पाख्रीबास (धनकुटा), असोज १५ गते । विगतका बर्षझैं नेपालीहरुको चाडपर्व सुरु भएको छ । दसैंमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन भए पनि पछिल्लो समय हराउँदैगएको छ ।
आधुनिक शैलिमा सिमेन्ट, कंक्रिटबाट निर्माण गरिएका घरहरुमा रङरोगन लगाउन थालेपछि घरपोत्ने प्रचलन हराउँदैगएको हो । दसैमा नयाँ लुगा लगाउने, मिठो खाने तथा मान्यजनबाट आशीर्वाद लिने गरिन्छ ।

दसैं सुरु हुनुअगावै अथवा सुरु भएपश्चात् आ–आफ्नो घर सिंगार्ने, लिपपोत गर्ने काम सुरुमा गर्ने प्रचलन परापूर्वकालदेखि चलिआएको थियो । त्यसो त परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएको घरमा ती वस्तुको प्रयोग हुने गर्दथ्यो ।
पछिल्लो समय सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो, कमेरोले रंगाउने चलन हराउँदै गएको पाइन्छ । केही वर्ष अघिसम्म दसैंअघि धनकुटामा घर रंगाउन चिम्ट्याइलो र रातो माटो भएका ठाउँमा गई माटो लिएर आउने गर्दथे । पछिल्लो समय यस्ता माटोले लिपपोत गरेपछि घर चिटिक्क हुने घर देखिन छोडेका छन् ।
पछिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालसँगै माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग बढेको निलबहादुर थापाले बताउनुभयो । दसैं आउनु अगाडि रातो माटो र कमेरो माटोले घरको भित्ता रंगाउन प्रयोग गरिन्थ्यो । यस्तै, खोटो पकाएर झ्याल ढोकामा लगाउने गरिन्थ्यो । विशेषगरी छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ ।
धनकुटा ज्ञानबहादुर थापाले भन्नुभयो, “सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाएपछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने, रातो र कमेरो माटोले घर पोत्नु पथ्र्याे, सबै हराउँदै गयो ।”
विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दसैं तिहारसँगै जोडिएको संस्कृतिको अर्को पाटोजस्तै बनेको भए पनि आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने त्यसको ज्ञान हुन छाडेको छ ।
‘राम्रो खाने, मिठो लाउने’ संस्कृति बोकेको दशैं हुँदा खाने र हुनेखाने सबैका लागि उत्तिकै प्रेरक बनेको छ । पहिलेको दशैंले गाउँ समाज जोड्थ्यो । सानो उपलब्धीमा ठूलो सन्तुष्टि प्राप्त हुन्थ्यो । उनी राई संस्कृतिको बाहुल्य समाजमा हुर्किए । त्यो दशैंमा लाहुरबाट दोहोरीलत्त मानिस आउँथे । उनीहरूको सान सौगत अलग हुन्थ्यो । पढ्न गएका विद्यार्थीदेखि जागिर खान गएका परदेशीसम्म आउँथे । दशैंले घरटोल सफाइको अभियान ल्याउँथ्यो । घरलौरी राँगो, खसी, सुँगुर ढल्थे । टीका लगाउने परम्परा हार्दिकतापूर्वक चल्थ्यो । बालबालिका पिङमा मच्चिन्थे । ठूलाहरू जुवातास, पासा लडाउँथे ।
अहिले उनी जन्मिएको छिनामखुमा पहिलेको जस्तो दशैं छैन् । दशकौंदेखि थातथलो काठमाडौं सारेका उनी यहाँको दशैंमा त झन् जताततै निरसता पाउँछन् । समयसँगै परम्परा, चलन र रमाइलो गर्ने तरिकामा परिवर्तन आएको छ। यसै सन्दर्भमा, हामी उनीसँग बाल्यकालदेखि अहिलेसम्मको दशैँ अनुभवबारे कुरा गर्दैछौं। राईको दृष्टिकोणले हामीलाई केवल अतीत सम्झाउने मात्र होइन, भविष्यका पुस्ताले दशैँलाई कसरी जोगाउन सक्छन् भन्नेमा पनि मार्गदर्शन गर्नेछ ।
सौन्दर्यसँगै गाउँघरको रौनक पनि रंगीन देखिन थाल्थ्यो । हिमालनजिकै देखिएर चम्किन्थ्यो । पहाडका रुखहरू सफा देखिन्थ्यो । बाटोमा मान्छेको ओहरदोहर चौब्बर हुन्थ्यो ।
कमेरोले लिपेको घर परैबाट टिलिक्क टल्किन्थ्यो । गोरेटोमा हिँड्दै गर्दा टाढैबाट देखिने त्यो चमक मानौँ गाउँकै पहिचान थियो । चिन्नेहरूले भन्थे, ‘त्यो फलानाको घर, पल्लो डाँडाको कमेरो पाखाबाट कमेरो बोकेर ल्याएर दसैँमा रंग्याइएको हो !’
