रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा करिब चार हजार निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ । गृह मन्त्रालयले सर्लाहीका लागि ३ हजार ९२६ जनाको कोटा तोकेसँगै जिल्ला प्रहरी कार्यालयले भर्ना प्रक्रिया अघि बढाएको हो ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार कुल ३ हजार ९२६ कोटामा महिला र पुरुषको संख्या भने आवश्यकताका आधारमा जिल्लाले नै तय गर्नेछ । यसअघिका स्थानीय तह, प्रदेश वा प्रतिनिधि सभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइनेछ । यसका साथै पूर्व प्रहरी, पूर्व वन रक्षक तथा विदेशी सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकहरूलाई पनि छनौटमा प्राथमिकता दिइने डिएसपी राईले बताए ।
पुस २५ गतेदेखि सुरु भएको दरखास्त संकलन आगामी माघ १ गतेसम्म जारी रहने सर्लाही प्रहरीले जनाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर दरखास्त दिन सक्नेछन् ।
नियुक्ति पाएको मितिले निर्वाचन प्रहरीको कार्यअवधि कम्तीमा ४० दिनको हुनेछ। यद्यपि, सरकारको निर्णयअनुसार यस अवधिमा हेरफेर हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीमा निर्वाचनका लागि कुल ३१२ मतदानस्थल र ६२८ वटा मतदान केन्द्र तोकिएको छ ।


