दमक । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताएका छन् । यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनुपर्ने उनले बताए ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएका बेला अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मतदाताहरुसँग साक्षात्कार गरिरहेका छन् । यसैक्रममा आइतबार दमक–१ मा भएको कार्यक्रममा उनले आगामी निर्वाचनलाई साधारण चुनाव मात्र नभई जनमत संग्रहको रुपमा लिनुपर्ने बताएका हुन् । उनले यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने बताए । देशलाई अस्तव्यस्तामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय हुन खोजेको भन्दै अध्यक्ष ओलीले आगामी चुनावबाट त्यस्तालाई सधैंका लागि थन्को लगाउनु पर्ने पनि बताए ।
नेपालाई विदेशीको परेड खेल्ने स्थल हुनबाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जीत जरुरी रहेको भन्दै अध्यक्ष ओलीले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको बताए ।