त्यो गर्व घरको रङरोगनसँगै जोडिएको हुन्थ्यो । त्यो त परिवारको श्रम, माटोसँगको नाता र परम्पराको निरन्तरतासँग गाँसिएको हुन्थ्यो । यसरी दसैँको चहलपहल सुरु भएसँगै गाउँघर सजिन्थे । घर वरपरको झारपात उखेलिन्थे । बाटो सफा गरिन्थ्यो । सामूहिक सहभागितामा दसैंको उज्यालो झन् चहकिलो हुन्थ्यो ।
नयाँ लुगा लगाएर आउने–जाने मानिसहरूजस्तै घर पनि चिटिक्क पोतिन्थे, सजिन्थे, टल्किन्थे । कमेरोले पोतिएका घर मात्र होइन, रातो माटोले लिपिएका घरहरू पनि आफ्नै सौन्दर्यले झल्किन्थे । कतै सेतो कमेरो, कतै रातो माटो, कतै दुवै मिसिएर घरलाई रातोसेतो धागोले बुनेझैँ अलंकृत हुन्थ्यो ।
घरको दैलो, अगेनो र चुलो गोबरले लिपिन्थे । त्यो लिपाइ सरसफाइको लागि थिएन, त्यो त घरलाई पवित्र बनाउने विधि थियो । गोबरको गन्धमा पनि एउटा चोखोपन थियो ।
घर वरिपरि करेसा र बगैँचाले अझै रङ थप्थे । केराबारीमा पहेँलपुर केरा पाकेका हुन्थे, बच्चाहरूका आँखामा केरा दसैँको मिष्ठान्नजस्तै लाग्थ्यो । करेसामा अम्बा लटरम्म झुन्डिएका हुन्थे, जसको स्वाद चाख्दा लाग्थ्यो– यो ऋतु आफैँले दिएको उपहार हो । अनि, खेतमा सुनझैँ चम्किरहेका धानका लहलह बालाहरू हावासँगै लहराउँदै गाउँलाई सुनौलो महासागरमा बदलिदिन्थे ।
बारीका कान्ला र डिलहरूमा सयपत्री फूलहरू फुलेका हुन्थे । ती फूलहरू मात्र बारीको शोभा र सजावट थिए । ती दसैँको प्रतीक्षा र टीकाको रंगीन तयारी थिए । फूलहरूको मगमग बास्ना र रङको सौन्दर्यले गाउँमा उत्सवको तरंग थप्थ्यो । एक प्रकारले दुःख निमिट्यान्न हुन्थे । खुसी सुटुक्क भित्रिएको हुन्थ्यो ।
आकाशमा चंगाहरू अकासिरहेका हुन्थे । केटाकेटीको रमाइलो मात्र होइन, त्यो मुक्त आकाशमा फैलिएको स्वतन्त्रताको संकेत थियो । गाउँभरि उत्सवको ताल मिसिएको हुन्थ्यो, जसमा सबैको अनुहार खुसीले छचल्किरहेको हुन्थ्यो । कतै मादल, बाँसुरी, बिनायो, मुर्चुंगा, मालसिरी धुनको सांगीतिक मिठास गुन्जिरहेको हुन्थ्यो ।
मलाई ती दिनहरू सम्झिँदा लाग्छ– त्यो समय दसैँको पर्व हाम्रो सामूहिक आत्माको उत्सव थियो । घरहरू कमेरो र माटोले टल्किन्थे, धान र केराबारीले गाउँलाई सुनौलो सम्पन्न देखाउँथे ।
