काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किजमको मिलनले राज्यलाई कमजोर बनाउँदै नागरिकलाई विभाजित गर्ने खतरा रहेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले जटिल समस्यामा सरल उत्तर बेच्ने पपुलिजम र व्यवस्था नै दुश्मन ठान्ने अराजकताले लोकतान्त्रिक प्रणालीलाई क्षति पुर्याउने उल्लेख गरेका हुन् ।
महासचिव पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच आवश्यक रहेको बताए । “तथ्य र भावना छुट्याउनुपर्छ, असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्छ,” पोखरेलले लेखेका छन् ।
महासचिव पोखरेलका अनुसार राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो भने संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो । साथै, संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु नै मुलुकको भविष्य सुरक्षित गर्नु भएको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।
महासचिव पोखरेलले मुलुकको मुख्य समस्या राजनीतिक अस्थिरता र सामाजिक अराजकता रहेको उल्लेख गर्दै यी चुनौती समाधानका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता औंल्याए ।
“समस्या राजनीतिक अस्थिरतामा छ । सामाजिक अराजकतामा छ । यी सबै उद्देश्यका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो पर्दछ । चुनाव त्यो उद्देश्य प्राप्तिको अवसर हो ।” महासचिव पोखरेलले भने । साथै, शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था नै खल्बलिएको उनले बताए ।
“शक्ति राष्ट्रहरु बीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्था नै खलबलिएको छ । संयुक्त राष्ट्र संघ र विश्वसंस्थाहरु आफै उपेक्षित बनाइएका छन् ।” महासचिव पोखरेलले भने, “विश्वव्यापी रुपमा नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय निकै संवेदनशील बनेको छ । यस्तो बेला भूराजनीतिक द्वन्द्ववाट मुलुकलाई जोगाउन बंगलादेश वा युक्रेन बन्न नदिनु भनेको डर फैलाउनु होइन– समयमै सचेत हुनु हो । यही चेतनाको निरन्तरता नै आजको सबैभन्दा ठूलो देशभक्ति हो ।”


