काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला पार्टीका महामन्त्री गगनकुमार थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गर्नुपर्ने बताएका छन् ।
विशेष महाधिवेशनको दौडधुपमा रहेका थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै पछिल्ला दिनमा जेन–जी आन्दोलनले औँल्याएका विषयहरू केवल क्षणिक बहसमा सीमित नराखी राजनीतिक दल, विभिन्न क्षेत्रका विज्ञ र व्यक्तित्वहरूको सहभागितामा गम्भीर छलफलको थालनी गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले केही दिनअघि आफूले उठाएको चुनावअघिका राष्ट्रिय विषयहरूमा राष्ट्रिय स्तरमै छलफल हुनुपर्छ भन्ने प्रस्तावमा काम शुरू भइसकेको जानकारी पनि दिएका छन् ।
‘केही साथीहरूले यसमा पहल पनि शुरू गरिसक्नुभएको छ,’ महामन्त्री थापाले भने, ‘यसलाई थप व्यवस्थित र सहभागीमूलक बनाउन आज मैले एउटा गुगल सिट फर्म सार्वजनिक गरेको छु।’
महामन्त्री थापाले उक्त फर्ममार्फत सबैलाई आफ्ना विचार, सुझाव र प्राथमिकताका राष्ट्रिय मुद्दाहरू साझा गर्न आग्रह गरेका छन् । उनका अनुसार प्राप्त सुझावहरूलाई संकलन गरी आगामी चरणमा राजनीतिक तथा बौद्धिक बहसको आधार बनाइने छ।