फूलहरूले सौन्दर्य भर्थे र मानिसका अनुहारले त्यसलाई पूर्णता दिन्थ्यो । त्यो सामूहिक सौन्दर्यमा गरिबधनी, ठूलोसानोको भेद रहँदैनथ्यो । सबैको मनमुटुमा एउटै आनन्द धड्किरहेको महसुस हुन्थ्यो– घर, माटो, प्रकृति र उत्सवसँगको आत्मीयता ।
आज सहरको कोलाहलमा बस्दा सिमेन्ट र टाइलले झल्किने घरभित्र हुँदा पनि, ती कमेरोले लिपिएका घर, गोबरले चोख्याइएका अगेनो र सुनौलो खेतका विम्बहरू मेरो स्मृतिमा जिउँदै छन् । ती सम्झनाले मलाई निरन्तर सम्झाउँछन्– सौन्दर्य प्रकृतिमै छ । पर्व सामूहिकतामै छ । जीवनको आत्मा माटोमै बाँचेको हुन्छ ।
मेरा बाल्यकालका दसैँहरू आज पनि आँखामुनि झलझली देखिन्छन् । गाउँभरिका घरहरू कमेरोले पोतिएका, टिलिक्क टल्किएका, उज्याला । कतै रातोमाटो मिसाएर राताम्य रङ दिइएको । मानौँ, घरहरू पनि नयाँ लुगा लगाएर पर्व मनाउन तयार भएका ।
दैलो, अगेनेमा गोबरले लिपेर चोख्याइएका । चुलोमा धुवाँमुक्त ताजगी ल्याइएका । खेतैभरि सुनको झल्को झैँ धानका लोभलाग्दा लहलह बालाहरू, करेसाबारीमा अम्बा र केरा लटरम्म फलेका, बारीका डिलमा सयपत्री फुलेका । अनि, आकाशमा हावासँगै रमाइरहेका चंगाहरू । यी सबै तस्बिरहरू मेरो भित्री मनमा अझै जीवन्त र ताजा छन् ।
परन्तु, त्यो रमाइलो दसैँ सधैँ यत्तिकै रमाइलो हुन्थेन । कहिलेकाहीँ त्यो कमेरो र रातो माटो खोज्दै जाँदा गाउँमा अकल्पनीय पीडा पर्थ्यो । म अझै सम्झन्छु, दसैँको तयारीमा कमेरो माटो खन्दा पहिरोमा परेर कति गाउँलेले संसार छोड्थे ।
त्यो दुःखद खबरले एउटा घर मात्र होइन, सिंगो गाउँ नै रित्याइदिन्थ्यो । जसरी दसैँले सबैलाई रंगीन बनाउने हो, त्यसैगरी त्यो दुर्घटनाले सबैलाई कालोमुस्लोमा ढाकिदिन्थ्यो ।
त्यो वर्ष गाउँका कुनै घरमा कमेरोले पोतिँदैनथ्यो । रातो माटोले रंगिँदैनथ्यो । मानौँ, गाउँलेहरूले सामूहिक रूपमा दसैँलाई रोकिदिएका हुन्थे । न घरमा जमरा उमारिन्थ्यो न अगेनो लिपपोत गरिन्थ्यो ।
त्यो चुलोमा पकाइपस्काइको चहलपहल शून्य हुन्थ्यो । परिवारबीचको सामूहिक खुसी आँसुमा डुबेको हुन्थ्यो । सारा गाउँ एकै स्वरमा शोकमा बगिरहेको हुन्थ्यो । शोक, समवेदना र श्रद्धाञ्जलीले गाउँघर उदासउदास सुनसान बन्थ्यो ।
दसैँ हरेक घरमा रमाइलो ल्याउने पर्व भए पनि त्यही दसैँले कतिपय घरमा मृत्युको शोक बोकेर ल्याइदिन्छ भन्ने कुरा मैले सानैमा बुझेँ ।
