खाँदबारी (सङ्खुवासभा), २० मङ्सिर । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मेसीलगायतका आधारभूत सेवा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष भीम सिङ्था लिम्बूले जानकारी दिनुभयो । साथै आगामी दिनमा एक्स–रे तथा भिडियो एक्स–रे जस्ता प्रविधिमैत्री सेवा थपिने उहाँले बताउनुभयो ।
रु करिब ६ करोड ९७ लाख लागतमा निर्माण गरिएको अस्पताल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई उपचारका लागि टाढासम्म धाउनुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यका अनुसार सभापोखरीमा हालसम्म ७ वटा स्वास्थ्य चौकीमार्फत सेवा दिइँदै आएको थियो । नयाँ अस्पतालले स्थानीय स्वास्थ्य संरचना थप मजबुत भएको उहाँले बताउनुभयो । अस्पताल भवनको औपचारिक उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र गाउँपालिका अध्यक्ष लिम्बूले संयुक्तरूपमा गर्नुभएको हो ।


