक्रीवितरण गर्दै आएको कम्पनीले सोमबार औपचारिक रुपमा आफ्ना चार ब्राण्डका उत्पादन सार्वजनिक गरेको हो ।

उद्योगले पञ्चकन्या डिमेक्स, निओ प्लास्ट, टोनिस र साल यूपीभीसी प्रोफाइलको अफिसियल लञ्च गरेको हो । जसमा उद्योगले २० वर्ष वारेन्टी समेत दिएको छ ।
आफ्नै स्वामित्वको २ बिघा जग्गामा ८० करोड लगानी गरी सञ्चालन भएको यो उद्योग नेपालकै ठूलो यूपीभीसी उद्योग हो । उद्योगले हाल ६५ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उद्योगका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठले जानकारी दिए । उद्योगको लगानीकर्ता एवम् निर्देशकहरुमा उज्ज्वल कुमार श्रेष्ठ, रितेश सिलवाल, नारायण केसी, उदिप श्रेष्ठ र आशिक श्रेष्ठ छन् । उद्योगमा पञ्चकन्या ग्रुपको ५० प्रतिशत तथा बुटवलका युवा व्यवसायी रितेश सिलवाल र नारायण केसीको २५–२५ गरी ५० प्रतिशत लागत साझेदारी छ ।
सिलवाल र केसी टायल, मार्बल, बाथवेयर लगायत भवनको इन्टेरियर डेकोर सामग्रीका थोक विक्रेता कम्पनी सिद्धार्थभूमि इन्टरनेसनलका सञ्चालक हुन् । समान प्रकृतिको व्यवसायिक अनुभव भएकाले पञ्चकन्याले उनीहरुसँग लगानी साझेदारी गरेको हो ।