त्यो दिनदेखि दसैँका रङहरू मलाई सधैँ दुईवटा अनुहारमा देखिन थाले– एउटा उज्यालो अनुहार, जहाँ घरहरू टल्किएका, खेतबारी सुनले भरिएका । र, अनुहारबाट आँसुका थोपा धर्तीमा झरेका ।
सायद यही कारण दसैँ मेरो लागि पर्व मात्र रहेन, जीवनको एउटा दार्शनिक प्रतीक भयो । जीवनमा उज्यालो पनि छ, अँध्यारो पनि । चिटिक्क पोतिएको कमेरोले सजिएको घर पनि क्षणभरमै धुलोले ढाकिन सक्छ ।
धानका बालाजस्तै सुनौलो खुसी पनि कहिलेकाहीँ पहिरोले पुरिन सक्छ । तर, त्यही वियोगले जीवनलाई अझ गहिरो र सम्झनायोग्य बनाउँदो रहेछ ।
म सम्झिन्छु, त्यस वर्ष गाउँलेहरू दसैँको दिन एकार्काको घरमा गएर चुपचाप मात्र बस्ने गर्थे । न धागोमा नयाँ चंगा बाँधिन्थ्यो न पिङको लिंगोमा छुने प्रतिस्पर्धा नै हुन्थ्यो ।
बाबियोको लठारो कतै कुनामा रोइरहेझैँ लाग्थ्यो । लट्टाई र चंगा पनि ‘चंगा चेट’ भएर चुपचाप निराशिएझैँ लाग्थ्यो । बाटो र गाउँघरमा शोकको सन्नाटा व्याप्त हुन्थ्यो । त्यस मौनतामा गहिरो एकता थियो, दुःखमा पनि हामी एकै घरका सदस्यझैँ ।
आज म सहरमा कंक्रिटका घरभित्र दसैँ मनाउँछु । त्यो गाउँघरको याद मनमा टाढैदेखि छरपस्ट हुन्छ । कमेरोले पोतिएको, गोबरले लिपिएको घर देख्दिनँ । तर, त्यो ‘खालीपन’लाई पूर्ति गर्ने कुरा भने ‘स्मृति’ नै हो । त्यो स्मृतिमा रमाइलो पनि छ र आँसुले भिजेको अध्याय पनि ।
सायद जीवन पनि यस्तै हो, कहिले कमेरोले पोतिएको दसैँको उज्यालो घरजस्तै, कहिले पहिरोले बगाएको रातो माटोजस्तै । पहिरोले पुरेर ज्यान मारेको दुःखजस्तै । अनि, हामी ती दुवैलाई आत्मसात् गर्दै हर्ष र शोकको तालमेलमा हिँडिरहेका यात्रु मात्रै हौँ ।
वास्तवमा कमेरोले पोतेको घर र गोबरले लिपेको अगेनो सरसफाइका साधन थिए । यी हाम्रो जीवनदर्शनका जीवित प्रतीक पनि थिए । कमेरोले घरलाई सेतो पोसाक ओढाउँथ्यो । त्यसमा पवित्रताको आभा छरिन्थ्यो ।
त्यो सेतो रङ आँखाले देखिने सौन्दर्य थियो । त्यो आत्माको शुद्धता थियो । त्यहाँ घरपरिवारको आशा, विश्वास र सरलता झल्किन्थ्यो । त्यसले ग्रामीण जीवनको परिचय पस्किन्थ्यो ।
गोबरले लिपिएको अगेनो पृथ्वीको अंकमालजस्तै लाग्थ्यो । त्यसमा पकाइएका भातदाल मात्र पेटको भर नभई आत्माको तृप्ति हुन्थ्यो । अगेनो वरिपरि परिवार भेला हुन्थ्यो, बाजेले पुराना कथा सुनाउँथे, आमा लोकलयमा भाखा हालेर गाउँथिन् ।
हामी बालबालिकाहरू त्यो आगोको न्यानोमा भविष्यको सपना बुन्थ्यौँ । त्यस्तो अगेनो घरको मुटु थियो, जसको धड्कनले जीवनलाई साँचो अर्थमा चलायमान राख्थ्यो ।
गाउँघरको जीवनशैली प्राकृतिक चक्रसँग गाँसिएको हुन्थ्यो । कमेरो माटोको, अगेनो गोबरको, भान्सा दाउराको यी सबै धरतीसँगको प्रत्यक्ष सम्बन्धका प्रतीक थिए ।
मानिसले प्रकृतिलाई प्रयोग मात्र गर्दैनथ्यो, उसको पूजा गर्थ्यो । हरेक लिपाइ, हरेक पोताइमा धार्मिकपन मिसिन्थ्यो, मानौँ घरलाई मन्दिर बनाइएको हो । त्यहाँ नवदुर्गा भवानीको आस्था र आराधना गरिन्थ्यो ।
दार्शनिक रूपमा हेर्दा कमेरो र गोबरले जीवनको दुई आयाम देखाउँछन् । कमेरो बाहिरी सौन्दर्य हो, जुन मानिसको आशा, सामाजिक पहिचान र आत्मप्रतिष्ठा हो । गोबर अगेनो भने भित्री शक्ति हो, न्यानोपन, आत्मीयता र अस्तित्वको आधार । एउटा बाहिरी आवरण हो, अर्को आन्तरिक आत्मा । दुवैबिना घर अधुरो हुन्थ्यो ।
गाउँघरको जीवनशैलीमा सरलता थियो, तर त्यो सरलताभित्र जीवनको सम्पूर्ण अर्थ लुकेको हुन्थ्यो । त्यहाँ भौतिक अभाव भए पनि आत्मिक सम्पन्नता थियो । कमेरो र गोबरले जीवनलाई प्रकृतिसँग गाँसिदिएको थियो ।
त्यसले मानिसलाई विनम्र, सामूहिक र आत्मीय बनाउँथ्यो । छलकपट र स्वार्थभन्दा मनको हार्दिकपन र पहिचान बोली र व्यवहारमा झल्किन्थ्यो ।
अपितु, आधुनिक जीवनशैलीमा कंक्रिटका भित्ताहरू, चम्किला टाइलहरू, ग्यास र माइक्रोवेभ छन् । सुविधा र सजिलो दुवै छ, तर त्यसमा आत्मा हराएको छ । अघिल्लो पुस्ताको घरमा सानो भए पनि सबै भेला भएर अगेनो वरिपरि खाना खाने परम्परा थियो ।
आजको घरमा आ–आफ्नो कोठामा टीभी वा मोबाइलसँगै खान्छन् । अघिल्लो पुस्तामा सुगन्ध माटो र धुवाँको थियो । आजको जीवनमा सुगन्ध परफ्युम र प्रविधिको छ ।
गाउँघरले जीवनलाई प्रकृतिसँग जोड्यो । त्यसले त्यसमै तृप्त हुन सिकायो । आधुनिक जीवनले भने मानिसलाई प्रकृतिबाट टाढा तान्यो । उसलाई माटोभन्दा कंक्रिटमा, धुवाँभन्दा इन्धनमा, आफ्नोपनभन्दा एकान्तमा अल्झाइदियो ।
कमेरो र गोबरले लिपेर सिँगारिएको उज्यालो दसैँ नेपालीहरूको पर्व त्यसैले महान् थियो ।


